समाचारबुधबार, फाल्गुण २६, २०७२

बेलायतका राजकुमार ह्यारीको नेपाल भ्रमण तालिका

हिमालखबर

Prince-Harry-Net-Worthबेलायतकी महारानीका तर्फबाट पहिलोपटक नेपालको औपचारिक भ्रमण गर्न लागेका राजकुमार ह्यारीको विस्तृत भ्रमण तालिका बेलायत सरकारले सार्वजनिक गरेको छ ।

नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापनाको द्विशतवार्षिकीको अवसर पारेर राजकुमार ह्यारीले आगामी ६ देखि १० चैतसम्म नेपालको औपचारिक भ्रमण गर्न लागेका हुन् ।

राजकुमार ह्यारी उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापाले ६ चैत साँझ आयोजना गर्ने स्वागत समारोहमा सरिक हुनेछन् ।
उक्त समारोहमा उनले मन्त्रिपरिषद्का सदस्य तथा वरिष्ठ सरकारी अधिकारीसँग भेट गर्ने कार्यक्रम रहेको बेलायती राजदूतावासले जनाएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग उनले ७ चैतमा राष्ट्रपति कार्यालय शीतल निवासमा शिष्टाचार भेटगर्ने कार्यक्रम छ ।
राजकुमार ह्यारीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि भेटवार्ता गर्नेछन् ।

नेपाल बसाइका क्रममा उनले पाटन र भक्तपुरका ऐतिहासिक दरबार क्षेत्रको अवलोकनका साथै भूकम्पबाट प्रभावित ऐतिहासिक स्मारकहरुको पुनर्निर्माणमा भएका प्रगतिबारे जानकारी लिने कार्यक्रम छ ।

त्यसैगरी, भूकम्पपीडितको अस्थायी पुनःस्थापना केन्द्र, सानोठिमी प्राविधिक शिक्षालय, कान्ति बालअस्पतालको पनि उनले अवलोकन भ्रमण गर्नेछन् ।

दूतावासका अनुसार राजकुमार ह्यारीले बर्दिया राष्ट्रिय निकुञ्जको अवलोकन गर्नेछन् भने पोखरास्थित गोर्खा सैनिक क्याम्प पुगेर वीर गोर्खालीप्रति श्रद्धाञ्जलि अर्पण गर्नेछन् ।

राजकुमारबाट हिमालयको दृश्यावलोकन, जलयात्रा तथा पोखराबाट पदयात्रा, भूकम्पबाट पीडित गोर्खा सैनिकका परिवारसँग भेट गर्ने कार्यक्रम पनि रहेको छ ।

त्यसैगरी, १० चैतमा राष्ट्रपति भण्डारी र राजकुमारबाट काठमाडौँमा आयोजना हुने बालिका सम्मेलनको संयुक्तरुपमा उद्घाटन हुनेछ ।

राजकुमार आफ्नो सम्मानमा नेपालका लागि बेलायतका राजदूत रिचर्ड मोरिसले आयोजना गर्ने स्वागत समारोहमा सरिक हुने र समारोहलाई सम्बोधन गर्ने पनि कार्यक्रम रहेको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>