समाचारशनिबार, फाल्गुण २९, २०७२
नक्कली डाक्टरको ज्यानमारा धन्दा
गलत औषधि दिएर बिरामी मारेको घटनामा सजाय भोगिसकेका मनितोष वालाको ज्यानमारा व्यापार खुलेआम चलिरहेको छ।

तस्वीरहरुः सम्राट सिंह
दमले थलिएकी कोटदेवल–३ रनाडा, बझाङकी लक्ष्मीदेवी बोहरा (३५) ७ फागुनमा सदरमुकाम चैनपुरस्थित न्यूचैन मेडिकल स्टोरभित्रैको क्लिनिकमा भर्ना भइन्। उपचारका क्रममा सुई लगाएपछि बेहोश भएकी उनलाई राति नै चैनपुरस्थित अमिसा अस्पताल पुर्याउनुपर्यो।
पश्चिम बंगाल, भारतबाट सात वर्षअघि बझाङ आएका २२ वर्षीय मण्डल डाक्टर वा स्वास्थ्यकर्मी होइनन्, स्थानीय जयपृथ्वी बहुमुखी क्याम्पसका कक्षा १२ मा अध्ययनरत विद्यार्थी हुन्।
क्याम्पस प्रमुख मोहन उपाध्यायले पनि मण्डल क्याम्पसको विद्यार्थी भएको पुष्टि गरे। र, यो क्लिनिक तिनै नक्कली ‘चिकित्सक’ मनितोष वालाको थियो जो आफ्नो गलत उपचारका कारण बिरामीको मृत्यु भएपछि जेल सजाय भोगेर आएका थिए।
मण्डलको लापरवाहीले सिकिस्त बोहरालाई बिहान–बेलुका सुई लगाउनुपर्ने भन्दै अमिसा अस्पतालले पनि भोलिपल्टै डिस्चार्ज गर्यो।

बिरामी जाँच्दै मनितोष वाला ।
अस्पतालको निगरानीमा ११ गतेसम्म सुई लगाउँदा पनि सुधार नभएपछि आफन्तले बिरामीलाई जिल्ला अस्पताल पुर्याए।
“यहाँ आइपुग्दा बोहराको अवस्था चिन्ताजनक थियो, अहिले सुधार भइरहेको छ”, अस्पतालका चिकित्सक डा. पूर्ण घर्ती बताउँछन्।
रमिते प्रशासन
चैनपुरमा स्टोभ मर्मतको काम गरिरहेका नेपालगञ्ज–६, बाँकेका मेहदी हसन सलमानी (४२) २६ भदौ २०५९ मा मनितोष वालाकै मेडिकल स्टोर पुगे। त्यहाँबाट सुई लगाएर फर्केका उनको भोलिपल्टै मृत्यु भयो।
जिल्ला स्वास्थ्य कार्यालयका डा. पीताम्बर सुवेदीले तयार पारेको पोस्टमर्टम रिपोर्टमा औषधिको दुष्प्रभावबाट मुटु र श्वासप्रश्वास प्रणालीमा परेको असरका कारण सलमानीको मृत्यु भएको उल्लेख छ।
गलत उपचारका कारण बिरामीको ज्यान गएको पुष्टि भएपछि स्टोरका सञ्चालक मनितोष वाला पक्राउ परे। फुटकर ज्यान मुद्दा अन्तर्गत जिल्ला अदालतले १२ असोज २०५९ मा मनितोषलाई दुई वर्ष कैद सजाय तोक्यो। ४ माघ २०६१ मा छुटेका उनी भोलिपल्टैदेखि बिरामी जाँच्न

प्रवीण मण्डल ।
थाले।
कञ्चनपुरको महेन्द्रनगरमा औषधि बेचेका मनितोषले असोज २०४८ देखि बझाङ् आएपछि मात्र बिरामी जाँच्न थालेका हुन्।
उनीसँग पटना आयुर्वेदिक मेडिकल कलेजबाट तीनवर्षे रुरल मेडिकल प्राक्टिसनर (आरएमपी) कोर्स गरेको हस्तलिखित प्रमाणपत्र छ, जसमा प्रमाणपत्र दिने अधिकारीको हस्ताक्षर भने छैन।
मण्डललाई मनितोषले नै बंगालबाट बझाङ ल्याएका हुन्। मनितोष नहुँदा मण्डलले नै बिरामी जाँच्दै आएका छन्।
बिरामीको शरीरमाथि पटकपटक खेलबाड गर्दै आएका नक्कली स्वास्थ्यकर्मीविरुद्ध प्रशासनको व्यवहार भने शंकास्पद छ।

जिल्ला अस्पतालमा उपचाररत लक्ष्मीदेवी बोहरा।
मण्डलको सुईकै कारण बिरामी गम्भीर भएको भन्दै बोहोराका आफन्तले उजुरी दिएपछि १६ फागुनमा प्रहरीले मण्डललाई सोधपुछ गर्यो।
त्यसको एक दिन अघि मात्र मण्डलले नै दिएको खोकीको औषधिले स्थानीय आकाश दमाई बेहोश भएपछि पनि उनलाई सोधपुछ गरेको थियो।
प्रहरी नायव उपरीक्षक लक्ष्मीराज अधिकारीले भने घटनाको थप अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरोको पत्र कुरिरहेको तर्क गर्छन्। “सीआईबीले अनुसन्धान अधिकृत तोकेपछि कारबाही प्रक्रिया अघि बढाउँछौं”, जोशी भन्छन्।
(सम्राट सिंहको सहयोगमा)
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
