समाचारशुक्रबार, चैत्र ५, २०७२

बेलायतका राजकुमार ह्यारी भोलि नेपाल आउँदै

हिमालखबर

बेलायतका राजकुमार हेनरी चाल्र्स अल्वर्ट डेभिड ‘ह्यारी’ भोली, ६ चैतमा नेपाल आउँदैछन् ।

Prince Harry Hosts Coach Core Graduation Ceremonyनेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको २०० वर्ष पुगेको अवसर पारेर राजकुमार ह्यारी बेलायतकी महारानीको प्रतिनिधिका रुपमा नेपालको पाँच दिने औपचारिक भ्रमणमा आउन लागेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओली र राजकुमार ह्यारीका बीचमा शनिबार नै शिष्टाचार भेटघाटको कार्यक्रम तय भएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीसँग राजकुमार ह्यारीले राष्ट्रपति कार्यालय शीतल निवासमा आइतबार, ७ चैतमा शिष्टाचार भेट गर्नेछन् ।

यसपछि उनी भूकम्पले क्षति पु¥याएका ललितपुर र भक्तपुरका स्थलको भ्रमणमा निस्कनेछन् ।

यसक्रममा उनले पाटन दरबार स्क्वायरमा अवस्थित ऐतिहासिक तथा पुरातात्विक स्थलमा भएको क्षतिको अवलोकन गरी जानकारी लिने कार्यक्रम छ भने भक्तपुरमा भूकम्पपीडित समूदायसँग छलफल गर्नेछन् ।

पर्वतीय पदयात्रा (ट्रेकिङ) का सौखिन ३२ वर्षीय राजकुमार ह्यारी अर्को दिन पोखरा जाने कार्यक्रम रहेको बेलायती दूतावासले जनाएको छ ।

पोखरामा उनले गोर्खा सैनिकका परिवारजनसित भलाकुसारी गर्ने कार्यक्रम छ ।

त्यस्तै राजकुमार ह्यारी बर्दिया राष्ट्रिय निकुञ्ज गई खौराहा नदीमा जलयात्रा गर्नेछन् ।

भ्रमणका क्रममा राजकुमारबाट नेपालमा पहिलो पटक आयोजना हुन लागेको बालिका सम्मेलनमा पनि सहभागी हुने कार्यक्रम तय भएको छ ।

संयुक्त राष्ट्र सङ्घीय बालकोष (युनिसेफ), बेलायतको अन्तर्राष्ट्रिय विकास विभाग (डिएफआइडी) को आर्थिक एवम् प्राविधिक सहयोगमा महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालयले सो सम्मेलन आयोजना गर्न लागेको हो ।

त्यस्तै राजकुमार ह्यारीले कान्ति बाल अस्पताल, सानोठिमी प्राविधिक विद्यालय लगायतको निरीक्षण गर्नेछन् ।

बेलायतकी महारानी एलिजाबेथले सन् १९६१ र १९८६ मा दुई पटक नेपालको भ्रमण गरेकी थिइन् ।

त्यसैगरी युवराज चाल्र्स, युवराज्ञी डायना, राजकुमार फिलिपले नेपालको यात्रा गरिसकेका छन् ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>