थप समाचारआइतबार, फाल्गुण १६, २०७२
“सरकार ! बाँदर लखेटिदिनुपर्यो”
गाउँमा बाँदरले दुखःदिएपछि दोलखा सुनखानी गाविसका महिला आन्दोलन गर्न सदरमुकाम चरीकोट आएका छन् ।
आफूले बगैँचामा लगाएको फलफूलदेखि तरकारी र खेतको अन्नपात बाँदरले नष्ट पारेको बारेमा जानकारी दिई सदरमुकामका कार्यालयमा घेराउ गरेर यसको नियन्त्रणमा लागिदिन जिल्ला वन कार्यालय र जिल्ला प्रशाशन कार्यालय दोलखालाई स्थानीय महिलाहरुले दबाब दिएका हुन् ।
आफ्नो परिश्रम सबै बाँदरले खाइदिएपछि उनीहरुले आक्रोशित हुँदै बाँदर नियन्त्रणमा सहयोग गरिदन आग्रह गरेका छन् ।
सुनखानी गाविस–७ की तुलसा नेपाली भन्छिन, “बाँदरले हाम्रो सबै बालिनाली सत्यनाश पार्यो, यसका लागि सरकारले हेरिदिनु पर्यो, मौसम अनुसार बाली लगाउँछौँ, तर बाँदरले खान दिँदैन, कसो गर्नू, सरकारलाई भन्नु सिवाय अरु सबै गरिसक्यौं बाँदर लखेट्ने अन्य उपाए नभएपछि यहाँ आएका हौँ ।”
जिल्ला वन कार्यालयका प्रमुख विष्णुप्रसाद भण्डारीले बाँदर नियन्त्रणका लागि वन कार्यालयले सक्ने खालको पहल गर्ने बताए । प्रमुख भण्डारी भन्छन् “बाँदर मार्ने नियममा नै छैन ।”
आज करिब १५० जना महिला हुल बाँधेर चरीकोट आएका थिए । भुकम्प पछाडि घर भत्किएर टहरामा बस्दै आएका स्थानीयवासी बाँदरले दु:ख दिएपछि झनै चिन्तामा छन् ।
रासस