समाचारशुक्रबार, चैत्र ५, २०७२
प्रमको चीन भ्रमणः किमाथाङ्का अरुण र अन्तरदेशीय प्रसारण लाइन विशेष महत्वमा
प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा ऊर्जा तथा जलविद्युत् क्षेत्रका केही महत्वपूर्ण आयोजना अगाडि बढाउने विषयमा द्विपक्षीय कुराकानी गर्ने तयारी गरिएको छ ।
नेपालको तर्फबाट ४०० मेगावाट क्षमताको किमाथाङ्का अरुण जलविद्युत् आयोजनालाई अगाडि बढाउन अनुरोध गर्ने तयारी गरिएको छ । उक्त आयोजना नेपाल–चीन सीमा नजिक रहेको आयोजना हो ।
लामो समयदेखि नेपाल विद्युत् प्राधिकरणले अध्ययन गरेको सो आयोजनालाई अगाडि बढाउन नेपालको तर्फबाट प्रस्ताव गर्न लागिएको ऊर्जा मन्त्रालयका सहायक प्रवक्ता गोकर्णराज पन्थले जानकारी दिए ।
यस्तै नेपालले नेपाल र चीनबीच केही स्थानबाट अन्तरदेशीय प्रसारण लाइन निर्माणका लागिसमेत आग्रह गर्ने भएको छ ।
प्रस्तावित रसुवा–केरुङ अन्तरदेशीय प्रसारण लाइनलाई विशेष प्राथमिकतामा राखिएको छ ।
यस्तै भूकम्पपछि बन्दप्रायः रहेको तातोपानी नाकाबाट अर्को अन्तरदेशीय प्रसारण लाइन निर्माण गर्ने विषयमा द्विपक्षीय रुपमा अध्ययन गर्ने र आवश्यक प्रक्रिया अगाडि बढाउने विषयमा प्रस्ताव तय गरिएको छ ।
यसैगरी काठमाडौँ उपत्यकाको वितरण प्रणालीलाई सुधार गर्न मोनोपोल स्थापनालगायतका विषयमा समेत प्रस्ताव गर्न लागिएको छ ।
विद्यमान वितरण प्रणालीले उपत्यकाको आवश्यकता र मागलाई धान्न कठिनाइ भएको भन्दै ऊर्जा मन्त्रालयले १३२ केभी क्षमताको मोनोपोलको अवधारणा अगाडि सारेको हो ।
चक्रपथको चार स्थानलाई केन्द्र बनाएर नयाँ वितरण प्रणाली स्थापना गर्ने लक्ष्य ऊर्जा मन्त्रालयले तय गरेको छ ।
हाल कायम रहेको वितरण प्रणालीलाई विस्थापन गरेर नयाँ प्रणाली स्थापना गर्न त्यसखालको प्रयास गरिएको सहायक प्रवक्ता पन्थको भनाइ छ । त्यसैगरी प्रधानमन्त्री ओलीको चीन भ्रमणका क्रममा लामो समयदेखि चर्चामा रहेको ७५० मेगावाट क्षमताको पश्चिम सेती जलविद्युत् आयोजनाको पनि संयुक्त लगानी सम्झौताको विषयमा द्विपक्षीय छलफल गरिने बताइएको छ ।
चीनको थ्री गर्जेजको सहायक कम्पनी ‘सिडब्ल्यू इन्भेस्टमेन्ट कर्पोरेसन’ले सो आयोजना अगाडि बढाउने सम्झौता गरेको भए पनि संयुक्त लगानी सम्झौताको विषयमा टुङ्गो लाग्न नसक्दा काम अगाडि बढ्न सकेको थिएन ।
आयोजना प्रभावित डोटी, बैतडी र डडेल्धुराका जनप्रतिनिधिले सो आयोजनाको सम्बन्धमा ठोस निर्णय गर्न सरकारसँग आग्रह गर्दै आएका छन् ।
विसं २०६८ फागुनमा ऊर्जा मन्त्रालयले थ्री गर्जेजको सहायक कम्पनीसँग पश्चिम सेती जलविद्युत् आयोजना अगाडि बढाउने विषयमा सम्झौता गरेको थियो ।
सम्झौताअनुसार कुल लगानीमध्ये ७५ प्रतिशत चिनियाँ कम्पनी र २५ प्रतिशत नेपाल विद्युत् प्राधिकरणले गर्ने भन्ने रहेको छ ।
लगानी बोर्डले सो आयोजनाका सम्बन्धमा आवश्यक निर्णय गर्न आग्रह गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पत्राचार भइसकेको जनाएको छ ।
चिनियाँ पक्षले प्रसारण लाइन, पुनर्वास, विद्युत्को बजारलगायतका विषयमा प्रष्ट निर्णय गरिदिन आग्रह गर्दै आएको छ ।
लगानी बोर्डले संयुक्त सम्झौताबारे चीन भ्रमणका क्रममा प्रस्ताव अघि बढाउन प्रधानमन्त्री कार्यालयलाई आग्रह गरिएको जनाएको छ ।
रासस