अन्तर्वार्ता/विचारबिहीबार, चैत्र ४, २०७२
कर्णधार होइनन् साझेदार
– मनिष झा
युवालाई शहीदका रूपमा सहजै स्वीकार्ने तर नेतृत्वमा सधैं अस्वीकार गर्ने पुरातन सोचाइ नै समस्याको जड हो।
महामन्त्रीमा गगन थापाको उम्मेदवारीले नेपाली कांग्रेसको १३औं राष्ट्रिय महाधिवेशन सामाजिक सञ्जालमा चर्चित बन्यो। थापाको उम्मेदवारी नेपाली युवामा राजनीतिप्रतिको आशाको सञ्चार थियो। त्यसैले मतदानको अधिकार नभए पनि थुप्रै युवाले उनलाई समर्थन गरिरहे। तर, कांग्रेसजनले भने थापाको उम्मेदवारीलाई दुस्साहस ठानेका रहेछन्, ठूलाबडाको इज्जत गर्न नजानेको खराब व्यवहारको रूपमा। फलतः थापा हारे।
संयुक्त राष्ट्रसंघको परिभाषाअनुसार, १५ देखि २४ वर्ष उमेर अवधिलाई युवा भनिन्छ। विश्वमा त्यो उमेर समूहको जनसंख्या १०३ करोड अर्थात् १८ प्रतिशत छ। अहिले नेपालको जनसंख्याको औसत उमेर २१.६ वर्ष छ, ३२ प्रतिशत जनसंख्या १५ वर्षभन्दा कम उमेरका छन्। तर, नेपालको युवा नीतिले युवा भन्नाले ४० वर्षसम्मकालाई मान्नुपर्छ भनेको छ। त्यसअनुरूप पनि सम्पूर्ण मतदातामध्ये ६२ प्रतिशत मतदाता युवा छन्। तर राज्यसञ्चालनमा युवाको प्रतिनिधित्व नगण्य छ।
‘राजनीतिमा युवा आउनुपर्यो, युवाले नेतृत्व सम्हाल्नु पर्यो, देशमा युवा विचार र जोशको आवश्यकता छ’, विभिन्न सन्दर्भ र स्थानमा पटकपटक हामी यस्तै आग्रह वा आकांक्षा व्यक्त भएको पाउँछौं। तर, यस्तो आग्रहको आवश्यकता देखिन्न। नेपाली राजनीतिमा युवा उपस्थिति उल्लेखनीय रहिआएको छ।
राजनीतिक क्रियाकलापहरूमा सहभागी जमात औसत उमेर हेर्ने हो भने त्यहाँ युवा नै बढी देखिन्छन्। बन्द–हडताल वा विरोध युवा बाहुल्य छ। शहीदहरुकै सूची हेरौं, सबैको उमेर औसतमा ३२.४ छ। उनीहरु युवा नै हुन्। त्यसैले पनि राजनीतिमा युवा सहभागिता नरहेको भन्नै मिल्दैन। सत्य के चाहिं हो भने युवा सहभागिताको तहमा मात्र रहे, नीतिनिर्माणको निर्णायकमा भने पुग्नै सकेनन्।
सात दशक नपुग्दै पटकपटकको राजनीतिक परिवर्तनबाट हामीले सात पटक संविधान पायौं, पटकपटक भिन्न राजनीतिक व्यवस्था हेर्यौं। २५ वर्षमा २० पटक प्रधानमन्त्री पनि फेर्यौं। तर, यत्तिका त्याग र बलिदानीबाट सिर्जित परिवर्तन किन संस्थागत हुन सकेन? के हामीले परिवर्तन संस्थागत गर्न युवालाई सहभागी गरायौं?
स्वाभाविक हो, परिवर्तनका क्रममा सक्रिय युवालाई जब परिवर्तनपछिको अभ्यासमा सहभागिता गराइँदैन, त्यहाँ अर्को परिवर्तन अपेक्षा हुन्छ। बिडम्बना, युवा फेरि अर्को परिवर्तनका लागि आतुर हुन्छन्, शहीद बन्छन्। शहीदको औसत उमेर ३२.४ हुनु तर विगत २५ वर्षका प्रधानमन्त्रीहरूको औसत आयु हेर्दा ६५.८ वर्ष हुनु एकहिसाबको बिडम्बना नै हो।
हामी ३२ वर्षको शहीदलाई स्वाभाविक रूपमा लिन्छौं तर गगन थापा जस्ता युवा उम्मेदवारलाई अस्वाभाविक मान्छौं किन? किनभने हामी युवालाई नेतृत्व दिन होइन परिचालन गर्न अभ्यस्त छौं। जबसम्म यस्तो सोच रहिरहन्छ, तबसम्म हामी परिवर्तनकै लागि लडिरहनेछौं। त्यसैले युवालाई कर्णधार मात्र हैन साझेदारका रूपमा व्यवहार गर्न आवश्यक भइसकेको छ।