समाचारबुधबार, फाल्गुण १९, २०७२
अदालतद्वारा १७ जनालाई सफाई
रुपन्देहीस्थित देवदह मेडिकल कलेजको निरीक्षणका क्रममा भ्रष्टाचार गरेको भन्दै अख्तियारले मुद्दा दायर गरेका १७ जनालाई विशेष अदालतले सफाई दिएको छ ।
कलेज निरीक्षणका क्रममा देवदह कलेजका तीन, काठमाडौं विश्वविद्यालयका चार र मेडिकल काउन्सिलका १० जना सदस्यले गलत प्रतिवेदन तयार गरी कलेजको सिट संख्या निर्धारण गरिएको भन्दै अख्तियारले हालेको मुद्दाका आरोपीलाई विशेष अदालतले सफाई दिएको हो ।
न्यायाधीश भूपेन्द्रप्रसाद राई, पवनकुमार शर्मा र नरेन्द्र कुमार शिवाकोटीको इजलासले गरेको फैसलामा अख्तियारले बदनियतपूर्ण ढंगबाट टोली खटाई काउन्सिलको निरीक्षण टोलीविरुद्ध प्रतिवेदन बनाएको भनिएको छ ।
सफाई पाउनेमा काउन्सिलका उपाध्यक्ष ए.ई.अन्सारी, सदस्यहरु डा. मनोहर प्रधान, डा. शिवजी पौडेललाइ, डा.अनिल झा, डा. रोशन पिया, डा. निरज पन्त, डा. कूलदीप गोईत, डा. अंकुर साह र अधिकारकर्मी ज्योती बानिया रहेका छन् ।
यस्तै, काठमाडौं विश्वविद्यालयका प्रा.डा. प्रद्युम्न श्रेष्ठ, परिक्षा नियन्त्रक डा. पन्ना थापा, प्रा.डा रमेश प्रसाद सिंह, जगदिश चटौत र देवदह मेडिकल कलेजका निर्देशक रजनिस जिन्दल, अध्यक्ष निलकण्ठ काफ्ले र सञ्चालक हिमलाल ज्ञवाली रहेका छन् ।
चिकित्साशास्त्र अध्ययन संस्थानका सह–प्राध्यापक सतिश कुमार देव र अधिकारकर्मी ज्योती बानियाँले पनि सफाई पाएका छन् ।
अख्तियारले घटनाबारे छानविन गर्न २६ मंसीरमा नेपाल मेडिकल काउन्सिलका सल्लाहकार जगदीशप्रसाद अग्रवाल, काउन्सिलका तत्कालीन अध्यक्ष जागेश्वर गौतम, काउन्सिल रजिष्ट्रार निलमणि उपाध्याय, काउन्सिलका पूर्व सदस्य मोदनाथ मरहठ्ठा र अख्तियारका अनुसन्धान अधिकृत कमल पौडेललाई खटाएको थियो ।
उनीहरुले तयार पारेको प्रतिवेदनलाई आधारमा काउन्सिलको निरीक्षण टोली, विश्व विद्यालय र कलेजविरुद्ध अख्तियारले मुद्दा दायर गरेको थियो ।
रामु सापकोटा
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
