अन्तर्वार्ता/विचारसोमबार, फाल्गुण १७, २०७२
‘गुटबन्दी अन्त्य हुन्छ’
१३औं महाधिवेशन के कुरामा फरक छ ?
सभापति सुशील कोइरालाको निधनको शोककै घडीमा महाधिवेशन गर्दैछौं । संविधानले मुलुकको आर्थिक, सामाजिक र राजनीतिक प्रक्रिया नयाँ र प्रखर ढंगले अघि बढाउने संकल्प गरेको छ । संविधानद्वारा निर्दिष्ट परिवर्तन कार्यान्वयनको नेतृत्व गर्ने जिम्मेवारी सबैभन्दा ठूलो पार्टी कांग्रेसमा छ । कांग्रेसले त्यो परिवर्तन बुझ्न र आत्मसात् गर्न सक्ने हुनुपर्छ ।
संविधानद्वारा प्रदत्त उत्पीडित र उपेक्षित वर्गको अधिकार र समतामूलक समाजको परिकल्पनालाई प्रजातान्त्रिक समाजवादको दर्शनले मात्रै समेट्न सक्छ । त्यो दर्शनमा आधारित परिवर्तन आत्मसात् गर्दा मात्रै गन्तव्यमा पुग्न सकिन्छ । यस्तो विशेष परिस्थितिमा १३औं महाधिवेशन हुनु स्वयंमा महत्वपूर्ण छ ।
२००७ सालदेखि नै युगान्तकारी परिवर्तनको नेतृत्व गर्ने कांग्रेस यतिखेर सबैभन्दा अप्ठ्यारो मोडमा आइपुगेको छ भनिन्छ नि !
पार्टीभित्र धेरै चुनौती छन् । गुटगत विभाजनले मनोमालिन्य छ । अहिलेको ठूलो चुनौती नै गुटगत र भागबन्डाको राजनीति अन्त्य गर्नु हो । महाधिवेशनले यसखाले चुनौती अन्त्य गर्छ । भागबन्डा अन्त्य गरेर मूल्यांकनको राजनीतितिर लाग्नुपर्छ । म त्यो मिसनमा छु ।
महाधिवेशनपछि कांग्रेसमा गुटबन्दीको राजनीति सकिन्छ भन्नुभएको हो ?
जसले गुटको राजनीतिलाई आधार बनाएर हैसियत बनाएको छ, त्यसलाई यो महाधिवेशनले अन्तिम जवाफ दिन्छ । ६०/४० को राजनीति अन्त्य गर्छ, पार्टी हुन्छ । त्यसको नेतृत्व म गर्छु ।
पहिले पनि बीपी र सुवर्णबीच, किसुनजी र गणेशमानबीचका मनोमालिन्य मिलाएर पार्टीलाई मिलाउने काम मैले नै गरेको हुँ । अहिले शेरबहादुर देउवा र सुशील कोइराला खेमा भन्ने अस्वस्थ परिस्थिति मेट्नुपर्नेछ । म त्यही गर्छु, किनभने सबै साथीहरू मसँग ‘कम्फर्ट’ महसूस गर्छन्, कसैप्रति मेरो र मप्रति पनि कसैको पूर्वाग्रह छैन । म एकताको सेतु बन्छु ।
स्थापनादेखि नै गुटबन्दीबाट गुज्रिएको कांग्रेसमा अचानक गुट अन्त्य हुने कसरी पत्याउने ?
कांग्रेस जन्मँदै दुई वटा फग्लेटो मिलेर बन्यो, नेपाली राष्ट्रिय कांग्रेस र नेपाली प्रजातान्त्रिक कांग्रेस । पछि नेपाली कांग्रेसबाट चोइटिएर प्रजातान्त्रिक कांग्रेस बन्यो । एकतापछि पनि विभाजनको ‘ह्याङओभर’ मेटिएको छैन । त्यो अभिशापबाट मुक्त हुने ठूलो अवसर पनि अधिवेशन नै हो ।
कांग्रेसभित्रको गुटबन्दीले देशले दुःख पाइरहेको जस्तो लाग्दैन ?
पार्टी गुटबन्दीको दलदलमा फँसेको छ । अब गुटबन्दीमुक्त कांग्रेस नयाँ ऊर्जासाथ अघि बढ्छ । हाम्रो लक्ष्य भनेकै राष्ट्रको उन्नति, एकता, स्वाभिमानका साथै हिमाल, पहाड र तराईलाई एकतामा बाँधेर देशलाई समृद्धिको मार्गमा लैजानु हो ।
तपाईंलाई पार्टी सभापति बनाउनैपर्ने आधार के के छन् ?
पार्टीप्रतिको निष्ठा नै हो । अरुले व्यक्तिगत स्वार्थमा पार्टी मात्रै होइन, प्रजातन्त्र र देशलाई नै जोखिममा पारेका छन् । तर, यी संस्थाहरूलाई जोगाउन मैले पटकपटक आफैंलाई जोखिममा राखेको छु ।
मैले सत्ताको दुरुपयोग कहिल्यै गरिनँ । ग्रामीण स्वावलम्बन कार्यक्रमदेखि कृषि क्रान्तिसम्म, ‘निमुखालाई न्याय र विपन्नलाई आय’ जस्ता कार्यक्रमहरू अघि बढाएँ । पार्टी साहित्य, संस्कृति र विचारमा जलप लगाएरै आइरहेको छु । पार्टीभित्र जागरण र मनोबल बढाउने काम गरिरहेकै छु । मेरो यस्तो व्यवहारले पार्टीका साथीहरू प्रभावित छन् । उहाँहरूबाट यसको मूल्यांकन हुने नै छ ।
तपाईं नेतृत्वमा पुग्नुभयो भने कस्तो पार्टी बनाउनुहुन्छ ?
कांग्रेस पार्टी देशमा लोकतन्त्र स्थापना, सामाजिक लोकतन्त्र र समानतामूलक समाज निर्माण गर्ने ध्येयले जन्मेको थियो । प्रजातान्त्रिक समाजवाद साकार पार्ने उद्देश्य बोकेर जन्मेको थियो । एउटा आधुनिक, न्यायपूर्ण र प्रगतिशील समाज स्थापनाको कांग्रेसको त्यो मिसनलाई म मूर्तरुप दिनेछु ।
नेपालको कृषि, पर्यटन, ऊर्जाशक्तिलाई प्राथमिकतामा राखेर गरीबी निर्मूल र बेरोजगारी अन्त्य गर्नेतिर लाग्छु । विकासकै आधारमा पार्टीप्रति जनआस्था बढाउन पनि लाग्छु । पार्टीलाई स्वच्छ राजनीतिक संयन्त्र बनाउनुछ । राजनीतिप्रतिको वितृष्णा हटाउनुछ । राजनीतिकर्मीलाई सम्मानको दृष्टिले हेर्ने स्थितिमा पु¥याउने दायित्व पनि मेरो काँधमा छ ।
पछिल्लो समय कांग्रेस नीतिभन्दा नेता प्रधान हुँदै गइरहेको देखिन्छ । महाधिवेशन पनि केवल नेतृत्व छनोटमै केन्द्रित हुँदै गइरहेका छन् नि !
पार्टीको जन्म हुँदा बीपी कोइरालाहरूले परिकल्पना गर्नुभएको थियो– समतामूलक, न्यायपूर्ण र प्रगतिशील समाज निर्माण गर्ने । नीतिको आधारशिला त्यही नै हो ।
यसै आधारमा उभिएर अहिलेको संविधानले कल्पना र निर्दिष्ट गरेका नयाँ अधिकारहरू पूरा गराउनेतिर लाग्नुपर्नेछ ।
महाधिवेशन भन्नासाथ नेतृत्व चयनले प्राथमिकता पाउनु अस्वाभाविक होइन । कम्युनिष्ट पार्टीमा जस्तो एउटा एउटा अजेण्डामा चुनाव गर्नुपर्ने परम्परा कांग्रेसमा छैन । बारम्बार सिद्धान्त र परिभाषा फेरिरहनुपर्ने आवश्यकता र बाध्यता पनि छैन । यो महाधिवेशनमा कांग्रेसले लिनुपर्ने नीति कस्तो हुनुपर्छ भनेर नीति तथा कार्यक्रम अघि सारेका छौं । त्यसको मस्यौदा देशभरि पठाएर छलफल गरेका छौं । महाधिवेशनपछि नीतिगत प्रष्टता हुनेछ ।
महाधिवेशनले नेतृत्वसँगै पार्टी नीतिमै फेरबदल ल्याउँछ त ?
मेरो विश्वास छ, महाधिवेशनले पार्टीको संरचना र कार्यशैलीमै परिवर्तन ल्याउनेछ । नयाँ जीवन, सोच र संस्कृति आउनेछ, जसले देशलाई उन्नतिको बाटोमा लैजानेछ ।
परिवर्तनको संवाहक कांग्रेस परिवर्तन संस्थागत गर्न भने सधैं चुक्दै आएको छ । किन यस्तो हुन्छ ?
यो देशकै विडम्बना हो । सधैं ‘म ताक्छु मूढो बञ्चरो ताक्छ घुँडो’ जस्तै भइरहेको छ । पटक–पटक परिवर्तन गर्छाैं, लोकतन्त्र ल्याउँछौं, विकास गर्छाैं पनि भन्छौं । तर, जब जग बस्छ, एकाएक हिंसा हुन्छ । जस्तो कि, संविधान बनेलगत्तै मधेश आन्दोलन र नाकाबन्दी खेप्नुपर्यो ।
यस्तो विडम्बना किन भोग्नुपरिरहेको छ ? यो विचारेर जोगिएर बढ्नु नै अहिलेको राजनीतिक बुद्धिमत्ता हो । यसका लागि छिमेकीहरूलाई पनि विश्वस्त तुल्याउनुपर्छ । अतिराष्ट्रवादले अहित मात्रै गर्छ । मध्यमार्गबाटै हित सम्भव छ । न साम्यवाद न उन्मुक्त पूँजीवादले देश समुन्नत हुन्छ । म पार्टीभित्र, राजनीति र सिद्धान्तमा पनि मध्यमार्गी हुँ । यसैमा देशको सुरक्षा, उन्नति र विकास छ । यस्ता विभिन्न प्रवृत्ति र शक्ति बुझेर सन्तुलन मिलाउने आवश्यकता कांग्रेससामु आइपुगेको छ ।
तर, त्यस्तो भूमिकामा कांग्रेस सधैं कमजोर देखियो, किन ?
कांग्रेस मात्रै जिम्मेवार छ भन्दिनँ । कांग्रेस मार खाने पार्टी हो । देशको भलो गर्छु भन्दाभन्दै कांग्रेससामु अप्ठ्यारा आइपरेका छन् । कुठाराघात हुन पुगेको छ ।
अप्ठेरा चिर्न नसक्नु त नेतृत्वकै कमजोरी हो नि ?
म कसैलाई दोष दिन चाहन्नँ । राम्रो गर्छु भन्दाभन्दै पनि अप्ठ्याराहरू आइलागेका छन् । २०४६ को परिवर्तन, माओवादी हिंसालाई मूलधारमा ल्याउने काम र २०६२/६३ को परिवर्तनको अगुवाई कांग्रेसले नै गर्यो । आजको नेपालमा जे भएको छ, त्यसको कारक कांग्रेस नेतृत्व नै हो । नकारात्मक कुरा मात्रै गरेर अग्रज नेतृत्वमाथि अन्याय गर्न हुन्न ।
कुनै वेला मधेशमा लोकप्रिय कांग्रेसलाई अहिले त्यही अधिवेशन गर्न समेत अप्ठेरो पर्नुको कारण के हो ?
संविधान बनाउँदा पनि सबै जनताको चाहना र भावना बुझेर समावेशिताका सिद्धान्त अपनाइयो । उपेक्षितलाई सम्बोधन गरी मौलिक अधिकारहरू स्थापित गरिएको छ । संघीयता सुनिश्चित गरिएको छ । यसमा केही असन्तुष्टि हुँदा कांग्रेसमाथि प्रहार भयो । ठूलो अवरोध बेहोर्नुपर्यो ।
जनजाति, मधेशी र हिमालको असन्तुष्टि समेट्न कांग्रेसले नै संविधान संशोधन प्रस्ताव गरेको हो । मधेशको समस्या समाधान मधेशी जनताकै चाहना अनुसार हुनुपर्छ, प्रदेश निर्माणमा पनि उनीहरूकै कुरा सुनिनुपर्छ, यसमा कांग्रेस खुला छ ।
महाधिवेशनपछिको कांग्रेसको कार्यभार के हो ?
संविधान कार्यान्वयन मुख्य कुरा हो । कानूनले निर्दिष्ट गरेको व्यवस्थाअनुसार राष्ट्रियता, प्रजातन्त्र र समाजवादमा आधारित भएर कांग्रेस अघि बढ्नेछ । यसैअनुसार राज्य पुनःसंरचना, विकास, समावेशी लोकतन्त्र साकार गर्नु कांग्रेसको कार्यभार हो ।
महाधिवेशनलगत्तै सरकार परिवर्तन गर्ने चर्चाबारे के भन्नुहुन्छ ?
शेरबहादुरजीले मलाई प्रधानमन्त्रीमा प्रस्ताव गर्नुभएछ । मैले पनि त्यस्तो अवस्था आए तपाईं नै राष्ट्रपति, प्रधानमन्त्री के बन्ने हो बन्नुस् तर म पार्टी सभापति बन्छु भनेको हुँ । खासमा अहिले हामी महाधिवेशनमै केन्द्रित छौं । सरकार परिवर्तनबारे सोच्न पनि भ्याइएको छैन ।
प्रस्तुतिः रामेश्वर बोहरा र सइन्द्र राई