थप समाचारबिहीबार, फाल्गुण २०, २०७२

कांग्रेसका युवा शल्य र गगन थापा (ब्लग)

हिमालखबर

– विश्व पौडेल
नेपाली कांंग्रेसका नेताहरुले सक्रिय सदस्यता कति र क–कसलाई बाँड्ने भन्ने समेत निर्णय गर्नेप्रति लक्षित गर्दै प्रदीप गिरीले भनेका थिए, “कांग्रेसमा पहिला नेताहरु मतदाता छान्छन् र तिनै मतदाताहरुले पछि नेता छान्छन ।”

राजधानीमा युवा शल्यहरु
गाउँगाउँमा संस्थापन पक्ष (त्यसभित्र पनि बेग्लाबेग्लै समूह) र देउबा पक्ष भनेर चुनाव लडेकाहरुलाई पनि महाधिवेशनको संघारमा मिठो आतिथ्य, बोली र आश्वासनले फकाउन निकै प्रयास हुन्छ ।

महाभारतमा दुर्योधनले यसैगरी पाण्डव पक्षका शल्यलाई फकाएका थिए ।

१८ फागुन दिउँसो बानेश्वरको इन्द्रेणी होटल शल्यहरुमय थियो। मध्यस्तरका कांग्रेसी नेताहरु आउँदै विभिन्न स्तरका प्रतिनिधिहरुलाई उनीहरुको गच्छेअनुसार स्वागत गर्दै थिए।

केही प्रतिनिधिहरु भने आफू चुनावमा उठ्न लागेको भनेर आफ्नो कार्यक्रम र परिचय बाँड्दै थिए।

पञ्चायतकालमा ८ वर्ष झ्यालखानामा बसेका चितवनका प्रतक्ष्य निर्वाचित सभासद शेषनाथ अधिकारी केन्द्रीय सदस्यमा लड्ने भन्दै गर्दा उनका दुई पिर थिए– एउटा देउवाको टिममा परिन्छ कि परिंदैन भन्ने र अर्को तीन हजार प्रतिनिधिमध्ये धेरै नयाँ र युवा भएकोले आफुलाई नयाँले नचिन्ने यथार्थ।

उनी मुलुक भित्रका नौला प्रतिनिधिहरुबाट अलमलमा त थिए नै, छेउमा रहेका अमेरिकाबाट आएका कांग्रेसी प्रतिनिधिलाई पनि उनले खुट्याउन सकेनन्।

उनीसँग एकछिन बस्दा कांग्रेसका शल्यहरु युवा छन् जस्तो महसुस हुन्थ्यो।

उता युवा नेताहरुको फुर्ती नै अर्को थियो। प्रदीप पौडेलको बालुवाटारको संपर्क कार्यालयमा २५–३० जना कार्यकर्ताहरु जम्मा भएका थिए।

एक जनाले डेलिगेटहरु बसेको होटलको सूचना ल्यायो र पौडेल तुरुन्त त्यतै भेट्न गैहाले।

यो ब्लग लेखकले कुन कुन जिल्लाका प्रतिनिधि कहाँ बसेका छन भन्ने एक्सेल शिट पनि त्यहाँ देख्यो।

पौडेलमा चुनावको मुखमा हुने स्वाभाविक ‘पर्फर्मेन्स एन्जाइटी’ थियो । उनका कार्यकर्ताहरु भने निश्चिन्त देखिन्थे।

एकजना ‘प्रदीप दाईले कुरो नबिगारे मात्र पुग्छ’ भन्दै थिए ।

गगनको भाषण
गगन थापाको आफ्नो उम्मेदवारी घोषणा गर्दाको अलिखित भाषण संभवत: उनको र कुनै पनि कांग्रेसीको अहिलेसम्मको राम्रो भाषणमध्ये एक थियो।

हार्न बानी नपरेका गगनलाई पछिल्लो समय केही धक्का पनि लागेका छन्। उनीभन्दा वरिष्ठ र उनका समवयी नेता उनलाई रोक्न चाहन्छन् । कतिपय युवा कांग्रेसी नै उनलाई उमेर नपुगेको भन्दै आलोचना गर्छन् ।

त्यसैले गगनका लागि महामन्त्री बन्न सजिलो छैन ।

गगनले आफ्नो भाषणमा मोहन शम्सेरको ‘पुर्पुरोमा लेखेर ल्याए मात्रा शासक हुन पाईन्छ,’ भन्ने उक्तिको सन्दर्भ सकिएको भन्दै आफूमा बीपीको रगत नबगे पनि बिचार बगेको बताए ।

उता पार्टी कार्यालयमा उम्मेदवारी घोषणाका लागि आयोजित कार्यक्रममा महामन्त्रीका अर्का दाबेदार शशांक कोइरालाले केही विशेष भनेनन् ।

उनको अल्छी स्वभाव जगजाहेर नै छ।

‘मेरी आवाज हि मेरी पहचान है’ भन्ने भारतीय गायिका लताले गाएको गीत जस्तै शशांकको थर नै उनको पहिचान हो।

उनी कसैलाई चिढाउन भने चाहँदैनन् । शशांकले जिते भने कांग्रेस ‘स्टाटस को’ अनुरुप चलिराख्छ।

४० वर्षका गगनको जित भईहाल्यो भने त्यसले परिवर्तन ल्याउने नै छ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>