सम्पादकीयआइतबार, फाल्गुण ३०, २०७२

संविधानको सम्मान गर

किरण नेपाल

kiranराष्ट्रपतिद्वारा सर्वोच्च अदालतमा न्यायाधीश नियुक्त हुनुअघिको संसदीय सुनुवाइका लागि न्यायपरिषद्ले व्यवस्थापिका–संसद्मा पठाएको सिफारिशलाई सभामुख ओनसरी घर्तीले ‘अपूर्ण निकायबाट गरिएको सिफारिश’ र ‘संसदीय सुनुवाइ विशेष समिति बनिनसकेको’ भन्दै फिर्ता गरेर संवैधानिक विवाद सिर्जना गरेकी छन् ।

सभामुखको आदेशमा व्यवस्थापिका–संसद्का महासचिवले न्यायपरिषद्लाई लेखेको पत्रमा पाँच सदस्य रहने न्यायपरिषद् तीन सदस्यीय मात्र हुनुलाई ‘परिषद् गठन नै नभएको’ भनिएको छ भने सुनुवाइ समिति गठनका लागि संसद्को नियमावली बनिनसकेको उल्लेख छ ।

Editorial.inddसंवैधानिक व्यवस्था, मुलुकले अंगीकार गरेको न्यायप्रणाली, व्यवस्थापिका–न्यायपालिका सम्बन्धका प्रचलित मान्यता तथा स्थापित नजिरहरूका आधारमा भन्न सकिन्छ– सभामुख घर्तीको यो कार्य असंवैधानिक र शक्तिपृथकीकरणको सिद्धान्तको बर्खिलाफ छ ।

हाम्रो संवैधानिक प्रबन्ध अनुसार, संवैधानिक निकायमा नियुक्तिको लागि गरिएका सिफारिश संसदीय समितिले सुनुवाइ गरेपछि मात्र पूर्ण हुन्छ, तर संविधान जारी भएसँगै बन्नुपर्ने सुनुवाइ समिति बन्न सकेको छैन ।

३५ दिनसम्म सुनुवाइ नभए सिफारिश स्वतः नियुक्तिको प्रक्रियामा जाने कानूनी व्यवस्था छ । कथं समिति नबनेको वा बने पनि सुनुवाइ हुन नसकेको अवस्थालाई सम्बोधन गर्नकै लागि राखिएको यस्तो प्रावधान बिर्सेर क्रियाशील भएकी छन्, सभामुख घर्ती । उनले संसद्को नियमावली र संसदीय समिति बनाउने दायित्व सभामुखकै हो भन्ने तथ्य पनि नजरअन्दाज गरेकी छन् ।

सभामुखमा नियुक्त भएको यतिका समयमा आफ्नो दायित्व निर्वाहमा असफल घर्तीले आफ्नै अक्षमताबाट उत्पन्न परिस्थिति देखाएर समग्र न्यायप्रणालीमाथि दुष्प्रभाव पार्ने गैर–जिम्मेवार ‘एक्सन’ लिएको देखिन्छ ।

संविधानले सभामुखलाई न्यायपरिषद्को सिफारिश फिर्ता गर्ने अधिकार नदिएको अवस्थामा घर्तीले न्यायपरिषद् र संसदीय सुनुवाइ विशेष समितिका बीच कल्पनै नगरिएको भूमिका खोज्दै संविधान र कानूनको अन्तिम व्याख्या गर्ने न्यायालयमा निहित अधिकार समेत प्रयोग गर्न खोजेकी छन् ।

सभामुखको यो गतिविधि न्यायपालिकाको स्वतन्त्रता व्यवस्थापिका मातहत नहुने सिद्धान्तको पनि विरुद्ध छ ।सभामुख घर्तीले आफू संलग्न संवैधानिक परिषद्ले डा. अयोधीप्रसाद यादवलाई निर्वाचन आयोगको प्रमुख आयुक्त बनाउन गरेको सिफारिशलाई संसद्मा यथावत् राखेर न्यायपरिषद्को सिफारिश फिर्ता गरिन् ।

यसरी दोहोरो चरित्र–मापदण्ड देखाएकोमा सर्वत्र आलोचना भएपछि भने उनले अघिल्लो सिफारिश पनि फिर्ता गरिन् । उनको यो कार्य अपरिपक्व र विरोधाभासपूर्ण छ । न्यायपरिषद्को अपूर्णता औंल्याएकी सभामुखले प्रधानमन्त्रीको अध्यक्षतामा रहने ६ सदस्यीय संवैधानिक परिषद्मा अहिले राष्ट्रियसभाको अध्यक्ष नभएको बिर्सिइन् ।

संसदीय लोकतान्त्रिक अभ्यास, त्यसको एउटा आधारस्तम्भ न्यायपालिकाकै एउटा अंग न्यायपरिषद् व्यवस्थापिकासँग जोडिन पुग्छ । परिषद्को सिफारिश उपयुक्त र कानूनसम्मत भए÷नभएको ‘चेक’ गर्नकै लागि संसदीय सुनुवाइ विशेष समितिको संवैधानिक व्यवस्था गरिएको हो, जुन सभामुखको तजबिजी अधिकार होइन ।

तर, सभामुखबाट प्रधानन्यायाधीश अध्यक्ष रहने संवैधानिक निकाय न्यायपरिषद्ले संसद्समक्ष पठाएको सिफारिशलाई दरपीठ गर्न कर्मचारी परिचालन गर्ने जस्तो अराजकता प्रदर्शन भयो ।

निरंकुश पञ्चायती व्यवस्थाको व्यवस्थापिकाले १७ साउन २०३५ मा लेखेको यस्तै पत्रलाई सर्वोच्चले ‘नेपालको न्यायिक इतिहासमा कुनै व्यक्ति वा पदाधिकारीले अदालतलाई लेखेको आफ्नै किसिमको अवाञ्छनीय र अपहेलनायुक्त पत्रको रूपमा चिरस्मरणीय रहनेछ’ भनी फैसलामै उल्लेख गरेको थियो ।

सभामुखले किन यसो गरिन् भन्नेबारे फरक–फरक आकलन छ । पूरै असंवैधानिक बेहोराको सभामुखको पत्र न्यायाधीश सिफारिशमा एमाओवादीको भाग नपुगेको परिणाम भएको एउटा आकलन छ । सभामुख सम्बद्ध एनेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल निकटस्थहरूबाट चुहिएको सूचनामा विश्वास गर्ने हो भने सिफारिशप्रति एमाओवादीको असहमति छैन ।

हाम्रो बुझाइमा, मुलुकको संक्रमणकालीन राजनीतिबाट नाजायज फाइदा उठाउनका निम्ति नीतिगत तहलाई नै प्रभावित पार्न सक्रिय सिन्डिकेटको प्रभावले काम गरेको छ– न्यायपालिका–व्यवस्थापिका द्वन्द्व बढाउने गरिको सभामुखको यो कार्यमा । ती तत्वहरू शक्तिपृथकीकरणको दायरामा रहनुपर्ने तीन वटै अंगलाई प्रभावित पारेर स्वार्थ सिद्धि गर्ने ध्याउन्नमा छन् र त्यसमा सभामुख समेत प्रयोग हुन पुगेकी छन् ।

त्यही सिन्डिकेटको स्वार्थसिद्धिको सहायक व्यक्तिहरू; जो न्यायपरिषद्को सिफारिशमा पर्न सकेनन्, तिनीहरू सभामुखलाई प्रभावमा पार्न सफल भएका छन् ।

पहिलो संविधानसभाको अवसानपछि र दोस्रो संविधानसभा निर्वाचनअघि आकार ग्रहण गरेको त्यो सिन्डिकेट– आफ्ना लाभहानिबाट निर्देशित भएर संसदीय लोकतन्त्रको मर्म माथि नै प्रहार हुने हदसम्मको कृत्य गराउन उद्यत छ । तर, संकटोन्मुख राजनीति बोकेको पार्टीको तर्फबाट सभामुख बन्ने अवसर पाएकी घर्ती त्यस्ता तत्वहरूको चंगुलमा पर्नबाट विल्कुलै जोगिनुपर्छ ।

उनले आफू नवनिर्मित संविधान कार्यान्वयनमा प्रमुख भूमिका निर्वाह गर्नुपर्ने ठाउँमा रहेको तथ्य बिर्सनुहुँदैन । सभामुख घर्तीको कार्यशैली भर्खरै संसदीय अभ्यासमा लागेको उनकै पार्टीको सबलीकरणका लागि पनि महŒवपूर्ण छ । अब उनले न्यायपरिषद्को सिफारिश स्वीकार्दै प्रक्रिया अघि बढाएर संविधानको सम्मानमा आफूबाट हुनपुगेको चुकलाई वेलैमा सच्याउनुपर्छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>