समाचारबिहीबार, फाल्गुण २०, २०७२
कांग्रेस पत्यारिलो बनोसः प्रम ओली
नेपाली कांग्रेसका जारी महाधिवेशनलाई शुभकामना व्यक्त गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली कांग्रेस पत्यारिलो, भरपर्दो र मुलुकको जिम्मेवारी वहन गर्ने गरी बलियो बन्न सकोस् भनेका छन् ।

तस्वीर: रासस
कांग्रेसको १३ औं महाधिवेशन कर्मकाण्ड वा संवैधानिक प्रक्रिया पूरा गर्ने मात्रै नभई लोकतन्त्रको प्रवर्धन, राष्ट्रिय हित र राष्ट्रिय एकताको जिम्मेवारी पूरा गर्नसक्ने गरी नीतिगत र व्यवहारिकरुपमा कांग्रेसलाई तयार पार्नुपर्ने उनले बताए ।
उनले भने, “देशमा लामो इतिहास बोकेको पार्टी नेपाली कांग्रेसले सुझबुझपूर्ण व्यवहार देखाओस्, सबल नेपाली कांग्रेस, इमान-बचनमा अडेको नेपाली कांग्रेस, पत्यारिलो नेपाली कांग्रेस बनोस् ।”
नेपाली समाजलाई आजको आधुनिक युगसम्म ल्याउन नेपाली कांग्रेसका नेता–कार्यकर्ताले धेरै मेहनत र पसिना बगाएको साथै बलिदानी गरेको उनले स्मरण गरे ।
उनले भने, “लोकतन्त्र प्राप्तिको आन्दोलन, जनताको जीवनमा सकारात्मक परिवर्तन ल्याउने आन्दोलनमा नेपाली कांग्रेसका धेरै नेता कार्यकर्ताले जीवन बलिदान गरेका छन् ।”
लोकतन्त्रको संरक्षण र प्रवर्धनका लागि आफ्नो पार्टीले कांग्रेससँग सहकार्य गर्दै आएको र आगामी दिनमा पनि सहकार्य गर्ने उनको भनाई थियो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
