थप समाचारआइतबार, फाल्गुण १६, २०७२
विमान दुर्घटना : बिर्सिने घटना नबनुन्
तारा र काष्ठमण्डप एअरका पछिल्ला दुर्घटना विगतका विमान दुर्घटना जस्तै बिर्सिने विषय बन्नुहुँदैन ।
११ फागुनको बिहान पोखराबाट जोमसोमका लागि उडेको तारा एअरको जहाज म्याग्दीको सोलीघोप्टे भीरमा दुर्घटना हुँदा जहाजमा सवार २३ जनाको ज्यान गयो । त्यसको दुई दिनपछि १३ फागुनमा नेपालगञ्जबाट जुम्ला उडेको काष्ठमण्डप एअरको विमान कालीकोटमा दुर्घटना हुँदा दुवै पाइलटको ज्यान गयो ।
विमानको सिंगल इन्जिनले काम नगरेपछि कालीकोटको चिलखायामा आकस्मिक अवतरण गर्ने क्रममा पाइलटद्वय दिनेश न्यौपाने र सन्तोष रानाले ९ यात्रुको जीवन बचाए, तर आफूहरू जोगिएनन् ।
सोलीघोप्टे भीरमा दुर्घटनाग्रस्त तारा एअरको ९ एनएएचएच ट्वीनअटर विमान नेपालको आन्तरिक उडानमा हालसम्मकै अत्याधुनिक उपकरण सुविधायुक्त थियो । त्यसका क्याप्टेन रोशन मानन्धर पनि निकै अनुभवी पाइलट थिए ।
गत ९ असोजमा मात्र क्यानडाबाट ल्याइएको त्यो जहाजमा दुई बालबालिकासहित २० जना यात्रु र चालकदलका तीन जना थिए । दुई वर्षपछि आन्तरिक उडानमा भएका यी दुई दुर्घटनाले नेपालको हवाई सेवा सुरक्षित छैन भन्नेहरूलाई बल मिलेको छ ।
नेपाली आकाशमा ३५ वर्ष जहाज उडाएर अवकाश लिएका सिनियर क्याप्टेन गंगाप्रसाद रिजाल हाम्रो देशको भौगोलिक अवस्थालाई सहज भन्न नसकिए पनि असहज पनि नभएको बताउँछन् । उनका अनुसार, नेपालको सडक भन्दा आकाश बढी सुरक्षित छ ।
सन् १९७१ बाट शुरू भएको नेपालको हवाई उडान सहज हुनुमा नेपाली पाइलटहरूको कुशलताले पनि काम गरेको छ । क्याप्टेन रिजाल भन्छन्, “हाम्रा दुर्गम क्षेत्रहरू जोमसोम, लुक्ला, डोल्पा, सिमकोट सबैतिर उडान र अवतरणमा भौगोलिक अवस्था अनुसारको टेक्निक हुन्छ ।”
उनका अनुसार, जोमसोम रुट दुई अग्ला पहाडबीचमा पर्ने भए पनि धेरै जोखिमपूर्ण छैन । बरु जोमसोमभन्दा साँघुरो लुक्लामा अवतरण गर्न गाह्रो हुन्छ भने डोल्पा विमानस्थल पहाडसँगै टाँसिएको छ । जोमसोम रुटमा बदलिने मौसमप्रति भने होशियार हुनैपर्ने क्याप्टेन रिजाल बताउँछन् ।
११ फागुनको बिहान सुक्खा पहिरो गएर धूलो उडेको सोलीघोप्टे भीर क्षेत्रमा म्याग्नेटिक प्रभाव समेत रहेको हुनसक्ने उनको अनुमान छ । जसको कारण त्यो बाटो भएर उडेको जहाजको गति बदलिएर दुर्घटना भएको आशंका गर्दै रिजाल यसबारे पनि अनुसन्धान गर्न जरूरी भएको बताउँछन् ।
भएन प्रविधिको प्रयोग
भौगोलिक अवस्था, मौसममा आइरहने फेरबदल, पुराना मोडलका जहाजमा नयाँ प्रविधि जडान नगरिनु, विमानस्थलहरूमा मौसमबारे पर्याप्त सूचना संकलन र प्रवाह गर्ने उपकरणको अभाव आदि हवाई दुर्घटना भइरहनुका कारण हुन् ।
नयाँ जहाज थपिंदै गए पनि त्यस अनुसारको सुरक्षा अनुगमन नहुँदा हवाई क्षेत्र असुरक्षित बन्दै गएको छ । विमानस्थलहरूमा नयाँ प्रविधिको प्रयोगदेखि ग्राउण्ड ह्याण्डलिङसम्मका विषय प्राथमिकतामा परेका छैनन् ।
पोखरा–जोमसोमको सुरक्षित उडानका लागि महावीर पुनको नेपाल वायरलेसमार्फत उपलब्ध प्रविधिको समेत प्रयोग नभएको कुरा तारा एअरको दुर्घटनापछि बाहिर आएको छ । नेपाल वायरलेसले पाँच वर्षअघि मुस्ताङको लाक्र्यु र म्याग्दीको खोप्राडाँडामा राखेको वेदर स्टेसनको रिपोर्ट र आईपी क्यामराले टिप्ने प्रत्यक्ष दृश्यहरू विमानस्थलका टावरहरूलाई उपलब्ध गराइरहेको पुन बताउँछन् ।
वेदर स्टेसनले हावाको चाप, प्रेसर देखि पानी परेको, नपरेको अवस्था र क्यामराले मौसमको दृश्य उपलब्ध गराउँछन् । जो विमानस्थलको कम्प्युटर स्क्रिनमा हेरेर कन्ट्रोलरले रेडियोमार्फत उडिरहेको जहाजलाई दिनसक्छन् । “तर, नागरिक उड्डयन प्राधिकरणले निःशुल्क पाएको यो सुविधा उपयोग नगरेको यो दुर्घटनापछि थाहा भयो”, पुन भन्छन् ।
यो प्रविधिको सदुपयोग शुरूका केही महीनामा गरिए पनि पछि प्रयोग छाडिएको थियो । नेपाल वायु सेवा निगमका क्याप्टेन विजय लामा भने यही प्रविधि प्रयोग गरेर एकपटक जोमसोम–पोखराको उडानलाई सहज बनाएको बताउँछन् । खराब मौसममा जहाज जोमसोममा थन्किएका वेला नेपाल वायरलेसको आईपी क्यामराले सहयोग गरेको उनले बताए ।
क्यामराले लेते र कालीगण्डकीमा बाक्लो कुहिरो देखाएमा जोमसोममा रोकिने र खुलेको देखे उड्न सकिने उनी बताउँछन् । मनाङलगायतका दुर्गम क्षेत्रको रुटमा पनि मौसम निगरानी गर्ने यस्ता प्रविधि जडान हुनु जरूरी भएको उनी बताउँछन् । भौगोलिक अवस्था र मौसमभन्दा पनि पाइलटमा पर्ने मानसिक दबाबबाट दुर्घटना निम्तिने गरेको उनको ठम्याइ छ ।
“उडानमा नेता, मन्त्री, कम्पनीदेखि स्थानीय बासिन्दासम्मको दबाब हुन्छ”, क्याप्टेन लामा भन्छन्, “जहाज कम्पनी, पाइलट, नियमन निकाय सबैले इमानदार काम नगरेसम्म यस्तो नियति दोहोरिरहन्छ ।”
सरकारले तारा एअर दुर्घटनाको छानबीन गर्न नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक राजेशराज दलीको संयोजकत्वमा पाँच सदस्यीय जाँचबुझ् आयोग गठन गरेको छ । हरेक दुर्घटनापछि बनेका आयोगबाट प्रभावकारी काम भने भएको छैन । २०२६ सालयता २६ वटा जहाज दुर्घटनामा परेका छन् । सिनियर क्याप्टेन रिजाल अब चाहिं पाइलट, जहाज कम्पनी, नियमन निकाय सबैलाई ध्यानमा राखेर अनुसन्धान गरिनुपर्ने बताउँछन् ।
डम्बरकृष्ण श्रेष्ठ