समाचारशुक्रबार, फाल्गुण १४, २०७२

प्रजिअ कुट्ने पूर्व राज्यमन्त्री वेगमलाई दुई हजार जरिवाना

हिमालखबर

karimaपर्साका तत्कालीन प्रमुख जिल्ला अधिकारीमाथि हातपात गरेकी पूर्व राज्यमंत्री करिमा वेगमलाई जिल्ला अदालत पर्साले दुई हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको छ ।

संघीय समाजवादी फोरम नेपालकी केन्द्रीय सदस्य करिमा वेगमले २४ कात्तिक २०६६ मा कृषि तथा सहकारी राज्यमन्त्री भएका बेला आफूलाई विमानस्थलमा लिन पुरानो गाडी पठाएको भन्दै पर्साका तत्कालीन प्रमुख जिल्ला अधिकारी दुर्गा भण्डारीलाई कार्यालयभित्रै गालामा झापड हानेकी थिइन् ।

घटनापछि प्रमुख जिल्ला अधिकारीका सुरक्षा गार्ड प्रहरी हवल्दार रामराज राय यादवको जाहेरीले २०६६ मंसीर २५ मा केही सार्वजनीक अपराध ऐन अन्र्तगत जिल्ला प्रशासन कार्यालय पर्सामा वेगम विरुद्ध मुद्दा दर्ता भएको थियो ।

त्यसपछि बेगमले २८ पुस २०६६ मा पत्र संख्या ०६६÷०६७ चलानी नम्बर १०५ मार्फत ‘लिखित प्रतिवद्धताको कागज मिशिलमा सामिल गरिदिने बारे’ माफी पत्र प्रेषित गरेकी थिईन् ।

उनको पत्रका कारण मुल्तबीमा रहेको मुद्दा नयाँ संविधान जारी भएपछि व्युँतिएको हो ।

नयाँ संविधानले त्यस्ता मुद्दाहरु अदालतले हेर्ने गरी अदालतको क्षेत्राधिकार बढाएपछि जिल्ला प्रशासन कार्यालय पर्सामा दर्ता रहेको मुद्दा जिल्ला अदालतमा सरेको थियो । १३ फागुनमा न्यायाधीश बिष्णु सुवेदीको एकल इजलासले अन्तिम फैसला गर्दै दुई हजार रुपैयाँ दण्ड–जरिवाना गर्ने आदेश दिएको हो ।

यसअघि पनि पर्सा जिल्ला अदालतले पूर्व मन्त्री बेगमलाई गलत मान्छेलाई नागरिकता दिन सिफारिश गरेको ठहर गर्दै २० हजार रुपैया दण्डित गर्ने फैसला गरेको थियो ।
सुरेश बिडारी, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>