समाचारआइतबार, फाल्गुण १६, २०७२
प्रमको मोर्चालाई आग्रह, ‘ओइरो बिनाको जाँतो घ्वाइँघ्वाइँ नपारौं’
प्रधानमन्त्री केपी शर्मा ओलीले अनावश्यक हठ छोडेर समाधानमुखी वार्ता गर्न मधेशी मोर्चालाई आग्रह गरेका छन् ।

तस्वीर: आनन्दराम डंगोल
वार्ता र सहमतिकै आधारमा मुलुकको समस्या समाधान गर्न राजनीतिक संयन्त्रलाई पूर्णता दिई अघि बढ्न उनले मोर्चालाई आह्वान गरे ।
इन्टरनेसनल कन्सर्न सेन्टरले काठमाडौंमा आयोजना गरेको ‘नेपाल–भारत सम्बन्धः नयाँ आयाम र उत्तरदायित्व’ विषयको अन्तरक्रियालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले असहमतिका विषयलाई आवश्यकता आधारमा समाधान गरेर अघि बढ्न सकिने बताए । भने, “तराईको समस्या अलिक जटिल छ । म मधेशी मोर्चाका साथीहरुलाई भन्छु, ओइरोबिनाको जाँतो घ्वाइँघ्वाइँ नपारौँ, तात्तै जान्छ, निष्कर्ष केही छैन, त्यस्तो खालको जाँतो नघुमाऔँ । सधैँ समस्या मात्रै खडा गर्ने हैन, हठ छाडेर असमानता कहाँ छ, समाधान खोजौँ ।”
संविधानले तराईका जनतालाई कुनै विभेद नगरेको बरु विशेष व्यवस्था गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले नेपाली जनताका लागि बनाइएको संविधान आवश्यकताका आधारमा परिमार्जन गर्दै जान सकिने बताए ।
नेपाल–भारतबीच देखिएको असमझदारी हटाउन आफ्नो भारत भ्रमण उपलब्धिमूलक भएको बताउँदै उनले भने, “दुई देशबीच अलिकति असमझदारी थियो, त्यसलाई हटाउन मेरो भ्रमणले मद्दत पुगेको छ, अबको मूल्य र मान्यताका आधारमा सम्बन्धलाई नयाँ ढङ्गले अघि बढाइनुपर्छ ।”
उनले छिमेकीविरुद्ध कुनै पनि प्रकारको सोच राख्ने कुरा कल्पना पनि गर्न नसकिने उल्लेख गर्दै असल छिमेकी भारत र चीनबाट आर्थिक लाभ लिनसक्नुपर्नेमा जोड दिए ।
“हामी सबै मित्र राष्ट्रसँग बरोबर सम्बन्ध स्थापित गर्न चाहन्छाँै, एउटाको भूमि अर्कोलाई प्रयोग गर्न दिँदैनौँ, अब नयाँ आवश्यकतामा जानुपर्छ पछाडि फर्केर हेर्ने हैन”, प्रधानमन्त्रीले भने ।
पूर्वपरराष्ट्रमन्त्री डा प्रकाशचन्द्र लोहनीले दुई देशबीचको कूटनीतिक असमझदारीले आएको तिक्ततालाई प्रधानमन्त्रीको भारत भ्रमणले अन्त्य गरेको उल्लेख गर्दै भारतको आधारभूत सम्बन्धमा दखल नपर्ने गरी छिमेकी मुलुक चीनसितको व्यापारिक सम्बन्धलाई अघि बढाइनुपर्नेमा जोड दिए ।
पूर्वपरराष्ट्रमन्त्री डा भेषबहादुर थापाले असहज परिस्थितिमा भएको प्रधानमन्त्रीको भारत भ्रमण सम्बन्ध सुधार्न उपलब्धिमूलक छ भन्दै आपसी शङ्का मेटेर दिगो सम्बन्ध कायम गरिनुपर्ने औँल्याए ।
नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष पशुपति मुरारकाले प्रधानमन्त्रीको भारत भ्रमण आर्थिक दृष्टिकोणले सफल भएको र नेपालमा भारतीय लगानी अभिवृद्धि गर्ने दरिलो वातावरण सिर्जना भएको स्पष्ट गरे ।
रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
