थप समाचारबुधबार, फाल्गुण २६, २०७२
मिर्गौला र उच्च रक्तचाप
उच्च रक्तचाप गम्भीर मिर्गौला विफल (क्रोनिक किडनी फेलर) जस्तो भयानक रोगको संकेत हुन सक्छ । बेलैमा सचेत बने क्षति कम गर्न सकिन्छ ।
सन्दर्भः विश्व मिर्गाैला दिवस
डा. सञ्जीवकुमार शर्मा
उच्च रक्तचाप गम्भीर मिर्गौला विफल (क्रोनिक किडनी फेलर) जस्तो भयानक रोगको संकेत हुन सक्छ । बेलैमा सचेत बने क्षति कम गर्न सकिन्छ ।
मुटु चार कोठायुक्त मांसपेशीले बनेको अंग हो । मुटुको मांसपेशीको खुम्चने र फुकी आफ्नै स्थितिमा आउने आराम गर्ने प्रक्रियालाई नै धड्कन भनिन्छ ।
मुटु खुम्चँदा यसले आफ्ना कोठामा चौबिसै घण्टा रगत पठाइरहेको हुन्छ । रगतको माध्यमबाट शरीरका विभिन्न अंगहरूमा प्राणवायु (अक्सिजन) तथा पोषक पदार्थ पुग्दछन् ।
रक्तनलीले शरीरमा एकखाले सञ्जाल बनाएका हुन्छन् । रक्तनलीमा पर्खालजस्तै टासिएका मांसपेशीका कारण रगतको चापका आधारमा रक्तनली तन्कने वा खुम्चने हुन्छ । मुटु खुम्चदा रगत बलका साथ रक्तनलीमा पुग्छ र यसैले रक्तनलीको पर्खालमा चाप उत्पन्न गराउँछ । यसैलाई नै रक्तचाप भनिन्छ ।
रक्तचापको नाप अंकमा जनाउदा पारो (मर्करी) को दुई अंक मिलिमिटर लिइन्छ जसलाई माथिल्लो र तल्लो भनिन्छ जस्तै: १२०/८० एमएम एचजी ।
माथिल्लो अंकले मुटुबाट रगत पम्प गरिंदा रक्तनलीमा परेको चाप बुझाउँदछ, जुनबेला मुटु खुम्चिएको हुन्छ । यसलाई सिस्टोलिक प्रेशर भनिन्छ । तल्लो अंकले धड्कनको आरामको अवस्थामा जनाउँदछ । यसलाई डायस्टोलिक प्रेशर भनिन्छ ।
के रक्तचाप एकनास रहन्छ ?
हरेक व्यक्तिको रक्तचाप एकनास रहदैन । खेलकुद, दैनिक कृयाकलाप, मानसिक अवस्था (तनाव, चिन्ता) मा रक्तचाप नाप्दा फरक पर्नु स्वभाविकै हो । त्यसैले आराम गरी पुनः सामान्य अवस्थामा मात्र रक्तचाप नाप्नु पदर्छ ।
के हो उच्च रक्तचाप ?
सामान्यतया वयस्क व्यक्तिमा केहीबेर आराम गरी रक्तचाप जाँच्दा सामान्यभन्दा बढी अर्थात् सिस्टोलिक प्रेशर १४० मिलिमिटर पारो वा बढी र डायस्टोलिक प्रेशर ९० मिलिमिटर पारो वा सोभन्दा बढी रहेको परिस्थितिलाई उच्च रक्तचाप भनिन्छ । चिकित्सा विज्ञानमा यसलाई हाइपरटेन्सन भनिन्छ ।
कारण र उपचार
३५ वर्षमाथिका मानिसमा उच्च रक्तचाप अलि बढी देखापर्छ । यसको एउटा कारण वंशाणुगत भए पनि अधिकांशमा कारक तत्व छुटाउन गाह्रो हुन्छ । यस प्रकारको उच्च रक्तचापलाई प्राथमिक रक्तचाप पनि भनिन्छ । अन्य कारणले हुने रक्तचापलाई दोश्रो स्तरको रक्तचाप भनिन्छ ।
उच्च रक्तचापलाई समयमै उपचार गराइयो भने मुटु, मष्तिस्क र मृगौलाजस्ता महत्वपूर्ण अंग जोगाउन सकिन्छ ।
साना सानाबालबालिकामा उच्च रक्तचाप देखिनुमा एक्युट ग्लोमेरुलोनेफ्राइटिस (मिर्गौलासुन्निनु), क्रोनिक ग्लोमेरुलोनेफ्राइटिस (मिर्गौलासुन्निने दिर्घरोग) र पिशाबनलीमा जन्मजातअवरोध हुनु जस्ता कारण जिम्मेवार हुन्छन् ।
वयस्कमा उच्च रक्तचाप बढाउने मृगौलाका रोगहरुमा मधुमेहले मृगौलामा पुग्ने क्षति (डायबेटिक नेफ्रोपेथी), क्रोनिक ग्लोमेरुलोनेफ्राइटिस (मिर्गौलासुन्निने दीर्घरोग), मृगौलामा फोका हुने (पोलिसिस्टिक किड्नी डिजिज), मृगौलामा रगतको प्रवाह गराउने धमनी खुम्चिने जस्ता अनेक कारण हुन सक्छन् ।
यस्तो अवस्थामा मृगौलाकै कारण उच्च रक्तचाप हुने सम्भावना हुन्छ ।
१. ३० वर्षभन्दा कमउमेरमा उच्च रक्तचाप देखिएमा ।
२. अत्यधिक रक्तचाप देखिएमा (जस्तैः २००/११०एमएम एचजी)
३. औषधी खाँदा समेत उच्चरक्तचाप नघटेमा ।
४. रक्तचापका कारण आँखाको पर्दामा असर पर्नु र देख्न कठिनाई भएमा ।
५. उच्च रक्तचापसँगै बिहान उठ्दा अनुहार सुन्निनु, कमजोर महसुस हुनु, खान रुची नहुनु जस्ता लक्षण देखिएमा ।
साधारणतःपिसाबको परीक्षण, रगतमा क्रियाटिनिन् परीक्षण, पेटको एक्सरे र मृगौलाको भिडियो एक्सरे परीक्षणबाट मृगौलाका अधिकांश रोग पत्ता लाग्न सक्छ । यदि रगतको चाप बढ्नुको मुख्य कारण मिर्गौलारोग नै हो भने तत्काल उपचार थालिहाल्नुपर्छ ।
उच्च रक्तचाप नै गम्भिर मिर्गौला विफल (क्रोनिक किडनी फेलर) जस्तो भयानक रोगको एकमात्र संकेत हुन सक्छ । गम्भीर मिर्गौलाविफल गराउन सक्ने अवस्थालाई उच्च रक्तचापमाथि नियन्त्रण गरी मृगौलामा पुग्न सक्ने क्षतिबाट जोगाउन सकिन्छ र डायलाइसिसको आवश्यकतालाई पनि पर सार्न सकिन्छ ।
अवस्था अनुसारको उपचार
मृगौलाकै कारण उत्पन्न उच्च रक्तचापको उपचार पनि मिर्गौलारोगको प्रकार र अवस्थामा आधारित हुन्छ ।
१. थोरै समयकालागि बढेको उच्च रक्तचापको उपचारः
मुख्यतःबालबालिकामा हुने मृगौलाको एक्युट ग्लोमेरुलोनेफ्राइटिस रोगको उपचारमा खानामा तरल पदार्थ र नुनको मात्रा घटाउने, पिसाब बढाउने र रक्तचाप कम पार्ने औषधी दिनाले बिस्तारै रक्तचाप सामान्य बन्दै जान्छ । थप उपचारको आवश्यकता पर्दैन ।
२. सँधै रहने उच्च रक्तचापको उपचारः
गम्भीर मिर्गौला विफल
यो रोगका कारण बढेको उच्च रक्तचाप नियन्त्रणका लागि खानेकुरामा नुनकम खाने, शरीर नसुन्नियोस भनेर पानीको मात्रा पनि चिकित्सकको सल्लाहअनुसार कम पिउने र औषधी नियमित लिने गर्नु पर्छ ।
रेनल आर्टरी स्टेनोसिस
मृगौलामा रक्त सञ्चार गराउने धमनी साँघुरो भयो भने रगतको चाप बढ्न थाल्छ र उपचार गराएमा यस्तो उच्च रक्तचाप निको हुन सक्छ ।
(मिर्गौला एवं मुटुरोग विशेषज्ञ डा. शर्माको यो लेख ‘आफ्नो मिर्गौलाबचाऔं’ पुस्तकबाट लिइएको हो । भारतका मिर्गौलारोग विशेषज्ञ डा. सञ्जय पण्डित र शर्माद्वारा संयुक्त रुपमा लिखित पुस्तक विश्वका १७ भन्दा बढी भाषामा अनूवाद भइसकेका छन् । १० मार्चमा इन्टरनेटबाटै बिमोचन हुने यो पुस्तक http://nepali.kidneyeducation.com/Nepali/ बाट निःशुल्क डाउनलोड गर्न सकिन्छ ।)