सम्पादकीयआइतबार, फाल्गुण २३, २०७२
विवेकको प्रयोग गर (सम्पादकीय)
हाम्रो विचारमा, १३औं महाधिवेशनले कांग्रेसका लागि माग गरेको भनेको यसको पारम्परिक चरित्रसहित २०६२/६३ सालको राष्ट्रिय राजनीतिमा आएको परिवर्तनलाई सम्वद्र्धन गर्न सक्ने नेतृत्व हो, जुन पक्ष–विपक्ष र गुट–उपगुटभन्दा माथि उठेर प्रत्येक प्यानलभित्रका अनुहार नियाल्दा पाउन सकिन्छ ।
देशको सबभन्दा पुरानो र व्यवस्थापिका संसद्भित्रको ठूलो दल नेपाली कांग्रेस यतिखेर १३औं महाधिवेशन सम्पन्न गर्ने चरणमा छ । आगामी कार्यकालका लागि नीति तय र त्यसलाई कार्यान्वयन गर्न सक्ने गरिको नेतृत्व चयन गर्ने हुनाले लोकतान्त्रिक दलहरूका लागि महाधिवेशनले ठूलो महत्व राख्छ ।
प्रजातन्त्र प्राप्तिको संघर्षको नेतृत्व गरेको कांग्रेस आजपर्यन्त लोकतान्त्रिक आन्दोलनको नेतृत्वमा रहन सफल पनि भएको हो, विभिन्न कालखण्डका महाधिवेशनमार्फत यसले लिएका नीति र चयन गरेका नेतृत्वबाटै ।
‘संवैधानिक राजतन्त्र र संसदीय प्रजातन्त्र’ को नीति लिने बीपी हुन् वा ‘संघीय लोकतान्त्रिक गणतन्त्र तथा संसदीय प्रजातन्त्रतर्फ अगाडि बढेका गिरिजाप्रसाद कोइराला, नीति र नेतृत्वको सामञ्जस्यताबाटै यो पार्टी यहाँसम्म आइपुगेको हो । नीति र नेतृत्वको बेमेलकै कारण दुई सभापति मातृकाप्रसाद कोइराला र सुवर्णशमशेर राणा कार्यकाल नसकिंदै बाहिरिनु परेको पनि कांग्रेसमै हो ।
जबकि, बीपी कोइरालाले पार्टी स्थापनाकालमा लिएको नीतिमै रहेका कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसादको अनुसरण गरेका सुशील कोइरालाले आफ्नो कार्यकाललाई सफल बनाए, भलै पार्टी व्यवस्थापनलाई लिएर केही विवाद भएको होस् ।
प्रजातन्त्रमाथि राजाबाट पटक–पटक भएको प्रहार र मुलुकमा भड्किएको माओवादी हिंसाको समाप्तिका लागि संवैधानिक राजतन्त्र छाडेर लिएको संघीय गणतन्त्रको नीतिमै दुई–दुई वटा कार्यकाल विताइसकेको कांग्रेसले आफ्नै नेतृत्वको सरकार हुँदा संविधानसभामा संविधान निर्माण गरेर कार्यान्वयनको चरणमा पुर्याएको छ । करीब दुई दशकबाट संस्थापन र असन्तुष्ट खेमामा विभक्त कांग्रेस पार्टी पंक्तिभित्र पछिल्लो नीतिका आलोचकहरू अवश्य छन्, तर दुवै खेमाको सहमतिमा गणतन्त्रको पछिल्लो नीति संस्थागत भएको बिर्सन मिल्दैन ।
लगभग स्थापनाकालबाटै बीपी कोइराला, कोइराला परिवार पक्षीय अन्यसहितको संस्थापन र कोइराला नेतृत्वप्रति असन्तुष्टहरूबीचको टकरावबाट परिपक्व हुँदै आएको नेपाली कांग्रेसको कमान पार्टीको इतिहासमै पहिलोपटक ‘कोइराला’ बाहिर जाने आकलन छ ।
असन्तुष्ट समूहका पछिल्ला नेता शेरबहादुर देउवालाई जुरेको यो अवसरलाई ‘ऐतिहासिक परिवर्तन’ का रूपमा अथ्र्याउने कांग्रेसजनको कमी छैन । दुई खेमामा बाँडिएर नेतृत्व दाबी गरिरहेको संस्थापन पक्षमध्येका एक रामचन्द्र पौडेल समूह– कोइराला निवासको दोस्रो पुस्ताको सहयोगमा आफूलाई वास्तविक संस्थापन बताउँदै आएको छ ।
आजीवन कोइराला विरोधी खेमामा रहेर राजनीति गरेका पौडेललाई जुरेको यो अवसरलाई पार्टी नेतृत्वमा कोइरालाहरूको पुनरागमनको तयारीको संंक्रमणका रूपमा अथ्र्याउने कांग्रेसजनको पनि कमी छैन । यो समूहबाट बीपी पुत्र शशांक कोइराला महामन्त्रीको प्रत्यासी छन् । अर्को महाधिवेशनमा उनैले पार्टी नेतृत्वमा कोइराला परिवारलाई पुनः स्थापित गर्ने संस्थापन पक्षको विश्वास छ ।
तत्कालीन विद्रोही नेकपा माओवादीसँगको बहुचर्चित १२ बुँदे सहमति र गणतन्त्रको नीति कार्यान्वयनदेखि संघीय लोकतान्त्रिक संविधान निर्माणसम्मको चरणमा दुई सभापति गिरिजाप्रसाद र सुशील कोइरालाका मुख्य सहयोगी रहेका कृष्णप्रसाद सिटौलाको अर्को समूह खडा छ, जो त्यो सक्रियताले आफूलाई वास्तविक संस्थापन र पछिल्लो नीतिको सच्चा अनुयायी सावित गरेको ठान्छ ।
आन्दोलनबाट उठेका युवा नेता गगन थापा महामन्त्रीको प्रत्यासी भएकोले यसलाई आमूल परिवर्तनकारी समूह मान्ने कांग्रेसजन पनि धेरै देखिएका छन् । शुक्रबार राति अबेरसम्म कायम यी तीन प्रत्यासीमध्येका एक समूहले आगामी पाँच वर्षका लागि कांग्रेसको कमान सम्हाल्ने छन् ।
यद्यपि, देशभरका ३ हजार २१८ महाधिवेशन प्रतिनिधिका लागि ऐतिहासिक परिवर्तन र संक्रमणकालीन राजनीतिको नेतृत्व गरेको कांग्रेस पार्टीको भावी नेतृत्व चयन कम सकसपूर्ण छैन, पार्टीको एकता र सुदृढ सञ्चालन जस्ता कुरा त्यसैमा निर्भर हुने भएकोले ।
नीतिगत रूपमा कुनै भिन्नता नभएका तीन समूह महाधिवेशन प्रतिनिधिहरूबीच चलायमान छन् । हरेक साँझ्–बिहान फरक परिरहेको समर्थक संख्या सम्भवतः मतपेटिकासम्म नपुगेसम्म स्थिर हुने छैन ।
कांग्रेसको इतिहासले भन्छ– सशस्त्र क्रान्तिबाट राष्ट्रिय मेलमिलापतर्फ होस् वा प्रजातन्त्र पुनर्बहालीका लागि वामपन्थीहरूसँगको सहकार्य वा संवैधानिक राजतन्त्रबाट संघीय गणतन्त्रतर्फको अग्रसरता, यो पार्टीले ऐतिहासिक परिवर्तन, संक्रमणकालीन नेतृत्व र आमूल परिवर्तन– तीन वटै परिस्थितिमा नेतृत्वदायी अनुभव हासिल गरेको छ ।
यसरी एउटै नीतिमा बाँधिएका तीनथरी प्रत्यासीमध्येबाट एकलाई नेतृत्वमा उठाउने परिस्थितिमा कांग्रेसजन पहिलोपटक पुगेका छन् । यो अवस्थामा उनीहरूले मनन् गर्नुपर्ने कुरा हो– परिवर्तन आजको राष्ट्रिय राजनीतिको यथार्थ हो भने परम्परा कांग्रेस पार्टीको चरित्र । र, आफ्नो विगतप्रतिको गर्व यो पार्टीको विशेषता हो । त्यहीकारण, पार्टी जीवनमा बीपी कोइराला आजपर्यन्त त्यत्ति नै छाउन सफल छन्, जति सातदशक अघि छाएका थिए ।
यसर्थ हाम्रो विचारमा, १३औं महाधिवेशनले कांग्रेसका लागि माग गरेको भनेको यसको पारम्परिक चरित्रसहित २०६२÷६३ सालको राष्ट्रिय राजनीतिमा आएको परिवर्तनलाई सम्वद्र्धन गर्न सक्ने नेतृत्व हो, जुन पक्ष–विपक्ष र गुट–उपगुटभन्दा माथि उठेर प्रत्येक प्यानलभित्रका अनुहार नियाल्दा पाउन सकिन्छ ।
त्यस्तो परिष्कारले मात्र एउटा प्यानललाई नै आफ्नो ‘स्व’ मान्दा पार्टीकै सर्वस्व हुने खतराबाट जोगाउँछ । त्यसका लागि सम्पूर्ण महाधिवेशन प्रतिनिधिले गर्नुपर्ने काम एउटै छ– विवेकको प्रयोग ।