समाचारमंगलबार, फाल्गुण १८, २०७२
केसीले देउवापक्षबाट उम्मेदवारी घोषणा गरे
नेपाली कांग्रेसका नेता अर्जुन नरसिंह केसीले शेरबहादुर देउवा पक्षबाट महामन्त्री पदको उम्मदेवारी घोषणा गरेका छन् । उनले प्रतिस्पर्धमा आफ्ना ज्वाइँ गगन थापा उत्रिए पनि पछि नहट्ने बताए ।
रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा नेता केसीले भने, “मैले देउवाजीको प्यानलबाट महामन्त्री पदमा उम्मेदवारी घोषणा गरे । प्यानलको घोषणा औपचारिक रुपमा बुधवार (१९ गते) हुन्छ । ’
केसीले भोली प्यानलसहित घोषणा गर्ने तयारीमा भए पनि रिपोर्टर्स क्लबमा बोल्न आज बोलाइएकाले आफ्नो उम्मेदवारीको घोषणा आजै गरेको बताए ।
उनले अब आफू पछि नहट्ने भन्दै थपे, “मेरा ज्वाई गगन थापा वा शशांक कोइराला जो मैदानमा उत्रिए पनि अब मेरो उम्मेदवारी परिवर्तन हुँदैन यो अन्तिम निर्णय हो । अब पछि हट्ने र झुक्ने काम हुँदैन ।”
केसीले नेपाली काग्रेसमा ब्याप्त विरासतको राजनीति, सिण्डिकेट, विधिहिनता र सानो झुण्डको हालिमुहाली तोड्न आफू बरिष्ठ नेता शेरबहादुर देउवाको प्यानलमा आएको दावी गर्दै संस्थापन पक्षको नाममा सानो गिरोहले सिंगो पार्टी कब्जा गर्न खोजेको आरोप लगाए ।
उनले आफू पार्टीलाई नेतामुखी, नातामुखी र दातामुखी भन्दा नीति मुखी बनाउनु पर्ने अभियानसहित अगाडि बढेको बताउँदै १८ वर्ष केन्द्रीय समितिमा सस्थापन पक्षबाट रहँदा समेत आफ्नो उचित मुल्याङकन नभएको गुनासो गरे ।
केसीले भने, “१० औ महाधिवेशनमा ९ नवौ नम्बरमा विजयी भए, ११ औमा पाचौ नम्बरमा, १२ औमा दोस्रो नम्बरमा केन्द्रीय सदस्यमा विजयी भए, तीन वर्ष गिरिजाबाबुले मनोनयन गरेर केन्द्रीय सदस्य बनाउनु भयो । १८ वर्ष केन्द्रीय सदस्य हुँदा जम्मा १७ महिना मन्त्री भए । संस्थापन पक्षमा मेरो उचित मुल्याङकन भएन ।”
उनले आफू अझै पनि सहमतिमै नेतृत्व चयन हुनु पर्ने पक्षमा रहेको स्पष्ट पार्दै दुई मध्ये एक नेता सभापति र अर्को नेता संसदीय दलको नेता बनेर बाँकी पदमा प्रतिष्पर्घा गर्नु पर्ने धारणा राखे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
