थप समाचारमंगलबार, फाल्गुण १८, २०७२

आजदेखि डा. केसीले थाल्ने भनिएको अनशन स्थगित

हिमालखबर

प्राडा गोविन्द केसीले चिकित्सा शिक्षामा सुधारका आफ्ना मागहरुलाई नागरिक अगुवाहरुले अभियानका रुपमा अगाडि बढाउँदै राज्यलाई दबाब दिइरहेकाले आजदेखि शुरु गर्ने भनेको आमरण अनशन स्थगित गरेका छन् ।

आज विज्ञप्ति जारी गर्दै डा केसीले अभियानका अगुवाहरुले माग पूरा गर्ने दिशामा सकारात्मक काम भइरहेको र त्यसलाई निष्कर्षमा पू¥याउन राज्यलाई थप समय दिनुपर्ने आग्रह गरेको बताएका छन् ।

माग बेलैमा पूरा नभए आफू फेरि आमरण बस्ने उनले चेतावनी पनि दिएका छन् ।

प्रेस विज्ञप्ति
चिकित्सा शिक्षा सुधारको लागि हामी लामो समयदेखि लडिआएको विदितै छ । त्यस्तो सुधार प्रक्रिया प्रतिकुल हुने गरी राज्यले कदम चालेका कारण त्यसविरुद्ध तथा सुधारका थप माग राख्दै मैले आजदेखि आमरण अनशनको घोषणा गरेको थिएँ ।

यसैबीच नागरिक समाजले संगठित र उदाहरणीय रुपमा यो क्षेत्रमा सुधारको मागलाई अभियानकै रुपमा उठाएको छ जुन अत्यन्त प्रशंसनीय छ । सो अभियानका अगुवाहरुले यसबीच हाम्रा माग पूरा गर्ने दिशामा सकारात्मक कामहरु भइरहेकाले तिनलाई निश्कर्षमा पुर्याउन थप केही समय राज्यलाई दिन आग्रह गर्नुभएको छ । सो आग्रहलाई ध्यानमा राखेर आजदेखि मैले शुरु गर्ने भनेको आमरण अनशनको कार्यक्रम अहिलेका लागि स्थगित गरेको जानकारी गराउन चाहन्छु ।

यो अवधिमा विवादास्पद प्रतिष्ठानसम्बन्धी विधेयक् फिर्ता लिने लगायत चिकित्सा शिक्षाको अनियमितता र भ्रष्टाचारमा न्यायालय मुछिएको भन्ने आरोपहरुमाथि छानविन अघि बढाउने, अख्तियार प्रमुख र सहकर्मीहरुले अरु क्षेत्रमा मात्र नभएर स्वास्थ्य तथा चिकित्सा क्षेत्रमा गरेका भ्रष्टाचार र धाँदलीको बारेमा छानविन गरी कारबाही गर्न, त्रि.वि.चि.शा. अध्ययन संस्थानमा रिक्त रहेको डीनको पदमा बरिष्ठताको आधारमा तुरुन्त नियुक्त गर्न र राजीनामा बारे छानविन गर्न, विश्वविद्यालयहरुमा नियुक्ति गर्दा राजनीतिक भागबण्डा अन्त गर्नका लागि पदाधिकारी नियुक्तिको नयाँ व्यवस्था ऐनमार्फत् गर्ने जस्ता सबै माघहरु पूरा नभएमा अथवा उल्लंघन गर्ने कोशिस गरेमा कुनै पनि बेला आमरण अनशन शुरु गर्ने जानकारी गराउन चाहन्छु ।

साथै भुकम्म पिडित चरम संकट बाट गुज्रिरहेको अहिलेको अबस्थामा आफ्नो राजनीतिक स्वार्थ नहेरेर पुन निर्माण र पुनस्र्थापनाको काम तिब्र रुपमा अघि बढाउन तथा कालो बजारी लगायतका नाकाबन्दि जन्य समस्याहरु तत्काल व्यबहारीक रुपमा समाधान गर्न यसै विज्ञप्ती मार्फत ध्यानाकर्षण गराउन चाहान्छु ।

यसबीच सुधारको अभियानमा लाग्नुहुने सम्पूर्ण नागरिकहरुलाई धन्यवाद दिंदै भविष्यमा अझ सक्रिय सहभागिताको अपेक्षा पनि गर्दछु ।

डा गोविन्द केसी
त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज
२०७२।११। १८

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>