समाचारमंगलबार, चैत्र २, २०७२
कांग्रेस कार्यसमितिः कति समावेशी ?
समावेशी संरचनाका लागि कुनै सम्झौता नगर्ने र संविधानले गरेको व्यवस्था संस्थागत गर्ने प्रतिवद्धतासहित मत माग्दै नेपाली कांग्रेसको सभापतिमा निर्वाचित शेरबहादुर देउवा नेतृत्वको केन्द्रीय कार्यसमिति अघिल्लो पटक भन्दा समावेशी बन्न सकेन ।
नयाँ नेतृत्व चयन गर्दै नेपाली कांग्रेस १३औं महाधिवेशन समापनको तयारीमा छ ।
निर्धारित २०–२३ फागुनको समयभन्दा १० दिन लम्बिदै ३ चैतमा महाधिवेशन औपचारिक रुपमा समापन हुँदैछ । काठमाडौंको खुल्लामञ्चमा उद्घाटन र भृकुटीमण्डपमा बन्दसत्र सकिएपछि राष्ट्रियसभा गृहमा मतदान भयो ।
उक्त मत गणना राष्ट्रियसभा गृहहुँदै पार्टी मूख्यालय सानेपामा ९ दिनसम्म चलेपछि १ चैतमा सकिएको छ । मत परिणामअनुसार प्यानलसहित उम्मेदवारी दिदै सभापति निर्वाचित शेरबहादुर देउवा केन्द्रीय कार्य समितिमा प्रष्ट बहुमतमा देखिएका छन् । उनको पक्षका ३६ र रामचन्द्र पौडेल पक्षका २८ केन्द्रीय सदस्य निर्वाचित भए ।
सभापतिका प्रत्यासीहरु पौडेल र कृष्णप्रसाद सिटौलालाई पराजित गर्दै सभापति निर्वाचित देउवाले मत माग्ने क्रममा समावेशी संरचनालाई पनि प्रमुख अजेण्डा बनाएका थिए । तर, उनी नेतृत्वको ६४ सदस्यीय निर्वाचित कार्यसमिति १२औं महाधिवेशन भन्दा बढी समावेशी हुन सकेको छैन ।
१३औं महाधिवेशनले अघिल्लो पटकजस्तै ४१ जना क्षेत्री/बाहुन, १४ जना महिला, १० जना जनजाति, ७ मधेशी, ५ दलित र १ जना मुस्लिम निर्वाचित गरेको छ ।
शशांक कोइराला महामन्त्री निर्वाचित भएकाले पदाधिकारीमा समावेशी प्रतिशत घट्न पुगेको छ । प्रकाशमान सिंहको ठाउँमा शशांक कोइराला र चित्रलेखा यादवको ठाउँमा सितादेवी यादव निर्वाचित भइन् ।
खुल्ला र भूगोलतर्फ न्यून संख्याको उपस्थितिले समावेशी संख्या बढ्न सकेको देखिदैन । २५ कोटा रहेको खुल्लातर्फ मधेशी समुदायबाट विमलेन्द्र निधि, महिलाबाट सुजाता कोइराला र जनजातिबाट प्रकाशमान सिंह, धनराज गुरुङ र कुलबहादुर गुरुङ बाहेक अरु निर्वाचित हुन सकेन ।
आरक्षित कोटामा अधिकांश पुरानै अनुहार दोहोरिएर निर्वाचित हुनेतिर लागेपछि खुल्लामा समावेशी संरचना बढाउन सक्ने बलिया उम्मेदवार देखिएन । आरक्षित कोटाबाहेक दलित समुदायबाट कोही पनि निर्वाचित हुन सकेनन् ।
महाधिवेशनअघि विधान संशोधनमार्फत समावेशी संख्या बढाउन नेताहरुबीच सहमति हुन नसक्दा पुरानै संरचना दोहोरिएको नेताहरु बताउँछन् । तर, २१ जना मनोनित गर्ने अधिकार सभापति देउवासँग सुरक्षित भएकाले केही समावेशी संरचना बढ्ने ठाउँ भने बाँकी छ ।
क्षेत्री/बाहुन
शेरबहादुर देउवा, शशांक कोइराला, शेखर कोइराला, खुमबहादुर खड्का, प्रदिप गिरी, बालकृष्ण खाँड, विश्वप्रकाश शर्मा, रमेश लेखक, पूर्णबहादुर खड्का, शंकर भण्डारी, एनपी साउद, ज्ञानेन्द्रबहादुर कार्की, चन्द्र भण्डारी, प्रकाशशरण महत, प्रदिप पौडेल, बलबहादुर केसी, महेश आचार्य, सुजाता कोइराला, रामशरण महत, बद्री पाण्डे, नारायण खड्का, मिनेन्द्र रिजाल, गुरुराज घिमिरे, आनन्दप्रसाद ढुंगाना, रमेश रिजाल, मोहनबहादुर बस्नेत, नविन्द्रराज जोशी, गोविन्द भट्टराई, सुरेन्द्रराज पाण्डे, दिपक गिरी, देवेन्द्रराज कडेल, हृदयराम थानी, जीवनबहादुर शाही, दिलेन्द्रप्रसाद बडू, बीरबहादुर बलायर, डिला संग्रौला, पुष्पा भुसाल, कमला पन्त, सरिता प्रसाई, अम्बिका बस्नेत र ईश्वरी न्यौपाने
महिला
सितादेवी यादव, सुजाता कोइराला, सीता गुरुङ, रत्ना शेरचन, किरण यादव, पार्वती डिसी चौधरी, लक्ष्मी परियार, सुजाता परियार, डिला संग्रौला, पुष्पा भुसाल, कमला पन्त, सरिता प्रसाई, अम्बिका बस्नेत र ईश्वरी न्यौपाने
मधेशी
सितादेवी यादव, विमलेन्द्र निधि, अजय चौरसिया, महेन्द्र यादव, रामकृष्ण यादव, किरण यादव र पार्वती डिसी चौधरी
अादिवासी/जनजाति
प्रकाशमान सिंह, केबी गुरुङ, गोपालमान श्रेष्ठ, धनराज गुरुङ, भिष्मराज आङ्देम्बे, चिनकाजी श्रेष्ठ, बहादुरसिंह लामा, कल्याण गुरुङ, सीता गुरुङ र रत्ना शेरचन ।
दलित
जीवन परियार, मानवबहादुर विश्वकर्मा, मीन विश्वकर्मा, लक्ष्मी परियार र सुजाता परियार
मुस्लिम
फरमुल्लाह मन्सुर
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
