समाचारसोमबार, चैत्र १, २०७२
सार्क कार्यक्रम समितिको बैठक शुरु
दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्ठन (सार्क)को ३७औँ मन्त्रिपरिषद् बैठकको सिलसिलामा कार्यक्रम समितिको बैठक आज, १ चैतमा पोखरामा शुरु भएको छ ।
बैठकअन्तर्गत आज र भोलि कार्यक्रम समितिको बैठक हुने परराष्ट्र मन्त्रालयका सहसचिव मणिप्रसाद भट्टराईले जानकारी दिए ।
कार्यक्रम समितिमा सदस्य राष्ट्रका परराष्ट्र/बाह्य मामिला मन्त्रालयका सहसचिवको सहभागिता रहेको छ । पोखराको बिरौटास्थित पोखरा ग्रान्ड होटलमा शुरु बैठकको अध्यक्षता सहसचिव भट्टराईले गरेका छन् ।
बैठकमा १८औँ सार्क सम्मेलनपछिका सार्कका गतिविधि, विगतका बैठकका निर्णय र कार्यान्वयनको समीक्षा गरिनेछ ।
दुईदिने उक्त बैठकले तयार पारेको प्रतिवेदन स्थायी समितिको बैठकमा प्रस्तुत हुनेछ ।
निर्धारित कार्यक्रमअनुसार ३ चैतमा आठवटै सदस्य मुलुकका परराष्ट्र सचिवहरू सम्मिलित स्थायी समितिको बैठक हुनेछ भने ४ चैतमा सदस्य राष्ट्रका परराष्ट्रमामिला मन्त्रीस्तरीय बैठक बस्नेछ ।
बैठकमा उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा, भारतीय विदेशमन्त्री सुस्मा स्वराज, माल्दिभ्सका विदेशमन्त्री डुनया मौमुन, श्रीलंकाका विदेशमन्त्री मंगला समरावेरा, बंगलादेशका विदेशमन्त्री अवुल हसन मोहमद अली, भुटानका विदेशमन्त्री डामचो दोर्जी, अफगानिस्तानका उपविदेशमन्त्री हिक्मत खालिद कार्जाई र पाकिस्तानी प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार सर्ताज अजिज सहभागी हुनेछन् ।
मन्त्रीस्तरीय बैठकको उद्घाटनका लागि प्रधानमन्त्री केपि ओली ३ चैतमा पोखरा आउने कार्यक्रम छ ।
हाल नेपाल सार्कको अध्यक्ष भएकाले उक्त बैठक नेपालमा आयोजना भएको हो ।