समाचारमंगलबार, फाल्गुण १८, २०७२
सहभागी सबै बाहिरिएपछि कार्यक्रम स्थगित
नेपाली कांग्रेसका जिल्ला र क्षेत्रीय सभापतिको स्वागतका लागि आयोजित कार्यक्रममा सहभागी सबै बाहिरिएपछि उद्घाटनपछिको कार्यक्रम अघि बढ्न सकेन ।
कांग्रेस सिन्धुपलाञ्चोक जिल्ला कार्यसमितिले कांग्रेसका नवनिर्वाचित जिल्ला र क्षेत्रीय सभापतिलाई बधाई तथा निवर्तमान सभापतिलाई बिदाइ गर्न उक्त कार्यक्रम आयोजना गरेको थियो ।
कार्यक्रमको उद्घाटन र स्वागत भाषणपछि कार्यक्रममा सहभागी कावा सभापति रामचन्द्र पौडेल र वरिष्ठ नेता शेरबहादुर देउवा व्यस्तताका कारण भन्दै भाषण नगरी बाहिरिएका थिए ।
शीर्षनेता बाहिरिएसँगै कार्यक्रम हलमा उपस्थित सबै सहभागी पनि सँगै बाहिरिएपछि राष्ट्रिय सभाको प्रेक्षालय रित्तिएको थियो ।
सञ्चालकले कार्यक्रम बाँकी नै छ भन्दाभन्दै पनि मुलुकभरबाट आएका महाधिवेशन प्रतिनिधि र उम्मेदवार सबै बाहिरिएका थिए ।
सभास्थलबाट बाहिरिएका नेता कार्यकर्ता बाहिर मत माग्न, भेटघाट गर्न, सञ्चारकर्मीलाई प्रतिक्रिया दिन, चियाखाजा खान तथा तस्बिर खिचाउन व्यस्त देखिन्थे ।
कांग्रेसको आसन्न १३औँ महाधिवेशन यही फागुन २० देखि २३ गतेसम्म राजधानीमा हुँदैछ ।
रासस