समाचारशनिबार, चैत्र ६, २०७२

प्रम ओली र राजकुमार ह्यारीबीच शिष्टाचार भेट

हिमालखबर

प्रधानमन्त्री केपी शर्मा ओली र नेपाल भ्रमणमा रहेका बेलायतका राजकुमार हेनरी चार्ल्स अल्वर्ट डेभिड ‘ह्यारी’ बीच शिष्टाचार भेट भएको छ ।

 

तस्वीर: रासस

तस्वीर: रासस

प्रधानमन्त्री निवास बालुवाटारमा भएको २० मिनेट लामो भेटमा दुई देशबीच दुई शताब्दी लामो सम्बन्ध र मित्रताबारेमा केन्द्रित रहेर विचार विमर्श भएको थियो ।

भेटका अवसरमा राजकुमार ह्यारीले नेपालको वन्यजन्तु, वातावरणको संरक्षण, हिमाल र नेपाली जनताको सेवाका बारेमा चर्चा गरेका थिए ।

उनले विशेषगरी बेलायती सेनामा कार्यरत गोर्खा फौजको योगदानको चर्चा गर्दै नेपाल सरकारप्रति धन्यवाद ज्ञापन गरे ।

आफू पनि गोर्खा सेनासँग अफगानिस्तानमा खटिएर बसेको अनुभव सुनाउँदै गोर्खा फौजबाट अन्यन्त बहादुरी र वीरता प्रदर्शन भएको राजकुमार ह्यारीले अनुभव सुनाएको प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालले जानकारी दिए ।

सो अवसरमा राजकुमार ह्यारीले भने “गोर्खा फौजले आफूले नलड्नुपर्ने युद्धमा पनि बेलायतलाई सहयोग पुर्‍याएकोमा नेपाली जनताप्रति आभार र धन्यवाद ज्ञापन गर्न चाहन्छु ।”

भेटका अवसरमा प्रधानमन्त्री ओलीले धेरै टाढाको मुलुक भएर पनि नेपालको विकासमा बेलायतबाट हुँदै आएको निरन्तर सहयोगप्रति राजकुमार ह्यारीमार्फत बेलायत सरकार र जनताप्रति धन्यवाद व्यक्त गरे ।

साथै, भुइँचालोपछि राहत र उद्धारमा बेलायतले गरेको सहयोगप्रति पनि प्रधानमन्त्री ओलीले आभार व्यक्त गरेको सल्लाहकार रिमालले जानकारी दिए ।

प्रधानमन्त्री ओलीले संविधानसभाबाट जारी भएको नेपालको सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक संविधानलाई बेलायतले गरेको समर्थनप्रति प्रसन्नता प्रकट गर्दै दुईसय वर्षदेखिको नेपाल र बेलायतबीचको मित्रवत् सम्बन्ध आगामी दिनमा पनि थप सुदृढ हुँदै जाने विश्वास व्यक्त गरेका थिए ।

बेलायतका राजकुमार ह्यारी नेपालको पाँचदिने औपचारिक भ्रमणमा आज, ६ चैत अपराह्न काठमाडौं आइपुगेका हुन् ।

नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको दुईसय वर्ष पुगेको अवसर पारेर पारस्परिक सम्बन्धका दुई शताब्दीलाई चिरस्मरणीय तुल्याउन बेलायतकी महारानीका प्रतिनिधिका रूपमा राजकुमार ह्यारी नेपाल आएका हुन् ।

नेपाल सरकारको निमन्त्रणामा राजकुमार ह्यारी पहिलो पटक नेपाल आएका हुन् ।

बेलायतसँग कूटनीतिक सम्बन्ध स्थापना गर्ने दक्षिण एशियामा नेपाल पहिलो मुलुक हो ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>