थप समाचारआइतबार, फाल्गुण २३, २०७२
यस्ता छन् नेतृत्वका दाबेदार
काठमाडाैमा जारी नेपाली कांग्रेसकाे १३अाैं महाधिवेशनमा सभापति पदका लागि रामचन्द्र पाैडेल, शेरबहादुर देउवा र कृष्णप्रसाद सिटाैलाबीच त्रिपक्षीय प्रतिश्पर्धा भइरहेकाे छ । सभापति पदका दावेदार पाैडेल, देउवा र सिटाैलाकाे चुनाव जित्ने अाधार र हार्ने कारण भने यस्ताे छ ।
रामचन्द्र पौडेल (७१)
२००१ सालमा तनहुँको रिस्तीमा जन्मिएका रामचन्द्र पौडेल शुरूमा कम्युनिष्ट छात्र संगठन ‘नेपाल विद्यार्थी फेडरेशन’ मा आबद्ध भए । पञ्चायतविरोधी संघर्षका क्रममा २०१९–२० सालतिर नेपाली कांग्रेस निकट छात्र संघमा लागेर पछि नेपाल विद्यार्थी संघको संस्थापक सदस्य भएर कांग्रेस राजनीतिमा होमिए । बीपी कोइरालाले भनेका ‘संभावनायुक्त पाँच युवक’ मध्येका एक मित्रलाल पाठकको निधनपश्चात् स्नातकोत्तर पौडेलले उनको स्थान लिए ।
बीपीको निधन पश्चात् ‘नेता त्रय’ को अवधारणामा चलेको कांग्रेसभित्र रामचन्द्र पौडेल, शेरबहादुर देउवा र शैलजा आचार्य ‘आरएसएस’ एक्रोनेमबाट चर्चित थिए ।
२०४८ सालको आम निर्वाचनपछि बनेको सरकारमा स्थानीय विकास तथा कृषिमन्त्री र २०५१ को मध्यावधि निर्वाचनपछि प्रतिनिधिसभाको सभामुख बनेका पौडेल २०५६ को आम निर्वाचनपछि उपप्रधान एवम् सञ्चारमन्त्री र लगत्तैको मन्त्रिपरिषद्मा उपप्रधानसहित गृहमन्त्री भए । २०६२/६३ को जनआन्दोलनपछिको सरकारमा भने उनी शान्ति तथा पुनःनिर्माणमन्त्री बने ।
२०४८ यताका सबै आम निर्वाचन जितेका पौडेल समकक्षीहरूका नजरमा कांग्रेसभित्रका ‘भाग्यमानी’ नेतामध्ये पर्छन् । माधवकुमार नेपाल नेतृत्वको सरकार विघटनपछिको प्रधानमन्त्री निर्वाचनमा भने उनी १७औं पटकसम्म पराजित भए ।
कांग्रेसमा गुटबन्दी नगर्ने ‘मध्यमार्गी’ धारका नेताको परिचय बनाएका पौडेल आफूलाई समाजवादका अनुयायीका रूपमा उभ्याउन सफल छन् । यद्यपि, कांग्रेसमा गुटबन्दी गर्न नसक्नु नै उनको अक्षमता पनि बन्यो ।
अहिले सभापति पदका प्रत्यासी शेरबहादुर देउवाले २०५९ सालमा पौडेलले नै पार्टी विभाजन गर्न आफूलाई उक्साएर अन्तिम घडीमा धोका दिएको आरोप लगाउँदै आएका छन् । पौडेलले २०५७ को होलेरी काण्डपछि गृहमन्त्रीबाट राजीनामा गरेर प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालालाई संकटमा पारेको र त्यहींबाटै लोकतन्त्रमाथि संकट आएको ठान्ने कांग्रेसजन पनि धेरै छन् ।
स–साना कुराबाट तरंगित भइहाल्ने स्वभावका पौडेलबाट आफ्नो राजनीतिक सुरक्षा नहुने ठान्ने नेता–कार्यकर्ता कांग्रेसमा मनग्य छन् । उनीहरूको बुझइमा, कांग्रेसभित्र पौडेल ‘सेकेण्ड म्यानका लागि उत्तम नेता’ हुन्, यद्यपि लोकतन्त्रप्रतिको निष्ठा उनको पूँजी मानिन्छ ।
शेरबहादुर देउवा (६९)
डडेल्धुराको असीग्राममा २००३ सालमा जन्मेका शेरबहादुर देउवा त्रिभुवन विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र कानूनमा स्नातक हुन् । उनी नेपाल विद्यार्थी संघको संस्थापक सदस्य र पछि अध्यक्ष भएर कांग्रेस राजनीतिमा होमिए ।
२०४४ सालमा बेलायतको ‘लण्डन स्कूल अफ इकोनोमिक्स’ मा राजनीतिशास्त्रका ‘रिसर्च फेलो’ भएका देउवा २०४६ को परिवर्तनपश्चात् २०४८ सालको कांग्रेस नेतृत्वको सरकारमा गृहमन्त्री बने ।
बीपीले ‘सम्भावनायुक्त गुड ब्वाइ’ भनेका देउवा कोइराला परिवारसँगको निकट सम्बन्धकै सिंढी चढेर २०५२–६१ को अवधिमा तीनपटक प्रधानमन्त्री बने । पोखरा महाधिवेशनमा गिरिजाप्रसाद कोइराला विरुद्ध सभापतिमा उम्मेदवारी दिएका उनले त्यसयता संस्थापन विरोधी खेमाको नेतृत्व गरेका छन् ।
२०५९ सालमा संसद् विघटन गरेर ‘प्रजातन्त्रलाई दरबारमा बुझएको’ आरोप खेपेका देउवाले त्यसलगत्तै पार्टी विभाजन गरेर कांग्रेसभित्रको रडाकोलाई उत्कर्षमा पुर्याए । २०६१ मा राजा ज्ञानेन्द्रले सरकार अपदस्थ गरेर प्रधानमन्त्री देउवालाई ‘अक्षम’ भन्दै १० महीना नजरबन्द गरे ।
२०४८ यताका सबै संसदीय र संविधानसभा निर्वाचन जितेका देउवामाथि २०६२÷६३ को आन्दोलनपछि मूल कांग्रेसमा फर्केर ६०ः४० को भागबण्डे राजनीतिलाई संस्थागत गरेको आरोप पनि लाग्ने गरेको छ । उनी आफ्नो राजनीतिक जीवनका तीनदशक कोइराला परिवारनिकट रहे ।
पछि तिनै कोइरालाले नेतृत्व गर्ने कांग्रेस संस्थापनका विरोधीहरूलाई संगठित गर्दै तेस्रो पटकमा पार्टी सभापति हुने अवस्थामा पुगेका छन् । उनले पार्टी विभाजनपछि गरेको समावेशीकरणको आन्तरिक अभ्यास अहिले नेपाली राजनीतिको अभिन्न अंग बनेको छ ।
देउवालाई निर्णय क्षमता र राजनीतिक इमान भएको नेता मानिन्छ । यस्तो जससँगै पछिल्लो डेढ दशक पार्टीमा ‘स्थायी प्रतिपक्ष’ भएर नेपाली कांग्रेससँगै मुलुकको राजनीतिक विकासमा बाधा पु¥याएको, सुशासनलाई कमजोर पारेको लगायतका आरोप पनि लाग्दै आएको छ, देउवामाथि ।
कृष्णप्रसाद सिटौला (६६)
तेह्रथुमको संक्रान्तिमा २००६ सालमा जन्मेका कृष्णप्रसाद सिटौला त्रिचन्द्र क्याम्पसबाट बीएस्सी गरेर झापाको *बिर्तामाेडस्थित महेन्द्ररत्न माविमा तीन वर्ष पढाउँदासम्म वामपन्थी राजनीतिमा झुकाव राख्थे । जिल्ला शिक्षा कार्यालयले प्रधानाध्यापक बनाउन नमानेपछि २०३२ मा फेरि काठमाडौं आएका उनी कानूनमा स्नातक गरेर झपा फर्किए ।
त्यसपछि वकालतसँगै २०३६ को जनमत संग्रहताका कांग्रेस राजनीतिमा होमिएका सिटौलालाई झपा कांग्रेसका तत्कालीन सभापति पूर्णानन्द शर्माले २०३८ सालमा क्रियाशील सदस्यता दिलाए ।
कांग्रेसको राजनीति थालेको १० वर्षमा जिल्ला सभापति बनेका उनलाई २०५० को संसदीय उपनिर्वाचनले केन्द्रमा चिनायो । मेची अञ्चलका १२ वटै निर्वाचन क्षेत्रमा जितेको नेकपा (एमाले) का झपा–१ का सांसद् द्रोणप्रसाद आचार्यको निधनपछि भएको उपनिर्वाचनमा सिटौला विजयी भएका थिए ।
खटेर नेता–कार्यकर्ताको मन जित्न सक्ने सिटौला २०५६ को संसदीय निर्वाचनमा विजयी भएपछि पार्टी सभापति गिरिजाप्रसाद कोइरालाको नजिक भएर राष्ट्रिय राजनीतिको केन्द्रमा रहे । शक्तिशाली सभापति कोइरालाको ‘प्रक्रिया होइन परिणाम खोज्ने’ शैलीका लागि विश्वासिलो सहयोगी भएका उनले हिंसात्मक आन्दोलनरत नेकपा (माओवादी) लाई शान्तिप्रक्रियामा ल्याउने १२ बुँदे समझ्दारी गराउनेदेखि संविधान निर्माणसम्मको काममा महŒवपूर्ण भूमिका खेले । उनको खूबी बुझ्ेर गिरिजाप्रसादले २०६३ को संयुक्त सरकारमा गृहमन्त्री बनाए ।
पहिलो संविधानसभा निर्वाचनताका सफल गृहमन्त्री बनेका सिटौला कांग्रेसको १२औं महाधिवेशनपछि पार्टी महामन्त्रीमा मनोनीत भएर आफ्नो संजाललाई देशव्यापी बनाए ।
दोस्रो संविधानसभामा संविधान मस्यौदा समितिका सभापति र अन्तरपार्टी संवादहरूको मुख्य सदस्यका रूपमा सक्रिय भएका उनले गिरिजाप्रसादपछि सुशील कोइरालाको पनि नजिक रहेर कांग्रेस संस्थापनलाई सहयोग गरे । १३औं महाधिवेशनमा आइपुग्दा उनी कांग्रेस सभापतिको दाबेदार बनेका छन् ।
९ वर्षकै उमेरमा आमा गुमाएपछि दाजु–भाउजूको रेखदेखमा हुर्किएका सिटौला बाहिर जति सामान्य र सहज देखिन्छन्, भित्रभित्रै विरोधीलाई प्रहार गर्न उति नै कडा मानिन्छन् । सामान्य पहिरनमा रहने सात्विक सिटौला जय गुरुदेवका नामले चिनिने भारतका तुलसीदास महाराजको पन्थका दीक्षित हुन् ।
*सच्याइएकाे