थप समाचारमंगलबार, फाल्गुण १८, २०७२

कोरला नाका सञ्चालन गर्न पूर्वाधार निर्माण शुरु

हिमालखबर

koralaचीनसँग व्यापारिक कारोबारका लागि सबैभन्दा उपयुक्त मानिएको मुस्ताङको कोरला नाका सञ्चालन गर्न आवश्यक भौतिक पूर्वाधार निर्माण कार्यले तीव्रता पाएको छ ।

दुई महिनाअघि व्यवस्थापिका–संसद्अन्तर्गतको विकास समितिका सभापति रवीन्द्र अधिकारीसहितको टोलीले स्थलगत अध्ययन र अनुगमन गरेपछि नाका सञ्चालनका लागि सुरक्षा, भन्सार, सडकमार्ग र अध्यागमन कार्यालय स्थापनाका लागि तयारी अघि बढेको हो ।

समितिले सरकारलाई तत्काल नाका सञ्चालन गर्न सम्भव रहेको भन्दै चीन सरकारसँग आवश्यक कूटनीतिक पहल थाल्न र नाकामा भौतिक पूर्वाधार निर्माण गर्न सुझाव दिएको थियो ।

कोरला नाकासम्म पुग्नका लागि ९३ किमी जोमसोम–कोरला सडकलाई स्तरोन्नतिसँगै विभिन्न स्थानमा पक्की पुल निर्माण गर्नुपर्ने देखिएको छ ।

सडक निर्माण, स्तरोन्नति र पुलको काम सडक विभागले सुरु गरिसकेको मुस्ताङका प्रमुख जिल्ला अधिकारी गणेशबहादुर अधिकारीले जानकारी दिए ।
उनका अनुसार समितिको टोलीले अध्ययन गरेर फर्केपश्चात् सुरक्षा निकाय र भन्सार कार्यालयका लागि आवश्यक जग्गा छनोट गर्ने काम सकिएको छ ।

सीमा क्षेत्रमा सशस्त्र प्रहरी, नेपाल प्रहरीसहित नेपाली सेनालाई समेत खटाउने योजनाअनुरुप सोही किसिमको भौतिक पूर्वाधार निर्माणका लागि जग्गा खरिद गरिएको प्रजिअ अधिकारीले जानकारी दिए ।

जिल्ला सदरमुकाम जोमसोममा रहेको नेचुङ भन्सार कार्यालयले कोरला नाकाबाटै काम शुरु गरेको अवस्थामा त्यहाँ कार्यरत जनशक्तिलाई दोब्बर बनाउन तयारी गरिएको छ ।

अहिले भन्सारमा कार्यालय प्रमुखसहित एकजना सहयोगीको भरमा सञ्चालन हुँदै आएको छ ।

“नाका सुरक्षार्थ लोमान्थाङमा ब्यारेक राख्नका लागि पनि उपयुक्त जग्गा छनोट गरी नापी र नक्साङ्कनको काम सम्पन्न भएको छ, तत्काललाई लोमान्थाङको एक हजार रोपनी समथर सरकारी जग्गा प्रयोग हुनेछ” – प्रजिअ अधिकारीले भने ।

नापी कार्यालयले तयार गरेको जग्गाको नक्सा भीमदल गण जोमसोम र जिल्ला प्रशासन कार्यालयलाई बुझाइसकेको छ ।

यसैका आधारमा रक्षा र गृहमन्त्रालयले जग्गा स्वीकृतिका लागि मन्त्रिपरिषद्मा पठाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>