अन्तर्वार्ता/विचारआइतबार, फाल्गुण २३, २०७२

का‌ंग्रेस महाधिवेशनः देउवाको पल्ला गह्रौं

हिमालखबर

नेपाली कांग्रेसको सभापतिमा रामचन्द्र पौडेलको सन्देश तलसम्मका प्रतिनिधिमा पुगेकै थिएन ।

–पुरञ्जन अाचार्य

–पुरञ्जन अाचार्य

संस्थापन समूहबाट सभापतिका लागि तयार भएका सुशील कोइरालाको अचानक देहावसान भएपछि त्यसमा रामचन्द्र पौडेललाई स्वीकार्य बनाइए पनि उनका लागि तलैबाट प्रतिनिधि चयन भएका छैनन् । २५ माघ अगाडि संस्थापन खेमाका सबै प्रतिनिधि सुशीलका नाममा चयन भएका थिए ।

रामचन्द्र कुनै गुटको नेता होइनन् । शशांक कोइराला परिवारको उत्तराधिकारीका रूपमा महामन्त्रीका उम्मेदवार भएका हुन् । हिजो सुशीलसँग लागेर पौडेलको विरोध गर्ने शशांक नै आज पौडेललाई संस्थापनको नेता मानेर कोइराला परिवारको विरासत जोगाउन महामन्त्रीका लागि तम्सिएका छन् ।

देउवालाई सहजता !
प्रतिनिधि चयन या संस्थापन (सुशील) या त देउवा समूहका नाममा भएका थिए । सुशीलका नाममा चयन भएका प्रतिनिधिहरू उनको देहावसानपछि छिन्नभिन्न जस्तै भएका छन् । त्यसलाई एकत्रित गर्ने चुनौती तीन कोइराला (शशांक, शेखर र सुजाता) मा छ । पूर्वाञ्चलबाट चुनिएका संस्थापन खेमाका धेरै प्रतिनिधि काठमाडौं आएपछि देउवातिर लागेका छन् । यो चुनौतीको सामना कोइरालाहरूको समीकरणले गरिरहेको छ ।

deubaयसरी पौडेलभन्दा देउवा सहज स्थितिमा छन् । एक वर्ष अघिदेखि नै सभापतिको तयारीमा लागेका देउवाको पक्षमा अघिल्लो महाधिवेशनको तुलनामा प्रतिनिधि बढेका देखिन्छन् । देउवाले पहिल्यैबाट हाँक्दै आएको समूहमा कोइरालाहरूसँग असहमत ठूलो संख्या छ । कोइराला समूहबाट पछिल्लो समय उछिट्टिएकाहरू पनि त्यहीं पुगेका छन् ।

देउवाको छत्रछायाँमा उपगुटले संरक्षण पाउँछ भनेर पनि त्यहाँ पुग्नेको संख्या बढेको छ । केही पुराना त्यागी र गणतन्त्र नरुचाएका नेताहरू पनि त्यहीं छन् । संस्थापन समूहका प्रतिनिधिहरू चाहिं सभापति कसलाई छान्ने भन्ने अलमलमै छन्, अझैं ।

संस्थापनकै ‘बी’ समूहका रूपमा खडा कृष्णप्रसाद सिटौला र गगन थापाहरूको समूह मुद्दा र राजनीति दुवै हिसाबले पछिल्लो दशकको सक्रिय समूह हो । तीन समूहमध्ये राजनीतिक रूपमा ‘सोलिड’ र ‘फ्रेस’ यही समूह छ । ‘सेन्टर टु दी लेफ्ट’ यो समूहसँग मुद्दा छ । मुद्दा कार्यान्वयनको तहमा पनि सक्रिय समूह हो, यो । यति हुँदाहुँदै पनि सबभन्दा कमजोर समूह पनि यही हो ।

उता देउवा समूहमा पहिलो पुस्ताका ‘सेन्टर टु राइट’ नेता धेरै छन् देखिन्छन् । विरासत–विरासत भनिरहेका ‘सेन्टर टु लेफ्ट’ पौडेल सुधारवादी कुरा गर्छन् भने उनका महामन्त्रीका उम्मेदवार शशांक ‘एक्स्ट्रिम राइट’ पथका । गणतन्त्र, संघीयता र धर्मनिरपेक्षतामै पुनर्विचार हुनुपर्छ भन्ने उनको विचार छ ।

संस्थापन भनिने पौडेल समूहमा कृष्ण सिटौला, अर्जुननरसिंह केसी, गगन थापा कसैले पनि ठाउँ पाएनन् भन्ने सन्देश गएको छ । वास्तवमा संस्थापनको नाममा चलाइरहेको गिरोहले संस्थापनलाई बन्नै दिंदैन । त्यहाँ ‘कन्जरभेटिभ’ हरूको पर्खाल छ । त्यसले गर्दा गगन र सिटौलाहरूलाई अप्ठ्यारो भयो ।

महाधिवेशनबाट विजयी नै भयो भने कांग्रेसको यो संस्थापन कालान्तरमा वागमती र गण्डक क्षेत्रमा केन्द्रित हुनेछ । यसमा समावेशीपन पनि देखिदैन ।
पौडेल समूहबाट सार्वजनिक नामहरू अत्यन्त ‘कन्जरभेटिभ’ देखिन्छ ।

यो समूह कोइराला परिवार र काठमाडौंकेन्द्रित देखिन्छ । त्यहाँ मधेशी, महिला, आदिवासी जनजाति, दलितलगायतको पहुँच एकदम कमजोर हुँदैछ । देशको ‘मूड’ हेर्दा संस्थापन समूहले गम्भीर पुनर्विचार गर्नुपर्ने देखिन्छ । बरु यसमा देउवाको समूह केही राम्रो देखिन्छ । त्यसको असर ‘भोटिङ प्याटर्न’ मा देखिनेछ ।

‘कम्फर्टेबल’ शशांक !
पौडेल समूहबाट प्रभावकारी चाहिं कोइरालाहरू नै हुन्छन्, खासगरी विराटनगरका कोइराला परिवार । विराटनगरसँग सम्बन्ध टुटिसके पनि शशांकसँग बीपी कोइरालाको लिगेसी छ । शेखर र सुजातासँग चाहिं विराटनगरको लिगेसी छ ।

त्यहीकारण शशांकलाई कोइराला परिवार मिलाउने बाध्यता आइलागेको हो । यसमा सफल भएकोले महामन्त्रीमा उनको दावा अरूको भन्दा ‘कम्फर्टेबल’ मा देखिन्छ । उनीसँग पारिवारिक विरासत पनि छ, अर्को उनका प्रतिस्पर्धी पारिवारिक रूपमै विभाजित छन्, देउवा समूहबाट महामन्त्रीका प्रत्यासी अर्जुननरसिंह केसीलाई जुन ढंगले प्रतिनिधि चुनिएर आए, त्यसको लाभ छैन ।

अर्को, कांग्रेसमा आन्दोलनबाट आएका गगन थापा जस्ता थुप्रै ऊर्जावान् युवा नेता हराएका छन् । ‘मास बेस्ड’ भनिए पनि कांग्रेस अहिले कम्युनिष्ट शैलीकै ‘क्याडर बेस्ड’ पार्टी हुनपुगेको छ । आर्थिकसँगै व्यक्तिगत मानसम्मान र प्रतिष्ठामा रुचि हुने कार्यकर्ताले ‘मास’ मा प्रभाव भएका नेतालाई हत्तपत्त छान्दैनन् । त्यो प्रवृत्तिले गगनलाई सहज नपार्न सक्छ । क्रियाशील सदस्यहरूबाट छानिएर आएका प्रतिनिधिहरूले पार्टीको मुख्य शक्तिकेन्द्र को हो भनेर हेर्छ । यो पंक्तिले शशांकलाई ‘क्रस’ गरेर अरूलाई भोट नहाल्ने सम्भावना बढी छ ।

‘कन्स्पिरेसी थ्यौरी’
कांग्रेसको नेतृत्वमा देउवालाई ल्याउन भारतले सहयोग गर्दैछ भन्ने चर्चा पनि चलाइएको छ । मुलुकका प्रमुख पदहरूमा कम्युनिष्टहरूले कब्जा गरे भन्ने चर्चा यही हल्लासँग जोडिएर आउँछ । यसबाट भारत समेत त्रसित देखिन्छ ।

अर्को, भूराजनीतिको कारणले पनि भारत त्रसित छ । किनभने यहाँ ‘चाइना फ्रेन्ड्ली’ समीकरण बनेको छ भन्ने भारतलाई परेको छ । संविधानमा ‘हिन्दूराष्ट्र’ नभएपछि नेपाल ‘¥याडिकल कम्युनिष्ट पथमा गयो’ भन्ने उसलाई परेको देखिन्छ ।

अहिले महाधिवेशन प्रतिनिधिहरूको ठूलो संख्यामा हामी पार्टी सभापति मात्र हैन, भावी प्रधानमन्त्री पनि छान्दैछौं भन्ने मनोविज्ञान झ्ल्किन्छ । यसलाई भूराजनीतिसँग जोडेर हेर्दा त्यो उद्देश्य प्राप्तिका लागि देउवा नै प्रभावकारी उम्मेदवार हुनसक्छन् भन्ने भारतको सोच हुनसक्ने देखिन्छ ।

वास्तवमा यो ‘कन्स्पिरेसी थ्यौरी’ हो । संविधान निर्माणका क्रममा मधेश र थारूका मुद्दाप्रति कठोर देखिएका देउवाले ‘कोर मधेश’ भनिने प्रदेश नम्बर २ बाट धेरै प्रतिनिधि ल्याएका छन् । त्यो स्वाभाविक प्रक्रिया मात्रै होला त ?

(वार्तामा आधारित)

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...