समाचारमंगलबार, फाल्गुण २५, २०७२

नवनिर्वाचित कांग्रेस सभापति देउवा को हुन

हिमालखबर

deuba2नेपाली कांग्रेसको १३ औं महाधिवेशनबाट पार्टी वरिष्ठ नेता शेरबहादुर देउवा सभापतिमा निर्वाचित भएका छन् ।

गृहमन्त्री र पटक–पटक गरी तीन पटकसम्म प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिसकेका नेता देउवा विसं २०४८, २०५१ र २०५६ का संसदीय निर्वाचनमा डडेलधुरा जिल्ला क्षेत्र नं १ बाट तथा विसं २०६४ र २०७० मा भएको संविधानसभाको निर्वाचनमा डडेलधुरा क्षेत्रं १ र कञ्चनपुर जिल्लाको क्षेत्र नं ५ बाट विजयी भएका थिए ।

विद्यार्थी आन्दोलनबाट कांग्रेस राजनीतिमा होमिएका देउवा नेपाल विद्यार्थी सङ्घका प्रथम सभापति समेत हुन् । यसअघि पार्टीको ११औँ र १२औँ महाधिवेशनमा समेत देउवा पार्टी सभापति पदको उम्मेदवार थिए ।

विसं २०५१ मा भएको मध्यावधि चुनावपछि उनी कांग्रेसको संसदीय दलको नेतृत्व गर्दै विसं २०५२ मा पहिलो पटक नेपालको प्रधानमन्त्री बनेका थिए ।

विसं २०५९ मा दोस्रो पटक प्रधानमन्त्री भएका देउवा त्यसको दुई वर्षपछि २०६१ सालमा पुनः प्रधानमन्त्री बने ।

कांग्रेसको विभाजनपछि उनी नेपाली कांग्रेस प्रजातान्त्रिकको सभापति बनेका थिए भने नेपाली कांग्रेस र नेपाली कांग्रेस प्रजातान्त्रिकको एकतापछि उनी नेपाली कांग्रेसको वरिष्ठ नेता भए ।

उनको जन्म विसं २००४ जेठ ३० गते रुवाखोला असिग्राम—५ डडेल्धुरामा भएको हो ।

त्रिविबाट राजनीतिशास्त्रमा स्नातकोत्तर र कानुनमा स्नातक उनी लन्डन स्कुल अफ इकोनमिक्सका रिसर्च फेलो रहिसकेका छन् ।
एक छोराका पिता देउवाकी पत्नी डा आरजु अहिले व्यवस्थापिका–सांसद् छिन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>