रमझमआइतबार, फाल्गुण ३०, २०७२

हिट्स अवार्डमा बिपुलको ह्याट्रिक

सजना बराल

हिट्स मिडिया प्रा.लिले आयोजना गरेको ‘हिट्स एफएम म्युजिक अवार्डस् २०७२’ मा गायक अजर जंगमको गीत ‘जीन्दगीले हिसाब माग्छ’ सर्वोत्कृष्ट ठहरिएको छ ।

तस्वीर: बिक्रम राई

तस्वीर: बिक्रम राई

गायक दीपक जंगमका छोरा अजरले दीपक खरेल, रविन शर्मा, बिपुल क्षेत्री र नाइट ब्यान्डलाई पछि पार्दै ‘रेकर्ड अफ द इयरको ट्रफि उचाले । उनले सर्वोत्कृष्ट एकल गायन–पुरुषको पनि उपाधि जितेका थिए ।

२८ फागुनमा सुन्धारास्थित नेपाल आर्मी अफिसर्स क्लबमा आयोजित अवार्ड वितरण कार्यक्रममा दार्जलिङका नेपाली भाषी गायक विपुल क्षेत्रीले भने सबैभन्दा बढी, तीन विधामा अवार्ड जिते ।

उनले सर्वोत्कृष्ट पप गायन–पुरुष, सर्वोत्कृष्ट पप/रक कम्पोजिसन र सर्वोत्कृष्ट पप/रक अल्बम अफ द इयरको उपाधि जित्दै हिट्स अवार्डमा ह्याट्रिक गरेका थिए । यद्यपी, कार्यक्रममा उनी उपस्थित थिएनन् । ‘गाइजात्रा’ बोलको गीतका लागि ‘ह्वाट द फंक’ ले सर्वोत्कृष्ट समूह गायन र सर्वोत्कृष्ट रक भोकल पर्फरमेन्सको अवार्ड हात पार्‍यो ।

समारोहमा कवि तथा गीतकार भैरबनाथ रिमाललाई लाइफटाइम एचिभमेन्ट अवार्ड प्रदान गरियो । जीवनको पल्लो किनारामा आइपुगेका बेला रचनाकारका रूपमा सम्मानित भएकोमा रिमालले गौरव महसुस गरेको बताए । “मैले अनेक विधामा कलम चलाए पनि गीतले नै मलाई परिचित बनायो”, सम्मान ग्रहण गर्दै उनले भने, “त्यसैले गीतलाई मैले मेरो जीवनको प्रतिक मानेको छु ।” रिमालका ‘उदास मेरो जीवन कथा’, ‘जुन फूल मैले’, ‘हुँ यात्री एउटा’, ‘झस्किएछ मन मेरो’ जस्ता गीत लोकप्रिय छन् ।

हिट्स एफएम अवार्डमा किरण कँडेलले ‘जीन्दगीले हिसाब माग्छ’ गीतका लागि सर्वोत्कृष्ट संगीत संयोजनको उपाधि जिते भने सोही गीतले गायक दीपक जंगमलाई सर्वोत्कृष्ट संगीतकार घोषित गरिदियो । ‘केवल सासले भन्यौ’ गीतका लागि पुष्कर पराजुलीले सर्वोत्कृष्ट गीतकारको उपाधि जितिरहँदा गायक रविन शर्माले ‘अल्बम अफ द इयर’ को ट्रफि उचाले । सर्वोत्कृष्ट एकल गायन–महिलाको अवार्ड संगीता राना प्रधानले जितिन् भने सर्वोत्कृष्ट लोक–दोहोरी गीतको विधामा अन्जानबाबु अब्बल ठहरिए ।

महीला पप गायनमा क्रिश्मा अविगलले सिने गुरुङ, निखिता थापा, श्रेया सोताङ र तृष्णा गुरुङलाई पछि पारिन् । बेस्ट भोकल कोल्याबोरेसनमा सत्य र स्वरुपराज आचार्य, नव गायकका रूपमा रोहित जोन क्षेत्री र सवोत्कृष्ट पाश्र्व (चलचित्र) गीतका लागि कालीप्रसाद बाँस्कोटाले ट्रफि हात पारेका थिए ।

उनीहरूले क्रमशः ‘दीप बनोस्’, ‘बिस्तारै बिस्तारै’ र ‘पारी त्यो डाँडामा’ बोलका गीतको लागि अवार्ड जितेका थिए ।

विभिन्न संगीतकर्मी तथा कलाकारका बीच सम्पन्न समारोहमा कुमार बस्नेत, दीप श्रेष्ठ, कर्ण दास, तृष्णा गुरुङ, बानिका प्रधानजस्ता गायकगायिका र मंकी टेम्पल, ह्वाट द फंकलगायत सांगीतिक समूहले प्रस्तुति दिएका थिए । विसं देखि आयोजना हुँदै आएको हिट्स एफएम म्युजिक अवार्डको यो १९ औं श्रृखला हो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>