समाचारशनिबार, फाल्गुण १५, २०७२
छवी सुधार्दै प्रहरीः वीरगञ्ज सफाई अभियान
पछिल्लो समय बन्दुक र गोली गठ्ठासहित सडकमा देखिने प्रहरी आज शनिबार वीरगञ्जमा फरक रुपमा देखा परे ।

तस्वीर: सुरेश बिडारी
उनीहरुको हातमा कुचो, कुटो, कोदालो, साबेल जस्ता समान थिए । मधेश आन्दोलनमा जस्तो प्रहरी भ्यानबाट झर्ने वित्तिकै घण्टाघरमा रहेका सर्वसाधरणहरु पनि भागेनन् । बरु प्रहरीसँगै एक हुल विद्यार्थी, स्थानीय, नगरपालिकाका कर्मचारीहरु मिसिए र धमाधम घण्टाघर तथा आसपासका क्षेत्रमा सरसफाई गर्न थाले ।
वीरगञ्ज नगरमा जिल्ला प्रहरी कार्यालय पर्साले १५ फागुन शनिबारदेखि सरसफाई अभियान शुरु गरेपछि यस्तो दृश्य देख्न पाईएको हो ।
मधेश आन्दोलनका कारण प्रहरी र सर्वसाधरणबीचको बढेको दुरी कम गर्न र वीरगञ्ज नगर धेरै फोहोर देखिन थालेकोले सरसफाई अभियान शुरु गरिएको जिल्ला प्रहरी कार्यालय पर्सा प्रहरीले जनाएको छ ।
अभियानको पहिलो दिन प्रहरी, विद्यार्थी, नगरपालिका कर्मचारी, स्थानीय मिलेर वीरगञ्जको घण्टाघर र आसपासको क्षेत्र सफा पारेका छन् ।
वीरगञ्जमा गत साता देखि सञ्चालन गरिएको ‘हाम्रो साथी प्रहरी’ नामक अभियान अन्तर्गत सरसफाई अभियान शुरु गरिएको पर्साका प्रहरी उपरीक्षक राजुबाबु श्रेष्ठले बताए ।
“अब प्रहरीले हरेक शनिबार वीरगञ्जका सार्वजनिक स्थलमा स्थानीयसँग मिलेर सरसफाई गर्छ,” श्रेष्ठले भने ।
नगरमा रहेका सार्वजनिक सम्पदा र सार्वजनिक स्थललाई पोष्टर पम्प्लेट मुक्त क्षेत्र बनाउने समेत उनले बताए ।
सरसफाई अभियानमा उपमहानगरपालिका कार्यालय, वीरगञ्ज उद्योग वाणिज्य संघ, वीरगञ्ज पब्लिक कलेज र केआई नेपालले समेत सहयोग गरेका थिए ।
सुरेश बिडारी, वीरगञ्ज
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
