समाचारबिहीबार, फाल्गुण २०, २०७२

कांग्रेस परिवर्तन हुनुपर्छः पौडेल, सबैलाई समेट्नुपर्छः देउवा, पार्टीको समीक्षा गर्नुपर्छः सिटौला

हिमालखबर

उद्‌घाटन सत्रका कांग्रेस नेतालगायत अतिथीहरु । तस्वीरः विक्रम राई

उद्‌घाटन सत्रमा कांग्रेस नेतालगायत अतिथीहरु । तस्वीरः विक्रम राई

काठमाडौंको खुल्लामञ्चमा भएको १३औं महाधिवेशनको उद्घाटन सत्रलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका नेताहरुले पार्टी परिवर्तन आवश्यक रहेको बताएका छन् ।

कार्यबाहक सभापति रामचन्द्र पौडेल, बरिष्ठ नेता शेरबहादुर देउवा, महामन्त्रीद्वय प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलालगायतले संविधान कार्यान्वयन गर्न सक्ने पार्टी बनाउनुपर्ने बताए । कांग्रेसको अागामी कार्यभार र समीक्षामा खासै फरक अभिव्यक्ति नदिएका नेताहरुले आफ्नो उम्मेदवारी पुष्टि गर्नेमा जोड दिएका थिए ।

कार्यबाहक सभापति रामचन्द्र पौडेलले मुलुक परिवर्तन गर्न कांग्रेस आफैं परिवर्तन हुनुपर्ने बताए । उनले देशलाई परिवर्तन गर्न, बचाउन र समृद्ध बनाउन आफैं परिवर्तन हुनुपर्ने बताए ।

पौडेले कांग्रेसमा नेता कार्यकर्ताको उचित मूल्याङ्कनको हुन आवश्यक रहेकामा जोड दिँदै भागबन्डाका आधारमा होइन कामका आधारमा मूल्याङ्कन हुनुपर्ने बताए । उनले भने, “हाम्रो राजनीति राष्ट्रको सेवाका लागि हो ।”

बरिष्ठ नेता शेरबहादुर देउवाले संविधान जारी भइसकेकाले कार्यान्वयनमा जोड दिनुपर्ने बताए । उनले समावेशी लोकतन्त्र सापेक्ष कांग्रेस बन्नुपर्ने बताए ।

देउवाले भने, “बीपीको सपनाअनुसार संविधान ल्याइसकेका छौं, अव कार्यान्वयनको चुनौति छ ।” उनले मधेशी, जनजाति, महिला, दलित सवैको पार्टी कांग्रेस बन्नुपर्ने बताए ।

महामन्त्री प्रकाशमान सिंहले पार्टी प्रतिकूल अवस्थामा पनि सिद्धान्त र आदर्शप्रति प्रतिबद्ध रहेकाले ठूला परिवर्तनको नेतृत्व गर्न सफल भएको बताए । उनले भने, “यो महाधिवेशनले समयको हाँकलाई लैजान सक्ने पार्टीको नीति र कार्यक्रम बनाउनुपर्छ, संस्थापक नेताको नाम भजाएरमात्र जनताले कांग्रेसलाई पत्याउँदैनन् ।”

महामन्त्री कृष्णप्रसाद सिटौलाले पार्टीलाई एक पटक समिक्षा गर्नुपर्ने बेला आएको बताए । शान्ति प्रक्रिया र संविधान जारी गर्दाको भूमिका उल्लेख गर्दै भने, “सानो छाती बनाएर देश बनाउन सकिदैन ।” उनले अवको नेतृत्व देश बनाउनसक्ने हुनुपर्ने बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>