रमझमबुधबार, फाल्गुण २६, २०७२
जुनेली: पात्र र पाठकमाथि अन्याय

पुस्तक: जुनेली
विधा: उपन्यास
लेखक: ब्रजेश
प्रकाशक: बुक–हिल पब्लिकेशन
पृष्ठ: २२३
मूल्य: रु.३९९
यायावरकी पात्र जुनेलीमाथि हदैसम्मको अन्याय भएको पाठकको आरोपको प्रतिफल हो जुनेली– उपन्यासकार ब्रजेशले भनेका छन्।
उपन्यासकारले मानसिक समस्याग्रस्त चिरागले चिकित्सक सेपालिकालाई इमेलमार्फत जुनेली को कथा भन्न लगाएका छन्। कथा भन्ने नौलो शैली छ। सरल छ। तर, कथावाचक चिराग हुन् या उपन्यासकार भन्नेमा पाठक बरोबर अलमलमा परिरहन्छन्।
जुनेली गाउँले युवतीको पीडाको कथा हो, जो जीवनभर हिंसामा परिरहन्छे। प्रेमीसँग पनि परिबन्दमा विवाह गर्छे। पतिसँगको सुखभोगमा भौंतारिरहन्छे। बाल्यकाल र किशोरावस्थाका केही क्षण बाहेक उसको जीवनमा खुशी कतै भेटिंदैन।
छोरीलाई पढाउने चलन नभएको गाउँमा विद्यालय जान पाएकी, वैकुण्ठलाई माया गरे पनि कालोरामप्रति आकर्षित जुनेलीलाई दीन–हीन बनाउँदै लेखकले किन हेटौंडास्थित बाबाकहाँ पुर्या्उँछन् र, चोभारको मन्दिरमा पुर्याएर ‘कुमारी’ बनाउँछन् बुझ्न सकिंदैन ।
त्यसो त जुनेली मा जुनेली मात्रै होइन, चिराग, डाक्टर सेपालिका र कमल जस्ता पात्र पनि छन्। पात्रबीचको सम्बन्ध बुझाउन धेरै पाना खर्चिएका लेखकले सेपालिका र शरदबीचको अभिसारको ‘मसला सिन’ कतिसम्म अनावश्यक छ भन्ने ख्याल नगरेको देखिन्छ।
एकजना प्रहरी अधिकृतले कलेजको साथी अकस्मात् भेट्दा प्रयोग गरेको अश्लील शब्द अस्वाभाविक नमानिएला तर, त्यस्ता शब्दहरुको थप प्रयोग स्वाभाविक छैन।
उपन्यासभित्रका उपकथाहरुले मूलकथा बलियो बनाउने क्षमता राख्दैनन्। मिराबाईका भजन र हरिवंश रायबच्चनका कविताका पंक्ति नराखिएका भए पनि फरक पर्ने थिएन । उपन्यासका घटनाहरुबीच लेखकको टिप्पणीलाई प्रयोग मान्न सकिए पनि त्यसैका कारण पुस्तक पढ्नयोग्य बनेको छैन।
उपन्यासले महिलाको सामाजिक अवस्था र संवेदनशीलता केलाउने प्रयास गरेको छ। तर, कथ्य शैली र घटनाहरुले पाठकलाई त्यसतर्फ जागरुक बनाउँदैन। चलचित्रका कथा र पटकथा लेखक ब्रजेशको उपन्यास पनि मसला चलचित्र जस्तै यौन, हिंसा र नाटकीय घटनाले भरिपूर्ण लाग्छ। तर, यी सबै मसलाले पनि उपन्यास भद्दा र फितलो बन्न पुगेको छ। अरु त अरु जुनेलीमाथि न्याय गर्ने प्रयासमा लेखिएको भनिएको सिक्वेलले उसैमाथि थप अन्याय गरेको भान हुन्छ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
