समाचारबिहीबार, फाल्गुण २७, २०७२

कांग्रेसले संविधान कार्यान्वयनको नेतृत्व लिन्छः देउवा

हिमालखबर

नेपाली कांग्रेसका नवनिर्वाचित सभापति शेरबहादुर देउवाले संविधान कार्यान्वयनको जिम्मेवारीलाई पार्टीले पूरा गर्ने बताएका छन् ।

बूढानिलकण्ठस्थित आफ्नै निवासमा नेविसङ्घको बधाई तथा शुभकामना ग्रहण गर्दै उनले संविधान जारी गर्न नेतृत्वदायी भूमिका खेलेको कांग्रेसले त्यसको सफल कार्यान्वयनका लागि महत्वपूर्ण भूमिका खेल्ने बताएका हुन् ।

पार्टीको भ्रातृ सङ्गठन नेविसङ्घको लामो समयदेखि अधिवेशन हुन नसक्दा युवाको नेतृत्व विकास र शैक्षिक मुद्दा प्रभावकारी रुपमा अघि बढ्न नसकेको भन्दै उनले केन्द्रीय समितिले पूर्णता पाएलगत्तै नेविसङ्घलगायतका सबै भ्रातृ सङ्गठनको अधिवेशन गराउन पहल गर्ने बताए ।

सभापति देउवाले भने, “सङ्गठनलाई सक्रिय बनाई पार्टीलाई गतिशील र जीवन्त तुल्याउन नेविसङ्घलगायतका संस्थाको महाधिवेशन चाँडो हुनुपर्छ, त्यसमा मैले व्यक्तिगत रुपमा भन्नुभन्दा पनि केन्द्रीय समितिले पूर्णता पाएपछि पहिलो एजेन्डा भ्रातृ संस्थाको महाधिवेशनतर्फ केन्द्रित हुन्छ ।”

नेपाल विद्यार्थी सङ्घका अध्यक्ष रञ्जित कर्णले लामो समयदेखि नेविसङ्घको निर्वाचन नहुँदा सङ्गठन गतिशील बन्न नसकेको र नेतृत्व विकासमा ह्रास आएको भन्दै चाँडो निर्वाचनको प्रक्रिया अघि बढाउन पहल गर्न सभापति देउवासमक्ष आग्रह गरे ।

उनले विश्वविद्यालयमा पनि लामो समयदेखि स्ववियु निर्वाचन नभएकाले विद्यार्थी नेतृत्व र शैक्षिक मुद्दा अवरुद्ध भएको भन्दै तत्काल स्ववियु निर्वाचन गर्नका लागि पहल गरिदिन आग्रह गरेका थिए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>