थप समाचारशुक्रबार, फाल्गुण १४, २०७२

पाइलट आफू मरेर पनि अरुलाई बचाएः घाइते यात्रु

हिमालखबर

“आफू मरेर पनि हामीलाई बचाउनुभयो,” कालिकोटमा भएको विमान दुर्घटनाका घाइते नुवाकोटका धु्रवप्रसाद भण्डारीले भने ।

विमान दुर्घटनाका घाइते  कोहलपुर अस्पताल परिसरमा । तस्वीर: केशव राना

विमान दुर्घटनाका घाइते कोहलपुर अस्पताल परिसरमा । तस्वीर: केशव राना

“नेपालगञ्जबाट जहाज चढ्दा हाँसीखुशी थियौं, केही समयमै प्याट्ट गरेको आवाज आयो, कोहलपुर शिक्षण अस्पतालमा उपचार गराइरहेका उनले भने, “तीन पटकसम्म प्याट् प्याट पड्कियो त्यसपछि ठूलो आवाज आयो । हामीसबै आत्तियौं ।”

पाइलटले हातको इशाराले नआत्तिन भनेको र दुईवटा डाँडा काटेर अघि बढेपछि विमान तलमाथि, दायाँबायाँ गर्न थालेको उनले बताए ।

“पाइलटले आफू मरेर भए पनि तपाईहरुलाई बचाउँछु भनिरहेका थिए, हामी अत्तालिँदै चिच्याइरहेका थियौं,” भण्डारीले भने, “त्यो डाँडामा ठोक्किनै लागेको थियो तर, पाइलटले बचाउनुभयो, त्यसपछि म बेहोस भएछु” उनले भने ।

जहाजको इन्जिनमा एक्कासी खरावी आएपछि पाइलटले आकस्मिक अवतरणको प्रयास गरेको भण्डारीले सुनाए ।

नेपालगन्जबाट जुम्लाका लागि उडेको ९ एन–एजेबी विमानमा गडबडी आएपछि ‘फोर्सल्याण्डिङ’ गर्ने क्रममा कालिकोटको चिलखाया–२ मा दुर्घटना भएको हो ।

दुर्घटनामा बाँके नेपालगञ्ज १६ कोरियनपुरका २९ वर्षीय पाइलट दिनेश न्यौपाने र पाल्पाघर भई हाल काठमाण्डौ सुकेधारा बस्दै आएका को–पाइलट सन्तोष रानाको मृत्यु भएको अञ्चल प्रहरी कार्यालय भेरीले जनाएको छ ।

दुर्घटनामा ९ जना घाइते भएका छन् । घाइते हुनेमा जुम्ला चन्दनाथ नगरपालिका वडा नं. ६ का २५ वर्षीय मेघराज गिरी, सोही ठाउँका २५ वर्षिय जगदम्बा खत्री साथका उनका छोरा अनिल गिरी, चन्दननाथ नपा–७ की ३७ वर्षीय गणेश भट्टचन उनीकी छोरी १६ वर्षीया सोनाली भट्टचन, चन्दननाथ नपा–६ की ३० वर्षीया लक्ष्मी सुनार, नुवाकोट थाङ्ग– ३ का धु्रवप्रसाद भण्डारी, जुम्ला पटमारा– ७ का ३४ वर्षीय लक्ष्मण खड्का र चन्दननाथ नपा ५ का ३१ वर्षिय धनन्जय खत्री रहेका छन् ।

घाइतेको उपचार अहिले नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भइरहेको छ ।
केशव राना, बाँके

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>