समाचारशुक्रबार, चैत्र ५, २०७२

मधेश–पहाड सम्बन्ध र चुरे संरक्षणमा केन्द्रित हुन्छुः पूर्व राष्ट्रपति

हिमालखबर

 

पूर्वराष्ट्रपति डा. रामवरण यादवले अबका दिनमा आफू चुरे संरक्षण अभियानका साथै मधेशी र पहाडीबीचकोे सम्बन्ध सुदृढ पार्नेतर्फ केन्द्रित हुने बताएका छन् ।

rambaran_yadavविराटनगरमा ५ चैतमा संचारकर्मीसँग कुरा गर्दै यादवले राष्ट्रिय एकता,  पहाडी–मधेशीबीचको सम्बन्ध सुद्धढिकरण र वातावरणलगायतका विषयमा सर्वसाधारणलाई जानकारी गराउन लागिपर्ने बताएका हुन् ।

७ दशकको संघर्षपछि जनताका छोराछोरीले लेखेको संविधान आएकाले यसको कार्यान्वयनका लागि सबै एकजुट हुन उनले आग्रह गरे ।

संविधानमा त्रुटी भए सच्याउन सकिने भन्दै मधेशकेन्द्रित दलले उग्रता नदेखाई लोकतान्त्रिक विधिअनुरुप माग राख्न र सरकारलाई असहिष्णु नहुन यादवले सुझाव दिए ।

संविधान मानेरै सुशील कोइरालालाई प्रधानमन्त्री पदका लागि भोट हालेका मधेशकेन्द्रित दलहरुलाई समेटेर स्थानीय र प्रान्तको निर्वाचन गराउनु जरुरी रहेको उनले बताए ।

“आन्दोलनकारी र सरकार दुबै असहिस्णु हुनु भएन, नाकामा बसिदिनु भएन” उनले भने, “यो संविधानले राष्ट्रिय एकता र साम्प्रदायिक सद्भाव बनाउने अवसर दिएको छ ।”

मधेश आन्दोलनको पाँच महिनामा नेपाललाई खर्बाैंको क्षति भएको बताउँंदै पूर्वराष्ट्रपति यादवले आन्दोलनकारीलाई अतिबादको बाटो नलिन सुझाव दिए ।

संविधान संशोधनपछि मधेशकेन्द्रित दलहरुको ९५ प्रतिशत माग पूरा भइसकेको भन्दै उनले सीमाङ्कन संशोधनका लागि अर्थशास्त्र, राजनीति, भुगोललगायतका विज्ञको सहयोगमा प्रदेशहरुको सीमाङ्कन गरिनुपर्ने बताए । भने, “प्रान्तको सीमा उत्तर–दक्षिण की पूर्व–पश्चिम बनाउने हो विज्ञहरुको सल्लाह अनुसार हुनुपर्छ, राजनीतिक रुपले मात्रै हुँदैन ।”

आफूलाई मुलुकको उच्च पदमा पुगिसकेको मधेशी भन्दै उनले पहाडमा बस्न मनपर्ने जानकारी दिए । “जनकपुरको घर बेचेर सिन्धुलीमा बसौंकी जस्तो लागेको छ,” यादवले भने ।

विराटनगर र झापामा एक रात बस्न समस्या हुने तर, धनकुटा र इलाममा जाँदा त्यही बस्न मन लाग्ने गरेको यादवले बताए ।

कमल रिमाल, बिराटनगर

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>