समाचारबुधबार, फाल्गुण १९, २०७२

मन्त्रिपरिषद बैठक: तीन महावाणिज्यदूत नियुक्त, थप २२ शहीद घोषणा

हिमालखबर

सरकारले कलकत्ता, हङ्कङ र ल्हासका लागि तीनजना महावाणिज्यदूत नियुक्त गरेको छ ।

आज बसेको मन्त्रिपरिषद बैठकले कलकत्ताका लागि सूचना तथा सञ्चार मन्त्रालयका सहसचिव एकनारायण अर्याल, ल्हासाका लागि पर्यटन मन्त्रालयका सहसचिव गोविन्द कार्की र हङकङका लागि सामान्य प्रशासन मन्त्रालयका सहसचिव कमल भट्टराईलाई नियुक्त गरेको हो ।

डेपुटी गभर्नरमा सिवाकोटी र श्रेष्ठ
बैठकले नेपाल राष्ट्र बैंकको रिक्त वरिष्ठ डेपुटी गभर्नरमा चिन्तामणि सिवाकोटी र डेपुटी गभर्नरमा शिवराज श्रेष्ठलाई नियुक्त गरेको छ ।

युवा परिषद्मा ढुङ्गेल
त्यसैगरी बैठकले राष्ट्रिय युवा परिषद्को उपाध्यक्षमा अनेरास्ववियुका पूर्वअध्यक्ष माधव ढुङ्गेललाई नियुक्त गरेको छ । राष्ट्रिय युवा नीतिको कार्यान्वयनका लागि गठित सो परिषद्ले काम गर्नेछ ।

भूकम्प पुनःनिर्माण कार्यविधि पारित
सरकारले भूकम्पपछिको पुनःनिर्माणका लागि जग्गा प्राप्ति र पुनःनिर्माणसम्बन्धी विभिन्न निर्देशिका र कार्यविधि स्वीकृत गरेको छ ।

राष्ट्रिय पुनःप्राधिकरणले तयार गरेका ती कार्यविधि आज बसेको मन्त्रिपरिषद्को बैठकले पारित गरेको सरकारका प्रवक्ता तथा सूचना तथा सञ्चारमन्त्री शेरधन राईले जानकारी दिए ।

शहीद घोषित
बैठकले पञ्चायती शासनको विरुद्ध सङ्घर्षमा रहँदा विभिन्न समयमा तत्कालीन सत्ताबाट जीवन हरण गरिएकाको योगदानलाई कदर गर्दै झापा आन्दोलनका सुखानीका योद्धासहित विभिन्न २२ जनालाई शहीद घोषणा गर्ने निर्णय गरेको छ ।

शहीद घोषणा भएकामा भीमदत्त पन्त (डडेल्धुरा), दुर्गानन्द झा (धनुषा), शमशेरबहादुर खत्री (गुल्मी), रामनाथ दाहाल (झापा), नेत्र घिमिरे (झापा), वीरेन राजवंशी (झापा), कृष्ण कुइँकेल (झापा), नारायणप्रसाद श्रेष्ठ (झापा), ऋषि देवकोटा ‘आजाद’ (सिन्धुली), क्याप्टेन यज्ञबहादुर थापा (ओखलढुङ्गा), भीमनारायण श्रेष्ठ (धनकुटा), राम उपाध्याय (सिरहा), लक्ष्मण उपाध्याय (सिरहा), लीलानाथ दाहाल (ओखलढुङ्गा), खगेन्द्रराज दाहाल (ओखलुढुङ्गा), गोकर्णबहादुर कार्की (ओखलढुङ्गा), रत्नकुमार वान्तवा (इलाम), सूर्यनाथ यादव (सिरहा), हरि नेपाल (ताप्लेजुङ), चन्द्रबहादुर पुरी (सङ्खुवासभा) र चन्द्र डाँगी (झापा) छन् ।

यसैगरी टिम्बुरबोटे र छिन्ताङलगायतका स्थानमा मारिएकालाई सहिद घोषणा गर्ने सम्बन्धमा सुझाव दिन उपप्रधानमन्त्री तथा रक्षामन्त्री भीमबहादुर रावल, उपप्रधानमन्त्री तथा सहकारी विकासमन्त्री चित्रबहादुर केसी, गृहमन्त्री शक्तिबहादुर बस्नेत र सिँचाइमन्त्री उमेश यादव रहेको समिति गठन गरिएको मन्त्री राईले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>