समाचारमंगलबार, चैत्र २, २०७२

प्रमको चीन भ्रमण मन्त्रिपरिषदद्वारा स्वीकृत

हिमालखबर

sarkar3प्रधानमन्त्री केपी शर्मा ओलीले ७ देखि १४ चैतसम्म चीनको औपचारिक भ्रमण गर्ने भएका छन् । मन्त्रिपरिषद्को हिंजो १ चैत साँझ बसेको बैठकले प्रधानमन्त्रीको जनवादी गणतन्त्र चीनको भ्रमणलाई स्वीकृत गरेको हो ।

त्यसैगरी बैठकले दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) का देशहरुले युवासम्बन्धी नीति तथा रणनीति तर्जुमा गर्न, युवाको अधिकार, समृद्धि, क्षमता तथा रोजगारीका लागि कानुनी आधार सुनिश्चित गर्न एवम् युवामैत्री नीति प्रवर्ध्दन गर्दै युवा वर्गको क्षमता र सीप विकास गरी रोजगारीको अवसर सिर्जना गर्न ‘युथ चार्टर अफ द साउथ एसियन एसोसिएसन फर रिजनल कोअपरेसन’ (सार्क युवा बडापत्र) स्वीकृत गरी नेपालका तर्फबाट हस्ताक्षर गर्न उपप्रधानमन्त्री कमल थापालाई अख्तियारी दिने निर्णय गरिएको सूचना तथा सञ्चारमन्त्री राईले जानकारी दिए ।

त्यसैगरी १८ औं सार्क शिखर सम्मेलनमा जारी भएको काठमाडौँ घोषणापत्र बमोजिम नेपाल भारतबीच हुने ‘अर्बिट फ्रिक्वेन्सी कोअर्डिनेसन अफ सेटलाइट फर सार्क रिजन’ विषयको समझदारीपत्रमा हस्ताक्षर गर्ने निर्णय गरिएको छ ।

नेपाल र रुसी महासङ्घबीच सम्बन्ध स्थापना भएको साठी वर्ष पुगेका अवसरमा हीरक महोत्सव मनाउन परराष्ट्रमन्त्री थापाको अध्यक्षतामा २९ सदस्यीय उच्चस्तरीय समिति गठन गरिएको छ ।

नेपालका लागि बोस्निया हर्जगोभिना, इटली र भियतनामका लागि अवैतानिक महावाणिज्यदूतमा क्रमशः साहिल अग्रवाल, प्रतिभा पाण्डे र राजेशकाजी श्रेष्ठलाई नियुक्त गर्नका निम्ति स्वीकृति प्रदान गर्ने निर्णय गरिएको छ ।

देशका विभिन्न महत्वपूर्ण क्षेत्रमा एक हजार बिघासम्मको क्षेत्रफलमा औद्योगिक क्षेत्र स्थापना गर्ने निर्णय समेत गरिएको छ । त्यसैगरी संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाको तराईका विभिन्न जिल्लामा भएको आन्दोलनका क्रममा घाइते भएका १९ जनाको उपचार खर्च बिलबमोजिम व्यहोर्न रु ३१ लाख १७ हजार ५०० निकासा गरिएको सरकारका प्रवक्ता शेरधन राईले जानकारी दिनुभयो । सो काम अगाडि बढाउनका लागि अर्थ र गृह मन्त्रालयलाई व्यवस्था गर्न निर्देशन दिइएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको प्रस्ताव बमोजिम समृद्ध नेपालका लागि सडक, रेल र यातायात विकासको पाँचवर्षीय रणनीतिक योजनालाई स्वीकृत गरिएको छ । त्यसैगरी झापा जिल्लाको दमक नगरपालिकामा ५४० फि अग्लो विश्वकै सबैभन्दा अग्लो बुद्धको मूर्ति स्थापना गर्नका लागि अन्य संरचनासहित दमक विराट् बुद्ध उद्यान निर्माण गर्न दमक नगरपालिकालाई सैद्धान्तिक सहमति दिने निर्णय गरिएको छ ।

त्यस्तै नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सम्पूर्ण कर्मचारीलाई रासन बापत नगद रकम उपलब्ध गराउने सम्बन्धी कार्यविधि स्वीकृत गरिएको छ ।

संयुक्त राष्ट्र सङ्घ पार्क विकास समितिको कार्यकारी निर्देशकमा लक्ष्मीनारायण चौधरीलाई नियुक्त गर्ने निर्णय समेत बैठकले गरेको छ । सरकारले सहसचिव कुमार कोइरालासहित २२ सहसचिवको सरुवा पनि गरेको छ । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>