समाचारशनिबार, फाल्गुण १५, २०७२
काठमाडौंलाई सौर्य वत्तिले उज्यालो पारिने
काठमाडौं महानगरपालिकाले समुदायमा आधारित सौर्य प्रणाली जडानका लागि प्रक्रिया अगाडि बढाएको छ ।
काठमाडौँ सहरलाई उज्यालो बनाउनका लागि भन्दै महानगरले त्यस्तो कार्यविधि अघि बढाएको हो ।
विद्युत्भार कटौतीको समयमा राजधानी सहर पूर्णतः अँध्यारो भएको भन्दै उज्यालो बनाउन सौर्यबत्ती जडान गर्न लागिएको महानगरका भौतिक पूर्वाधार तथा निर्माण विभाग प्रमुख डा उत्तरकुमार रेग्मीले जानकारी दिए ।
“साँझ पनि व्यापार, व्यवसाय तथा मनोरञ्जनका कार्यक्रम हुने भएकाले सौर्यबत्ती जडान गर्न लागिएको हो,” उनले भने, “त्यसमा पनि राजधानी त सधैँ उज्यालो हुनुपर्छ ।”
यसरी जडान गर्न लागिएको सौर्य बत्तीका लागि उपभोक्ताले १५ प्रतिशत, महानगरपालिकाले २५ प्रतिशत र सरकारले ६० प्रतिशत लगानी गर्ने व्यवस्था गरिएको छ ।
त्यसैगरी कुनै विद्यालय, अस्पताल, सार्वजनिक सङ्घ संस्था, सेवामूलक क्षेत्रलगायतले संस्थागतरुपमा सोलार राख्न चाहेमा ७० प्रतिशत सरकारले लगानी गर्ने छ भने ३० प्रतिशत सम्बन्धित संस्थाले नै लगानी गर्नुपर्ने नियम पनि महानगरले तय गरेको छ ।
प्रमुख रेग्मीका अनुसार एउटा सौर्य बत्ती जडान गर्न पोलसमेत गरी रु एक लाखसम्म लगानी लाग्ने छ ।
अहिले बत्ती राख्नका लागि निवेदन आह्वान गरिएको छ । आइतबारदेखिनै निवेदन सङ्कलनको काम हुने महानगरले जनाएको छ ।
आवदेनअनुसार मात्रै कुन स्थानमा कति बत्ती जडान गर्ने, संस्थागत र व्यक्तिगसँगै लागतसमेतको आँकलन हुने प्रमुख रेग्मीले बताए ।
अठारौँ दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क० शिखर सम्मेलनका समयमा पनि नारायणगोपालचोक, बानेश्वर, कोटेश्वर, सिंहदरबार, माइतीघर, थापाथली, पुरानो बसपार्कलगायत स्थानमा सौर्य प्रणाली जडान गरिएको थियो ।
त्यतिबेला जडान भएका प्रणाली मर्मत सम्भारको अभावमा केही बिग्रिएका छन् भने कतिपय स्थानमा चालु अवस्थामा रहेका छन् ।
महानगरले विगतमा जडान गरिएका सौर्य प्रणालीको मर्मत सम्भारमा समेत ध्यान दिने जनाएको छ ।
सार्क सम्मेलनका क्रममा महानगरपालिकाले सौर्य प्रणाली जडान गर्न रु १० करोडको लगानी गरेको थियो । त्यसबेला १५० वटा सौर्य प्रणाली जडान भएका थिए ।
रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
