समाचारमंगलबार, फाल्गुण १८, २०७२
मन्त्रिपरिषद बैठकः २४ वैशाखमा ‘पत्रकारिता दिवस’, कालीकोट दुर्घटनाका पाइलटलाई ‘वीरता पदक’
सरकारले २४ वैशाखलाई ‘राष्ट्रिय पत्रकारिता दिवस’ घोषणा गरेको छ ।
१७ फागुनमा बसेको मन्त्रिपरिषद बैठकले गोरखापत्र प्रकाशन शुरु भएको भएको मिति २४ वैशाख १९५८ स्मरण गर्दै हरेक वर्षको २४ बैशाखमा ‘राष्ट्रिय पत्रकारिता दिवस’ मनाउने निर्णय गरेको हो ।
त्यसैगरी भारतमा उपचाररत् वरिष्ठ संगीतकार अम्मर गुरुङ र पूर्व मन्त्री तथा सांसद नरहरी आचार्यको उपचारमा लाग्ने सम्पूर्ण खर्च व्यहोर्ने पनि बैठकले निर्णय गरेको छ ।
१४ फागुनमा कालिकोटमा भएको हवाई दुर्घटनामा आफू मरेर यात्रुलाई बचाउने क्याप्टेन र को–पाइलट दुवैको बलिदानको उच्च कदर गर्दै दुवैलाई ‘वीरता पदक’ प्रदान गरिने भएको छ ।
प्रधानमन्त्रीको चीन भ्रमण चैतमा
बैठकमा प्रधानमन्त्रीले आफ्नो भारतभ्रमणबारे जानकारी गराएपछि त्यसको समिक्षा र आगामी चैतमा हुने चीन भ्रमणको तयारीबारे छलफल भएको सञ्चारमन्त्री शेरधन राईले जानकारी दिए ।
त्यस्तै बैठकले असल चालचलन भई २०७२ कार्तिक ३ सम्म तोकिएको कैदको ४० प्रतिशत वा सो भन्दा बढी कैद भूक्तानी गरिसकेका एवं ६५ बर्ष उमेर पुरा भएका वृद्ध, वृद्धा समेत गरी १६५ जना कैदीहरुलाई नेपालको संविधान जारी भएको उपलक्ष्यमा कारागारबाट मुक्त गर्न संविधानको धारा २७६ बमोजिम राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय भएको मन्त्री राईले जानकारी दिए ।
धरान–चतरा–गाईघाट कटारी–सिन्धुली–हेटौडा सडकलाई द्रुत गतिमा दुई लेनमा स्तरोन्नति गर्ने कार्य तत्काल आरम्भ गरी तीन बर्षभित्र सम्पन्न गर्ने पनि बैठकले निर्णय गरेको छ ।
काठमांडौ उपत्यकामा रेल मार्ग विकास तथा सञ्चालनका लागि लगानी सम्बन्धि प्रस्ताव गर्न लगानी बोर्डलाई तोक्ने पनि सरकारले निर्णय गरेको छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
