समाचारशुक्रबार, चैत्र ५, २०७२
मन्त्रिपरिषद बैठक: आयल निगम बाहेक अन्यले इन्धन आयात गर्न नपाउने
सरकारले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमणलाई बढीभन्दा बढी उपलब्धिमूलक बनाउने निर्णय गरेको छ ।
मन्त्रिपरिषद्को आज, ४ चैतको बैठकले भ्रमण फलदायी बनाउन थप गृहकार्य गर्ने निर्णय गरेको सरकारका प्रवक्ता शेरधन राईले जानकारी दिए ।
प्रधानमन्त्री ओलीले यही ७–१४ चैतमा चीन भ्रमण गर्दैछन् ।
सरकारले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि चिनियाँ एक्जिम बैङ्क मार्फत नेपालले प्राप्त गर्ने रु २२ अर्ब ७४ करोड ९२ लाख १० हजार ऋण स्वीकार गर्ने निर्णय गरेको छ ।
चिनियाँ सेनाले नेपाली सेनालाई सहयोगस्वरुप दिएको करिब रु ४९ करोड पचास लाख अनुदान पनि स्वीकार गर्ने निर्णय भएको सूचना तथा सञ्चारमन्त्री राईले बताए ।
यस्तै नेपाल आयल निगम बाहेक अन्य कुनै निकायले इन्धन आयात गर्न नपाउने व्यवस्था बैठकले गरेको छ ।
यसअघि आजै व्यवस्थापिका–संसद्, सार्वजनिक लेखा समितिले विराट पेट्रोलियमलाई इन्धन बिक्री बन्द गर्न निर्देशन दिएको थियो ।
नेपाल आयल निगमले प्रतिलि रु ९९ मा पेट्रोल बिक्री गर्दै आए पनि ‘युरो ४’ मापदण्डको पेट्रोल भन्दै विराटले रु १३३ मा बिक्री गरेको थियो ।
गत २ कात्तिकमा राजपत्रमा सूचना प्रकाशन गरी सरकारले विराट लगायत तीन दर्जनभन्दा भन्दा बढी निजी व्यापारिक संस्थालाई इन्धन आयात र बिक्री गर्न इजाजत दिएको थियो ।
कर्णाली अञ्चलका पाँचै जिल्ला र सेतीको बाजुरा जिल्लामा देखिएको खाद्यान्न सङ्कट समाधान गर्नका लागि ती स्थानमा अविलम्ब खाद्यान्न पु¥याउन सम्बन्धित मन्त्रालय र निकायलाई निर्देशन दिने निर्णय बैठकले गरेको छ ।