समाचारशनिबार, चैत्र ६, २०७२

प्रधानमन्त्री ओलीको चीन भ्रमण तालिका

हिमालखबर

प्रधानमन्त्री केपी शर्मा ओली चीनको ७ दिने भ्रमणमा भोली, ७ चैतमा बेइजिङ प्रस्थान गर्दैछन् ।

भ्रमण टोलीमा ओलीकी धर्मपत्नी राधिका शाक्य, उपप्रधान तथा परराष्ट्रमन्त्री कमल थापा, अर्थमन्त्री विष्णु पौडेल, वाणिज्यमन्त्री दीपक बोहोरा, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, मुख्य सचिव सोमलाल सुवेदीसहित सांसद, सरकारी अधिकारी, सञ्चारकर्मी लगायत सहभागी हुने परराष्ट्रमन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सि जिनपिङसँग भेटवार्ता गर्नेछन् । त्यसैगरी ८ चैतमा चिनियाँ प्रधानमन्त्री लि खछ्याङले ग्रेट हलमा आयोजना गर्ने स्वागत समरोहमा ओली सहभागी हुनेछन् । त्यहीं प्रधानमन्त्री लिसँग ओलीको दुइपक्षीय वार्ता र दुई देशबीच केही सम्झौता समेत हुनेछन् । त्यसैदिन प्रधानमन्त्री ओलीको सम्मानमा उनका समकक्षी लि खछ्याङले दिवाभोजको आयोजना गर्ने कार्यक्रम छ ।

भ्रमणका क्रममा ओलीले रेनमिन युनिभर्सिटीमा आयोजना हुने अन्तरक्रिया कार्यक्रममा सहभागी हुनेछन् भने चाइना अन्तर्राष्ट्रिय ब्यापार प्रवद्र्धन परिषदमा नेपाली तथा चिनियाँ ब्यापारी समुदायलाई सम्बोधन गर्नेछन् ।

त्यस्तै प्रधानमन्त्री ओलीको सम्मानमा ९ चैतमा चीनस्थित नेपाली राजदूत डा महेश मास्केले आयोजना गर्ने रात्रिभोजमा ओली सहभागी हुने कार्यक्रम छ । त्यसअघि उनले दूतावासमै पत्रकारहरुसँग अन्तरक्रिया गर्नेछन् ।

११ चैतमा ओलीले चीनको हेनान प्रान्तमा आयोजना हुने बोआओ फोरम फर एशियामा ‘एशियाको नयाँ भविष्यः नयाँ आयाम, नयाँ दृष्टिकोण’ विषयमा सम्बोधन गर्नेछन् । त्यसैदिन दिउँसो प्रधानमन्त्री ओलीले सान्यास्थित नानसान पार्कस्थित ‘नेपाल पेभिलियन’ को अवलोकन गर्ने कार्यक्रम छ ।

ओलीले सियानमा शान्सी प्रान्तका स्थानीय नेताहरुसँग भेट गर्ने र त्यहाँस्थित व्यापारी समुदायलाई सम्बोधन गर्नेछन् । भ्रमणका क्रममा उनले सिचुयान प्रान्तमा भएको भूकम्पपछिको पुननिर्माण र हाइड्रोइलेक्ट्रिसिटी प्रोजेक्टको पनि अवलोकन गर्ने कार्यक्रम तय भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री ओलीसहित उनको भ्रमण टोली १४ चैतमा स्वदेश फिर्ता हुने कार्यक्रम छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>