समाचारआइतबार, फाल्गुण १६, २०७२
फेरि नाकाबन्दी हुँदैछ भन्ने हल्ला मात्रै: रावल
उपप्रधानमन्त्री भीमबहादुर रावलले भारतले फेरि नाकाबन्दी गर्दैछ भन्ने हल्ला मात्रै भएको र यसमा कुनै सत्यता नभएको बताएका छन् ।
प्रेस चौतारीले पोखरामा आयोजना गरेको कार्यक्रममा उनले पाँच महिनादेखिको असहज अवस्थालाई सहज बनाउन धेरै गुणा पेट्रोलियम पदार्थ आपूर्ति गर्नुपरेकाले केही समय असहज अवस्था रहने बताए ।
भारतीय आयल कर्पोरेसन र भारत सरकारका उच्चपदस्थ पदाधिकारीले नेपाललाई चाहिए जति पेट्रोलियम पदार्थ दिने आश्वासन दिएको जानकारी गराउँदै उपप्रधानमन्त्री रावलले आपूर्ति व्यवस्थालाई सामान्य बनाउन सरकार प्रयासरत रहेको बताए ।
अर्को प्रसङ्गमा उनले संविधान कार्यान्वयनमा आइपर्ने चुनौतीसँग जुध्न नेपाली कांग्रेस लगायत सबै राजनीतिक शक्तिसँगै अघि बढ्नाको विकल्प नभएको बताउँदै अब कसैले आन्दोलन गर्छु भन्दैमा त्यसलाई नेपाली जनताले साथ नदिने दाबी गरे ।
स्थानीय निकायको निर्वाचन लामो समयसम्म हुन नसक्दा त्यसमा जाने ठूलो हिस्साको बजेट राम्ररी सदुपयोग हुन नसकेकाले सबै राजनीतिक दलसँग छलफल गरेर निर्वाचनको मिति घोषणा गर्ने तयारीमा सरकार रहेको जानकारी पनि उनले दिए ।
रावलले भने–“नेपाल सरकार भारत चीन दुवै देशसँग सुमधुर सम्बन्ध कायम गरेर दुवैबाट पारवाहन सुविधा लिन अघि बढेको छ । ”
रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
