Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
कांग्रेस महाधिवेशनः कुम्भको सौन्दर्य - Himalkhabar.com

टिप्पणीआइतबार, फाल्गुण २३, २०७२

कांग्रेस महाधिवेशनः कुम्भको सौन्दर्य

शंकर तिवारी

संविधानसभाबाट संविधान जारी गरेको श्रेयका साथ महाधिवेशनमा जुटेको नेपालको सबभन्दा ठूलो दल नेपाली कांग्रेसप्रति नेपालीको एउटा ठूलो हिस्साको आशा र छरछिमेकका साथै बाँकी संसारको रुचि केन्द्रित छ ।

_MG_7725

नेपाली कांग्रेस पार्टीको १३औं महाधिवेशन उद्घाटन समारोहमा शुभकामना मन्तव्य दिने क्रममा सोसलिष्ट इन्टरनेशनलका महासचिव लुई आयलाले ‘यो महाधिवेशन अन्तर्राष्ट्रिय समाजवादी आन्दोलनका लागि दिशानिर्देशक हुने’ बताए । कांग्रेस अधिवेशनको महत्व दर्शाउन यो भनाइ पर्याप्त छ । नेपाली राजनीतिको दिशा र दशा बदल्न सक्ने कांग्रेस पार्टीको सामथ्र्य बुझेकाहरुले कांग्रेसजनको यो विशाल कुम्भ मेलालाई सुरुचिपूर्वक हेरिरहेका छन् ।

२० वर्षलाई एउटा पुस्ता मान्ने हो भने नेपाली कांग्रेसमा तीन पुस्ताले लगानी गरेको छ । जसरी हिन्दूस्तानलाई अंग्रेजबाट आजाद बनाउन भारतीय राष्ट्रिय कंग्रेस पार्टीलाई ६/७ दशक लाग्यो, त्यसैगरी नेपालमा नेपाली कांग्रेसलाई राजनीतिक आन्दोलनको सर्वोच्च उपलब्धि गणतन्त्र हासिल गर्न त्यति नै समय लाग्यो ।

पहिलो संविधानसभा निर्वाचनमा द्वितीय स्थानमा खुम्चिंदा नेपाली कांग्रेस पार्टीको औचित्य सकिएको दाबी गर्नेहरूको कमी थिएन, तर दोस्रो संविधानसभा निर्वाचनमा स्थिति उल्टिएर लोकतन्त्र संस्थागत गर्ने ऐतिहासिक अभिभारा पायो । संविधानसभाबाट संविधान जारी गर्ने आफ्नो स्थापनाकालीन ‘अजेण्डा’ पूरा गरेपछिको यो पहिलो महासम्मेलन हो, कांग्रेसको । संविधान जारी भएपछि महाधिवेशन गर्ने ठूलो पार्टी पनि कांग्रेस नै भएको छ ।

२०४६ पछिको खुला परिवेशमा जन्मेको पुस्ताले कांग्रेस पार्टीको ऐतिहासिक विरासत थाहा पाउने अपूर्व अवसर हो, यो । यो पुस्तालाई पार्टीको औचित्य सम्झाउने, बुझउने समय पनि यही हो । किनकि, नेपाली लोकतन्त्र टिकाउने, संविधानसभाबाट बनेको संविधान जोगाउने ल्याकत यो पुस्ताले राख्छ । तीव्र गतिमा मध्यम वर्गमा रूपान्तरित भइरहेको यो पुस्तामा पार्टीको पकड दह्रो हुँदा कांग्रेसको भविष्य सुरक्षित रहन्छ । १३औं अधिवेशनको पहिलो र महत्वपूर्ण सौन्दर्य यही हो ।

नेतृत्व चयनको पारदर्शी प्रक्रिया यो महाधिवेशनको दोस्रो सौन्दर्य हो । २४० निर्वाचन क्षेत्र, भ्रातृ संस्था, प्रवासका जनसम्पर्क समिति तथा शुभेच्छुक संस्थाहरूबाट चयन भएर आएका ३ हजार २१८ जना प्रतिनिधिले नयाँ नेतृत्व छान्नेछन् । महाधिवेशनले दोस्रो पटक ७५ प्रतिशत केन्द्रीय कार्यसमिति निर्वाचित गर्नेछ ।

पुरानो अञ्चल संरचनाको साटो प्रादेशिक संरचना अवलम्बन गरेको यो महाधिवेशनले एक प्रदेशबाट दुई केन्द्रीय सदस्य निर्वाचित गर्दैछ ।

निर्वाचनबाट विजयी हुने पहिलो महामन्त्री प्रकाशमान सिंह थिए । अहिले चर्चित युवा नेता गगन थापाले उम्मेदवारी दिएपछि पार्टी महामन्त्रीको निर्वाचन अझ् चाखलाग्दो भएको छ । यसलाई पार्टी सभापतिको निर्वाचन जति नै महत्वका साथ हेरिएको छ ।

वंश परम्पराबाट दीक्षित पार्टीमा नयाँ पुस्ताको नेतृत्व दाबी आफैंमा नवीन रचनात्मक संघर्षको द्योतक हो । यो महाधिवेशनमा परम्परागत उत्तराधिकारीहरूले आफ्नो योग्यता पुष्टि गर्नुपर्नेछ । उत्तराधिकार वा त्यसबाहिर जहाँबाट आए पनि प्रजातान्त्रिक विधिबाट निर्वाचित नेतृत्वले पार्टीलाई सबल बनाउनेछ ।

देशलाई कुनै परिवारको नियन्त्रणबाट मुक्त गरेको पार्टी पारिवारिक कब्जामा रहनु भनेको आफ्नै इतिहासका प्रति अन्याय भएकोले आगामी दिनमा कांग्रेस पार्टीभित्र निर्वाचन विधिले अझ् महत्व पाउनेछ । १३औं महाधिवेशनले त्यसको ढोका खोलेको मात्र हो । विख्यात राजनीतिशास्त्री/समाजशास्त्री रवर्ट मिसेल्सले भनेको ‘आइरन ल अफ आलिगार्की’ तोडिने सम्भावना देखिनु कांग्रेस पार्टीमा आन्तरिक लोकतन्त्र मजबूत हुने संकेत हो ।

गणतन्त्रको लडाईंमा खारिएको पुस्ताले कांग्रेस पार्टीभित्र गणतन्त्रको शालीन लडाईं लड्नु १३औं महाधिवेशनको तेस्रो सौन्दर्य हो । यो पुस्ताले पारिवारिक उत्तराधिकारीलाई आफ्नो योग्यता पुष्टि गर्न बाध्य पारेको छ । देशको सबभन्दा पुरानो दल भएकोले कांग्रेसमा यस्तो परिस्थिति पैदा भएको हो ।

क्वारेन्टाइन (परीक्षण) अवधि पूरा नभएको भनिएको पुस्ताले पार्टीभित्र नयाँ रक्तसञ्चार प्रवाहित गरेको छ । ‘डेट एक्सपायर्ड’ भएका र ‘क्वारेन्टाइन’ पूरा नभएका भनिएका पुस्ता बीचको लडाईंको संयोजनले नयाँ नेतृत्वलाई गतिशील बनाउने आशा गर्न सकिन्छ । पुस्तान्तरणको यो प्रक्रियाले महाधिवेशनको सौन्दर्यमा रौनक थपेको छ ।

लगालग तीन वटा महाधिवेशन राजधानी काठमाडौंमा गरेर कांग्रेस पार्टीले विकेन्द्रीकरणको भावना आत्मसात् गरेको संकेत भने दिएको छैन । आगामी महाधिवेशनहरू अगाडि पार्टीले यसमा ध्यान दिनुपर्ने देखिन्छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>