समाचारआइतबार, चैत्र ७, २०७२
नेपाल खुला छ, नेपाल भ्रमण गर्नुहोस्ः राजकुमार ह्यारी
नेपाल भ्रमणमा रहेका बेलायतका राजकुमार ह्यारीले विश्वका सबैलाई नेपाल व्यवसायका निम्ति खुला छ भन्दै नेपालको भ्रमण गर्न आग्रह गरेका छन् ।
नेपाल र बेलायतबीच कूटनीतिक सम्बन्ध स्थापना भएको द्विशतवार्षिकीको अवसरमा उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापाले हिजो, ६ चैत साँझ राजकुमारको सम्मानमा आयोजना गरेको स्वागत समारोहमा उनले त्यस्तो अनुरोध गरेका हुन् ।
भूकम्पपीडित नेपालीका लागि सक्दो सहयोगको प्रतिबद्धता व्यक्त गर्दै उनले नेपाल र नेपालीको सङ्कल्प, सहनशीलता र लोकप्रियतालाई अझ चम्काउने बताए । भूकम्पमा परी ज्यान गुमाएकाहरुप्रति राजकुमार ह्यारीले श्रद्धाञ्जलि व्यक्त गरे ।
गोर्खा सैनिकलाई विश्वभर अति प्रख्यात राजदूतको सङ्ज्ञा दिँदै उनले भयानक बहादुरी एवम् विनम्रता र अनुकम्पपूर्ण उनीहरूको सौर्यको प्रशंसा गरे ।
साथै उनले बेलायती राजमुकुटको रक्षामा प्राण उत्सर्ग गरेका वीर गोर्खाप्रति श्रद्धाञ्जलि अर्पण गरे ।
“नेपालको यो मेरो भ्रमण निजी पनि हो, वीर गोर्खा सैन्यका केही व्यक्तिलाई भेट्ने अवसर पाएकामा म आभारी छु,” उनले भने ।
आफ्ना मातापितासहित आफ्नो परिवारका धेरै सदस्यले नेपालको भ्रमण गरेको स्मरण गर्दै उनले आफ्नी हजूरआमाको राज्यारोहणका दिन नै तेञ्जिङ नोर्गे र सर एडमण्ड हिलारीले विश्वको सर्वोच्च शिखर सगरामाथा आरोहरण गरेको खबर सार्वजनिक भएर विश्वको ध्यान नेपालतर्फ आकृष्ट भएको बताए ।
नेपालको सौन्दर्यसँग पहिलो पटक साक्षात्कार गर्न पाएको उल्लेख गर्दै राजकुमार ह्यारीले भने, “धेरै बेलायती झैँ म पनि पुस्तक र टेलिभिजनका पर्दामा नेपालका सुन्दर चित्रहरु हेरेर हुर्किएँ, मलाई विश्वास छ तपार्इंहरुले सधैँ सुन्नुभएको छ विश्वका धेरै मानिसको कल्पनामा नेपालले विशेष स्थान ओगटेको छ ।”
बेलायत र नेपालबीच सम्बन्ध स्थापना भएको दुई सय वर्षका अवसरमा आयोजना हुने समारोहमा महारानीका तर्फबाट नेपाल भ्रमण गर्न आफूलाई भएको अनुरोधबाट आफू अत्यन्त हर्षित भएको उनले बताए ।
अफगानिस्तानको पहिलो भ्रमणमा आफूले गोर्खा सैनिकसँगै सेवा गरेको सुनाउँदै उनले असाधारण सैनिक जन्माएर भरणपोषण गर्ने समुदायसँग पनि भेटघाट गर्ने जानकारी दिए ।
साथै उनले दौत्य सम्बन्धको द्विशतवार्षिकीमा आफूलाई नेपाल भ्रमणका निम्ति आमन्त्रण गरिएकामा नेपाल सरकारप्रति हार्दिक आभार व्यक्त गरेका थिए ।
उपप्रधानमन्त्री थापाले नेपाल र बेलायतबीचको सम्बन्ध बहुआयामिक, सहयोगात्मक, फलदायी, सहकार्ययुक्त भएको चर्चा गर्दै राजनीतिक, सैनिक, आर्थिक, विकासका आवश्यकता, शैक्षिक क्षेत्रलगायत विविध पाटामा दुवै पक्षका हितमा दिगो सहकार्य जारी रहेको बताए ।
नेपालको लोकतान्त्रिक प्रक्रियामा संयुक्त अधिराज्यले सहयोग गरेको शान्ति प्रक्रियामा पनि त्यत्तिकै ठूलो सहयोग रहेको र त्यो टुङ्गिएसँगै संविधान जारी भएको बताएका थिए ।
रासस