थप समाचारशुक्रबार, फाल्गुण १४, २०७२
अडानका साथ आफ्नो कुरा राखेँः प्रम
सत्ता साझेदार दलका नेताहरुलाई भ्रमणबारे जानकारी दिंदै प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो भारत भ्रमण समग्रमा सफल भएको बताएका छन् ।
१३ माघमा सत्ता साझेदार दलका नेताहरुसँग कुराकानीमा प्रधानमन्त्री ओलीले नेपालका तर्फबाट आफूले भारतीय समकक्षीसँग अडानका साथ आफ्नो कुरा राखेको बताए ।
“९० प्रतिशत बहुमतको संविधानमा भारतको रिजर्भेसन किन भनेर प्रस्टसँग सोधेको छु मैले, यसमा मोदीजीले हाम्रो चाहना त केवल तपाईँहरु मिलेर जानुहोस् भन्ने मात्र हो भन्ने कुरा राख्नुभयो,” उनले भने ।
नेपालका बारेमा जानकारी लिनका लागि सिधै सरकारसँग कुरा गर्न समेत भारतसँग आग्रह गरिएको उनको भनाइ छ ।
बङ्गलादेशबाट अब सिधै नेपालमा वस्तु आयात गर्न सकिने सहमतिलाई ठूलो उपलब्धिका रुपमा लिनुपर्ने प्रधानमन्त्रीले बताए ।
“केही सञ्चारमाध्यममा आए जस्तो भारतीय पक्षबाट हिन्दू राष्ट्रको विषयमा कुनै कुरा भएको छैन”, उनले भने ।
एमाओवादी अध्यक्ष पुष्पकमल दाहालले अहिलेको अवस्थामा प्रधानमन्त्री ओलीले आफ्नो कुरा अडानका साथ राख्न सक्नु नै भ्रमण उपलब्धिपूर्ण भएको बताए ।
सो अवसरमा एमाओवादीका अध्यक्ष दाहाल, एमाले वरिष्ठ नेता झलनाथ खनाल र उपाध्यक्ष वामदेव गौतम, मधेशी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष एवम् उपप्रधानमन्त्री विजयकुमार गच्छदार, नेकपा मालेका महासचिव एवम् उपप्रधानमन्त्री सिपी मैनाली, राप्रपा नेपालका अध्यक्ष लोकेन्द्रबहादुर चन्द, राष्ट्रिय जनमोर्चाका अध्यक्ष एवम् उपप्रधानमन्त्री चित्रबहादुर केसी, नेमकिपाका अध्यक्ष नारायणमान बिजुक्छे लगायतको सहभागिता थियो ।
रासस