थप समाचारबुधबार, फाल्गुण २६, २०७२
ओझेलमा लमजुङको ईशानेश्वर
धार्मिक पर्यटनको केन्द्र बन्ने प्रवल संभावना भए पनि पूर्वाधारको विकास नहुँदा लमजुङको ईशानेश्वर क्षेत्र ओझेलमा परेको छ ।
लमजुङ र कास्कीको सीमानामा रहेको ईशानेश्वर मन्दिर करापुटारमा हरेक शिवरात्रीमा ठूलो धार्मिक मेला लाग्ने गरेको छ ।
मादी र मिदिम नदीको किनारमा रहेको फराकिलो फाँटमा अवस्थित यो क्षेत्र प्राकृतिक रुपमा पनि सुन्दर र प्रशस्तै पर्यटकीय सम्भावना रहेको क्षेत्र हो ।
हरेक शिवरात्रीका दिन इशानेश्वर मन्दिरमा ठूलो मेला लाग्छ भने त्यसबाहेक एकादशी, औँसी, पूर्णिमा, संक्रान्ति लगायत धार्मिक महत्वका दिनहरुमा पनि मन्दिरमा भक्तजनहरुको घुँईचो लाग्छ ।
इशानेश्वरको दर्शन र पूजाबाट सन्तान प्राप्ती र उनीहरुको भलो हुने लोकविश्वास छ ।
श्री स्वस्थानी ब्रतकथामा उल्लेख गरिए अनुसार महादेवले सतीदेवीको मृत शरीर बोकी पृथ्वी भ्रमण गर्ने सिलसिलामा महेन्द्रगिरीमा पुग्दा सतीदेवीको दाहिने तिघ्रा पतन भएको उल्लेख छ ।
सोही महेन्द्रगिरी ईशानेश्वरको चिसंकुलाई भनिएको संस्कृतिविद्हरुको भनाई छ ।
गोरखाका तत्कालीन राजा कृष्ण शाहले (शाके १४१४ मा) आफ्ना सीपयुक्त पल्टन प्रयोग गरी हाल रहेको मन्दिर निर्माण गरेको बताइन्छ ।
ईशानेश्वर क्षेत्रमा रहेका प्राचिन शिलालेख एवं अभिलेख अनुसार शाके १६९४ मा नरहरी शाहका सन्तान विरनारायण शाह र उनका दुई श्रीमतिहरु शालधरा जेठी र शकलानकुमारी कान्छीले संयुक्त रुपमा दुई सय मुरी माटो मध्य एक सय ४० मुरी अर्थात नौ सय ३५ रोपनी जग्गा मन्दिरमा दान गरेको उल्लेख छ ।
उक्त जग्गाबाट उब्जनी हुने अन्नवाली महाशिवरात्रीका दिन फकिर, फुकुरा एवं जोगीहरुलाई सदावर्त व्यवस्था गरेबमोजिम हालसम्म संचालन भईरहेको पुजारी व्यवस्थापन समितिका सचिव रामचन्द्र सोतीले बताए ।
त्यस्तै ६० मुरी अर्थात १५ रोपनी पुजारी गुठीमा राखेर नियमित पुजा संचालन गर्ने व्यवस्था मिलाइएको छ ।
सरकारले देखेन
यसक्षेत्रको विकासका लागि ‘ईशानेश्वर क्षेत्र विकास समिति’ गठन गरेर जिल्ला विकास समितिदेखि संस्कृति मन्त्रालयसम्ममा विभिन्न योजना पेश गरे पनि अहिलेसम्म कुनै सुनुवाई भएको छैन ।
भक्तजनबाट आउने दान दक्षिणा र बेलाबखत लगाईने महायज्ञको बजेटबाट ६ रोपनी जग्गा खरिद गरेर केही पुर्वाधार बनाएको समितिका अध्यक्ष रामचन्द्र शास्त्री बताउँछन् ।
पोखराबाट नजिकै रहेको ईशानेश्वर हुँदै भोँजे– घाम्राङ– पसगाउँ– दुधपोखरीसम्मको पदमार्ग निर्माण गरेर त्यसलाई घलेगाउँ हुँदै अन्नपुर्ण पदमार्गमा जोड्न सकिने स्थानीय आनन्द घिमिरे बताउँछन् ।
युवराज श्रेष्ठ, लमजुङ