समाचारशुक्रबार, फाल्गुण १४, २०७२
विमान दुर्घटना अपडेट: चालक र सह-चालकको मृत्यु
कालीकोटमा दुर्घटनामा परेको एयर काष्ठमण्डपको विमानमा सवार घाइतेको उद्धारका लागि घटनास्थलतर्फ हेलिकप्टर पठाइएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री आनन्द पोखरेलले विमानमा सवार दुईजनाको मृत्यु भएको बताएका छन् । उनले उद्धारका लागि भैरहवा, पोखरा र मुगुको रारामा रहेका हेलिकोप्टर प्रयोग गर्न निर्देशन दिइएको जानकारी दिए ।
स्थानीयवासीका अनुसार विमानका पाइलट र को-पाइलटको मृतक भएको हो । पाइलट दिनेश न्यौपाने र को–पाइलट सन्तोष रानाले विमान उडाइरहेका थिए ।
विमानमा एक बालकसहित ९ जना यात्रु र दुई चालक सवार थिए ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका महाप्रबन्धक देवानन्द उपाध्यायले काठमाडौँबाट प्राविधिक टोली घटनास्थलतर्फ पठाउने तयारी भएको जानकारी दिए ।
नेपालगन्जबाट जुम्लाका लागि उडेको ९एन–एजेबी विमानमा गडबडी आएपछि ‘फोर्सल्याण्डिङ’ गर्ने क्रममा कालिकोटको चिलखाया–२ मा दुर्घटना भएको हो ।
स्थानीयबासीका अनुसार विमानको अघिल्लो भाग क्षतविक्षत भएको छ । घाइते यात्रुहरु उद्धारका लागि प्रतिक्षारत छन् । उनीहरुलाई हेलिकप्टरमार्फत नेपालगञ्ज लैजाने तयारी भएको मन्त्रालयले बताएको छ ।
नेपालगञ्ज विमानस्थलका अनुसार अनुसार विमानमा यात्रुहरु गणेश भट्टचन, मेघराज गिरी, जगदम्बा खत्री, सोनाली भट्टचन, लक्ष्मी सुनार, गोविन्द भण्डारी, लक्ष्मण खड्का र धनञ्जय खत्री र अर्की बालिका सवार थिए ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
