समाचारबिहीबार, फाल्गुण १३, २०७२
राजकुमार ह्यारी नेपाल आउने मिति तय
७ चैतमा नेपाल आउने, १० चैतमा फर्किने
बेलायती राजकुमार हेन्री चाल्र्स अल्बर्ट डेबिड (ह्यारी) आगामी ७ चैतमा ४ दिने नेपाल भ्रमणमा आउने भएका छन् ।
बेलायती राजपरिवार बस्ने केन्सिङ्टन प्यालेसले आज विज्ञप्ति जारी गर्दै राजकुमार ह्यारीको नेपाल भ्रमणको मिति सार्वजनिक गरेको छ ।
विज्ञप्ति अनुसार १० चैतसम्मको नेपाल बसाइमा राजकुमार ह्यारीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्नेछन् । उनले भुकम्प प्रभावितलाई भेट्ने, ऐतिहासिक महत्वका संरचना पुनः निर्माणमा भइरहेको प्रयत्नबारे बुझ्ने र प्रकोपपूर्वको तयारीमा सहयोग गर्ने विज्ञप्तिमा जनाइएको छ ।
अफगानिस्तानमा बेलायती गोर्खासँगै सिपाहीका रुपमा काम गरेका राजकुमार ह्यारी पोखरास्थित ब्रिटिश गोर्खा क्याम्प पुग्ने कार्यक्रम छ । त्यहाँ उनले बेलायतमा पु¥याएको योगदानबारे गोर्खा सैनिकको प्रसंशा गर्नेछन् ।
उनले बेलायती सेनामा नेपालीलाई भर्ती गर्ने प्रक्रिया र गोर्खा सैनिकले भुकम्पका बेला पु¥याएको सहयोगबारे जानकारी लिनेछन् ।
केन्सिङ्टन प्यालेसले विज्ञप्तिमा राजकुमार ह्यारीले पर्यटन पदयात्रा गर्ने र एउटा राष्ट्रिय निकुञ्ज पुग्ने लगायतका नेपालको प्राकृतिक सौन्दर्यको आनन्द लिने जनाएको छ ।
राजकुमार ह्यारी नेपाल सरकारको निमन्त्रणामा नेपाल आउने भएका हुन् । हाल नेपाल– बेलायत सम्बन्ध एक सय वर्षमा छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
