समाचारमंगलबार, फाल्गुण १८, २०७२
कांग्रेस महाधिवेशनको तयारी अन्तिम चरणमा
२० फागुनदेखि काठमाडौंमा हुन लागेको नेपाली कांग्रेसको १३औं महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको छ ।
काठमाडौं जिल्ला सभापतिको संयोजकत्वमा गठित महाधिवेशन व्यवस्थापन समितिले १७ फागुनदेखि काठमाडौं जिल्लाभर बिजुलीका खम्बामा झण्डा राख्न सुरु गरेको सभापति कृष्ण ९सबुज० बानियाँले बताए ।
उनका अनुसार काठमाडौंमा मात्रै ५ हजारभन्दा बढी झन्डा राखिने छन् । जिल्लाभर कांग्रेसका झण्डा, द्वार र नेता कार्यकर्ताका सम्पर्क कार्यालयमा राखिएका ब्यानरका कारण मात्र हैन मुलुकभरबाट राजधानी आएका महाधिवेशन प्रतिनिधिलगायत नेता कार्यकर्ताका गाडीमा राखिएका झण्डा र ब्यानरले काठमाडौँमा महाधिवेशनको रौनक थपेको छ ।
समितिले कलङ्की, एयरपोर्ट, कोटेश्वर, बबरमहल, त्रिपुरेश्वर, भृकुटीमण्डप, रत्नपार्क क्षेत्रमा ठूला सात वटा द्वार बनाउँदैछ । त्यस्तै, उद्घाटन हुने स्थल खुलामञ्च, बन्दसत्र हुने भृकुटीमण्डप र निर्वाचन हुने राष्ट्रिय सभागृहमा आवश्यक तयारी अन्तिम चरण पुगेको उनले बताए ।
यसबाहेक उपत्यकाका ललितपुर र भक्तपुरमा पनि सम्बन्धित जिल्ला कार्यसमितिले द्वार बनाउने, झण्डा राख्नेलगायतका काम गरिरहेका छन् । त्यस्तै महाधिवेशनको तयारीका लागि गठन गरिएका अन्य विषयगत समितिको जिम्मेवारी पनि अन्तिम चरणमा पुगेको समितिले जनाएको छ ।
कार्यवाहक सभापति रामचन्द्र पौडेलको नेतृत्वमा रहेको नीति तथा कार्यक्रम समितिले महाधिवशेनका लागि पेस गरेको पार्टीको नीति तथा कार्यक्रमलाई केन्द्रीय समितिले पारित गरिसकेको छ ।
विधान संशोधन समितिले विधान संशोधनका लागि मस्यौदा तयार पारेको भए पनि अब यस महाधिवेशनमा विधान संशोधन नहुने निश्चित भएको छ । रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
