टिप्पणीसोमबार, चैत्र १, २०७२
कांग्रेस महाधिवेशनः आरक्षणमा पुरानैको हालीमुहाली
नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा ६१ मध्ये २२ केन्द्रीय सदस्य आरक्षित गरिएको थियो । महिला, मधेशी, मधेशी महिला, आदवासी जनजाति, आदिवासी जनजाति महिला, दलित, दलित महिला र मुस्लिम आरक्षणतर्फ १४५ प्रत्यासी भए पनि अधिकांश पुरानै अनुहारले लाभ उठाए । लैंगिक, जातीय र क्षेत्रीय समावेशिताका लागि लागू गरिएको आरक्षित कोटाबाट १३ पदमा पुरानैले लाभ उठाएपछि ति सिट निश्चित व्यक्तिका लागि मात्र आरक्षित गरे सरह भयो ।
दुई सिटका लागि १२ जनाले प्रतिस्पर्धा गरेको आदिवासी जनजाति महिला कोटामा सीता गुरुङ र रत्ना शेरचन निर्वाचित भए । यसअघिको महाधिवेशनमा सोही आरक्षित पदमा गुरुङ र शेरचन नै निर्वाचित भएका थिए ।
दलितका लागि आरक्षित कोटाबाट पनि नयाँ अनुहार केन्द्रिय समितिमा पुग्न सकेनन् । १२ औं महाधिवेशनमा आरक्षणबाटै केन्द्रिय सदस्य बन्ने मौका पाएका मानबहादुर विश्वकर्मा, जीवन परियार र मीन विश्वकर्माले नै १३ औं महाधिवेशनमा पनि दलितका लागि आरक्षित कोटाको ‘सदुपयोग’ गरे । मधेशी दलित सहित १७ नयाँ अनुहार मतदाताको रोजाईमा परेनन् । दलित महिलाका लागि आरक्षित कोटाबाट सुजाता परियार दोस्रो पटक केन्द्रिय सदस्य भईन् ।
खुल्ला महिलातर्फ आरक्षित ६ सिटका लागि ३८ जनाले प्रतिस्पर्धा गरेका थिए । त्यसमा पनि चार जना पुरानै अनुहार दोहोरिए । पुष्पा भुसाल, कमला पन्त, अम्बिका बस्नेत र ईश्वरी पोखरेलले महिला आरक्षणको दोस्रो पटक लाभ लिए ।
मधेशी आरक्षणतर्फ तीन सिटका लागि १५ उम्मेदवार थिए । उनीहरू मध्ये अजय चौरसिया र महेन्द्र यादव दोस्रो पटक आरक्षित सिटबाट केन्द्रिय समितिमा पुगे । मधेशी महिलालाई आरक्षित सिटमा पार्वती डिसी चौधरीले दोहोर्याएर उपयोग गरिन् ।
आरक्षणमा पटक–पटक एउटै व्यक्तिलाई उठाउनु भन्दा सम्बन्धित क्षेत्र, लिंग वा समुदायबाट अर्को उम्मेदवारलाई उठाउनु पर्ने माग काँग्रेस भित्रै उठेको छ । एउटै व्यक्ति उही पदमा आरक्षित कोटाबाट दोहोर्याएर उम्मेदवार बन्नु आरक्षणको मर्म विपरीत हो । व्यवस्थापिका–संसदको दोस्रो ठूलो दल नेकपा एमालेमा समावेशी कोटामा दोहोर्याएर उठ्न नपाउने व्यवस्था छ ।
जसले दोहोर्या एनन्
कांग्रेसको १२ औं महाधिवेशनमा समावेशी कोटाबाट केन्द्रिय सदस्य बनेका केही उम्मेदवारले भने दोस्रो पटक आरक्षणतर्फ उम्मेदवार बनेन् । अघिल्लो पटक आदिवासी जनजाति कोटाबाट निर्वाचित धनराज गुरुङ १६९७ मत सहित खुल्ला तर्फबाट केन्द्रिय सदस्य निर्वाचित भए । त्यतिबेला जनजाति कोटाबाटै निर्वाचित भिष्मराज आङदेम्बेले प्रदेश नम्बर १ बाट र सूर्यमान गुरुङले खुल्लाबाट उम्मेदवारी दिए ।
अघिल्लो पटक मधेशी कोटाबाट निर्वाचित उमाकान्त चौधरीले यसपटक कोषाध्यक्षमा उम्मेदवारी दिएर ५५८ मत पाए । त्यतिबेला महिला आरक्षणतर्फबाट निर्वाचित महालक्ष्मी उपाध्याय (डिना) खुल्ला केन्द्रिय सदस्यतर्फ १२४९ मत सहित २९ औं स्थानमा आइन् ।