समाचारआइतबार, चैत्र ७, २०७२
प्रधानमन्त्री ओली चीन प्रस्थान
प्रधानमन्त्री केपी शर्मा ओली एक साता लामो चीन भ्रमणका लागि बेइजिङ प्रस्थान गरेका छन् ।
चिनिया समकक्षी ली खछ्याङको निमन्त्रणामा उनी चीन प्रस्थान गरेका प्रम ओलीको टोलीमा उपप्रधानमन्त्री एवम् परराष्ट्रमन्त्री कमल थापा, अर्थमन्त्री विष्णुप्रसाद पौडेल, वाणिज्यमन्त्री दीपक बोहोरा, शिक्षामन्त्री गिरिराजमणि पोखरेल, प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल, ओली पत्नी राधिका शाक्य, सांसद, मुख्य सचिव, विभिन्न मन्त्रालयका सचिव, नेपाल सरकार वरिष्ठ अधिकारी, व्यापारी र सञ्चार प्रतिष्ठानका प्रतिनिधिहरु छन् ।
भ्रमणका क्रममा प्रधानमन्त्रीले चीनका राष्ट्रपति सी जिनपिङसँग शिष्टाचार भेट गर्नेछन् । चीनको ‘ग्रेट हल अफ द पिपल’मा हुने स्वागत समारोहमा भोलि, ८ चैतमा समकक्षी लीसँग वार्ता गर्नेछ ।
औपचारिक वार्तापछि प्रधानमन्त्रीद्वयको उपस्थितिमा द्विपक्षीय सम्झौता र समझदारीपत्रमा दुवै मुलुकका उच्च अधिकारीले हस्ताक्षर गर्नेछन् ।
प्रधानमन्त्रीले ‘चाइनिज पिपल्स पलिटिकल कन्सल्टेटिभ कन्फ्रेन्स’का अध्यक्ष यु झेङसेङसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ । प्रधानमन्त्रीले रेनमिन विश्वविद्यालयमा विद्वत्वर्ग, प्राज्ञ र व्यापारी वर्गको उपस्थितिमा आयोजना हुने ‘बेल्ट एन्ड रोड इनिसिएटिभ्स’ विषयको कार्यक्रमलाई सम्बोधन गर्नेछन् ।
उनले चीनको अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धन परिषद्मा नेपाली र चिनियाँ व्यापारी सहभागी सभालाई सम्बोधन गर्नेछन् ।
प्रधानमन्त्रीले हेनान प्रान्तको बोआओमा हुने एसियाका लागि बोआओ मञ्चको ‘एसियाको नयाँ भविष्यः नवीन आयाम, नवीन दृष्टिकोण’ विषयको सम्मेलनलाई ११ चैतमा सम्बोधन गर्नेछन् । त्यसैदिन अपराह्न उनले सान्याको नान्सान उद्यानस्थित नेपालमण्डपको भ्रमण गर्नेछन् ।
उनले सिचुवानको छेन्दु र सान्सी प्रान्तको सियानमा प्रान्तीय एवम् नगरपालिकाका नेतालाई भेट्नाका साथै व्यापारी समुदायलाई सम्बोधन गर्नेछन् । भ्रमणमा उनले सिचुवान प्रान्तमा भूकम्प प्रभावित क्षेत्रमा गरिएको पुनर्निर्माण र जलविद्युत् आयोजनाको अवलोकन गर्नेछन् ।
प्रधानमन्त्री ओली र उनको नेतृत्वको प्रतिनिनिधिमण्डल १४ चैतमा छेन्दुबाट स्वदेश फर्कने कार्यक्रम छ । रासस