रमझमबुधबार, चैत्र ३, २०७२
स्याबास सुशीला
२०५९ सालमा त्रिभुवन विश्वविद्यालयबाट रसायनशास्त्रमा स्नातकोत्तर सिध्याएलगत्तै बाडेगाउँ, ललितपुरकी सुशीला महर्जन गहन वैज्ञानिक खोजमा लाग्न चाहन्थिन् ।
तर, परिस्थिति अनुकूल थिएन। त्यसैले उनी पनि अधिकांश स्नातकोत्तर झै प्राध्यापनमा लागिन् ।
तीन वर्षपछि थप अध्ययनका लागि दक्षिणकोरिया पुगेकी सुशीला २०६७ सालमा नेपाल फर्किन्, बायोकेमेस्ट्रीमा विद्यावारिधि उपाधिसहित।
त्यसपछि उनलाई लाग्यो, अब चाहेको काम गर्ने वेला भयो। पाँचवर्षअघि उनीसहितका वैज्ञानिकहरुले काठमाडौंमा रिसर्च इन्ष्टिच्यूट बायोसाइन्स एण्ड बायोटेक्नोलोजी संस्था खोले।
उनै सुशीलाले हालै उच्च हिमाली क्षेत्रमा पाइने स्ट्रेप्टोमाइसिस् ब्याक्टेरियाको अनुसन्धानका लागि अमेरिकाको प्रतिष्ठित एल्सेभियर फाउन्डेसन अवार्ड जितेकी छन्। फाउन्डेसनले विश्वका पाँच महिला वैज्ञानिकलाई प्रदान गर्ने यो पुरस्कारबाट मध्य तथा दक्षिणएशिया क्षेत्रबाट उनी छानिएकी हुन्।
स्ट्रेप्टोमाइसिस् ब्याक्टेरियाको प्रारम्भिक अनुसन्धानले यो ब्याक्टेरिया क्यान्सरविरुद्ध महत्वपूर्ण एन्टिबायोटिक बन्न सक्ने देखिन्छ।
तर, निष्कर्षमा पुग्न बाँकी नै छ। “म नेपाललाई वैज्ञानिक अनुसन्धानका लागि प्रचुर प्राकृतिक स्रोतको खानी भनेर चिनाउन चाहन्छु”, गतसाता वासिङ्टन डीसीमा आयोजित पुरस्कार वितरण समारोहमा सुशीलाले भनिन्।
–रविन गिरी
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
